म ४२ वर्षीय विवाहित पुरुष हुँ । म १५–१६ वर्षदेखि नै कुनै आकर्षक महिलाको तस्बिर वा महिलाले छोटा लुगा लगाएको हेर्न चाहन्थे र साथीहरूसँग सोध्थे— उनीहरूलाई पनि यस्तै हुन्छ कि हुँदैन ? उनीहरू भन्थे— यो उमेरमा सबैलाई यस्तै हुन्छ । अहिले त अझ मलाई स्वीमिङ ड्रेस लगाएका महिलाहरू हेर्न मन लाग्छ र यौन उत्तेजना महसुस हुन्छ । यस्तो कुरा विवाह पछि हट्छ कि जस्तो लाग्थ्यो, तर हटेन । म आफ्नी श्रीमतीसँग भने सन्तुष्ट छु, तर किन यस्तो भएको भनेर दुविधा हुन्छ । कृपया यसलाई प्रस्ट्याइदिनुहोला र यस्तै अनुभूति महिलाले पुरुषलाई देख्दा हुन्छ कि हुँदैन, भन्ने कुरा पनि जान्न मन छ ।
- एबीसी
पुरुषले महिलालाई देख्दा हुने उत्तेजनालाई लिएर धेरै चर्चा भएको पाइन्छ । कतिपय लेखमा उल्लेख गरिएअनुसार महिलाहरूको तुलनामा पुरुषलाई बढी यौन उत्तेजना हुन्छ । पुरुषहरू यसरी बढी यौन उत्तेजित हुनुको पछाडि यौन उत्प्रेरणा, लैङ्गिक भूमिकाको अपेक्षा एवं यौनसम्बन्धी अवधारणाको प्रभाव हुन सक्छ । धेरैले चर्चा एवं चासो व्यक्त चर्चा गरिरहेको हुँदा यससम्बन्धी अनेकौं अनुसन्धान पनि भएका छन् । टपटेन रिभ्यु डटकमका अनुसार ४० करोड वयस्कले पोर्नोग्राफी वेबसाइट हेरेकोमा तीमध्ये ७२ प्रतिशत पुरुष तथा २८ प्रतिशत महिला थिए । विभिन्न प्रोयोगात्मक अध्ययनले महिलाभन्दा पुरुषमा देखेर हुने यौन उत्तेजना बढी हुन्छ भनिए पनि यो यौन भिन्नताका सम्बन्धी यथार्थता भने अझै अनुसन्धानकै विषय रहिआएको छ ।
कतिपय अनुसन्धानका क्रममा महिला र पुरुष दुवैलाई एकै प्रकारको यौन उत्तेजक दृश्य देखाइएको थियो र दुवैमध्ये कसमा बढी उत्तेजना हुन्छ भनेर मापन गर्ने यन्त्र जडान गरिएको थियो । यन्त्रको प्रयोगमार्फत उत्तेजना हुँदा यौनाङ्गमा रगतको प्रवाह, मुटुको गति, रक्तचाप, यौनाङ्गको प्रतिक्रिया कति हुन्छ भनेर मापन गरिएको थियो । यसरी गरिएको अनुसन्धान महिला र पुरुष दुवैमा एकै किसिमको उत्तेजना भएको र यौन उत्तेजना बराबर भएको पाइयो । उक्त अनुसन्धानले महिला र पुरुष दुवैमा देखेर हुने यौन उत्तेजना बराबर हुने कुरा पुष्टि गर्यो ।
धेरैजसो संस्कृति अनि समाजमा महिलाले आफ्नो यौनइच्छा अभिव्यक्ति गर्नुलाई पापका रूपमा लिइन्छ त कतै त्यो सामाजिक रूपमा स्वीकार्य हुँदैन । कतिपय समाजमा यदि महिलामा कुनै किसिमको यौनइच्छा जाग्रित भयो भने त्यसलाई नियन्त्रण गर्नुपर्ने मान्यता छ । धेरैजसो संस्कृतिमा महिलाले सजिलैसँग आफ्नो यौन इच्छा व्यतm गर्दैनन् । त्यसैले गर्दा कतिपय लेख वा पुस्तकमा महिलामा देखेर हुने यौन उत्तेजनाको क्षमताका सम्बन्धमा ठोस रूपमा केही उल्लेख हुन नसकेको होला ।
अब फर्कौं, तपाईंको प्रश्नमा प्रश्नअनुसार तपार्इंको मनमा विभिन्न दुविधा भैरहेको हो कि जस्तो बुझिन्छ । यदि त्यसो हो भने तपाईंमा उब्जिएको दुविधाचाहिँ मनोरोग हुन पुग्छ । पछि गएर महिलालाई देखेर हुने यौन उत्तेजनाभन्दा तपाईंको मनको दुविधाले चाहिँ तपार्इंको दैनिक जीवनलाई असर गर्न थाल्छ । त्यसले श्रीमतीसँगको सम्बन्धमा पनि असर पार्छ । तपाईंको कुराअनुसार अहिलेसम्ममा तपाईंकी श्रीमतीसँगको सम्बन्ध राम्रो छ त्यसैले तपाईंले हाल महसुस गर्नुभएको दुविधा अनि महिलाप्रतिको अनुभूति श्रीमतीसँग बाँड्न सक्नुहुन्छ । यदि आकर्षणको कुरा हो भने तपाईंले चाहेअनुसार श्रीमतीलाई कसरी आकर्षक बनाउन सकिन्छ, त्यसमा पनि छलफल गर्न सक्नुहुन्छ । तपाईं र उहाँलाई मनपर्ने पहिरन सँगै गएर किन्न सक्नुहुन्छ । एक–अर्काको प्रशंसा गर्न पनि नछोड्नुहोस् ।
तपार्इंमा स्वीमिङ ड्रेस लगाएकी महिलालाई देखेर यौन उत्तेजना मात्र हुने हो कि उनीहरूसँग यौनसम्पर्क पनि राख्न मन लाग्ने हो, त्यसमा पनि प्रस्ट हुन जरुरी छ । यदि ती महिलासँग यौनसम्पर्क गर्ने इच्छा पनि हुने हो भने तपाईं कुनै पनि बेला अप्ठ्यारोमा पर्न सक्नुहुन्छ वा कानुनी झमेलामा पर्न सक्नुहुन्छ । आफ्नो समस्याको पहिचान समयमै गर्न सके आउने दिन खुसीले बिताउन सकिन्छ ।