एउटा मन नपराइने पेसा, अनि घृणा गरिने मान्छे : खलासी । जो–कोहीलाई मन नपर्ने वाक्य के हो ? ‘ए दाइ–दिदी अलि भित्र जानुस्’ वा ‘अलि पर सर्नुस् न । हेर्नुस्, भित्र त्यत्रो ठाउँ खाली छ ।’ यी शब्द खलासीहरूले नै बोल्छन् । मान्छेमात्र होइन, उसले बोल्ने शब्द–शब्द निन्दित छन् ।
हामीले कुनै साहूलाई पैसा तिर्नु छ भने ऊदेखि हामीलाई डर लाग्छ, उसले पैसा माग्यो भने रिस उठ्छ । खल्तीमा पैसा नहुन्जेल त तिर्नु पनि कसरी ?
तबसम्म हाम्लाई उसको बोली सुन्दैमा रिस उठ्न थालिसकेको हुन्छ । उसको लवाइखवाइ मात्र होइन, खान्दान नै मन पर्दैन । हो, खलासी पनि एवं रीतले घृणाको पात्र बन्छ, किनभने गाडी चढ्नासाथ पैसा तिर्नुपर्ने सत्यतालाई उसले सम्झाइरहेको हुन्छ । यसरी प्रत्येक दिन खलासी हाम्रो आसामी बन्छ अनि उसले हामीले पूर्वजुनीमा के–के न खाइदियो जस्तो गरी पैसा तिराएरै छोड्छ । त्यही पैसाले बरु मम, चाउमिन खान पा’को भए पेट त अघाउँथ्यो, बस चढेर पैसो इली न मिली । सबैलाई लाग्ने कुरो— बस चढेर पैसा तिर्दा जस्तो फोकटमा पैसा खर्च भएको महसुस, अरू केहीमा हुँदैन ।
हो, हामी सबैलाई गाडी भाडा तिर्न यति नमज्जा लाग्छ अनि खलासी बराको थुतुनो बाँदरभन्दा राम्रो तकसरी देखियोस् ? खलासीलाई अक्सर भाइ भनेर सम्बोधन गरिन्छ । चाहे जुंगा सेतै फुलेको होस्, उस्तै परे कलेजका ठिटीले समेत ‘भाइ’ भनिदिन्छन्, जस्तो कि ऊ कुनै माग्ने हो र यातायात प्रयोग गरेबापत रकम असुल गर्न आइरहेको होइन, बल्कि हैकमी स्वरमा बिनाबटुका माग्न आइरहेको छ । यसरी उमेरले अंकल भए पनि प्रत्येक खलासीले भर्खरका चिचिलाका समेत भाइ बनी हिंड्नुपर्ने पीडा मुटुमा लुकाइरहेका हुन्छन् ।
फोहोर लुगा लगाउँछ भनेर खलासीलाई समाजमा उदाहरण नै बनाइन्छ । जति सफा लुगा लगाए पनि कतिबेला गाडी मर्मत गर्न घिस्रेर गाडीको पाङ्ग्रामुनि पुग्नुपर्ने हो अथवा यात्रुका माटो लागेका धुलाम्मे झोला छत वा डिकीबाट झार्नुपर्ने हो, ठेगान हुँदैन । ढोकामा बसेर ढ्याङ–ढ्याङ गर्दै एकनासले स्वर सुक्ने गरी कौलास्नु त छँदै छ, त्यसमाथि बाहिरको धूलो, छारो र डिजेलको धूवाँले लगाएका लुगाको कुरा छाडौं, आँखीभौंसमेत खैरा हुन्छन बिचराका । एक दिन कुनै राजालाई खलासी बनाउँm, बेलुकी ऊ फोहोरी देखिएन भने मेरो कान काटिदिए हुन्छ ।
बोलीवचनका हिसाबले खलासीलाई असभ्य मानिन्छ । आखिर तपाईं–हजुर भन्दै नम्र बन्दैमा कसलेचाहिँ पूराका पुरा भाडा दिन्छन् र हाम्रो नेपालमा ? रूखो उसलाई परिस्थितिले बनाएको हो । अन्यथा खलासी प्राय: उसको पैसा उठाउने काममा असफल नै देखिन्छ । यो कुरा चालकले एकै टिपमा सोझै महसुस गर्न सक्छ, गाडी साहूले पनि यो कुरा बुझ्छ । भाडा उठाउन लम्की–झम्की र लडाइँ गर्नुपर्ने जमानामा मुसुक्क हाँसेर हजुर, खै–खै भाडा दिइबक्स्योस् त भन्न थाल्यो भने जाने हुन्छ, त्यो खलासीको जागिर आजै चट हुँदैछ । खलासीले भाडा उठाउँदा दृढ र कडा भएन भने त आफ्नो चोरबगलीमा २–४ सय लुकाएन भने गुरुजी र साहूको मुखमा समेत कसरी माड लाग्छ ?
यो आइडी कार्डको झमेलाले त एउटा खलासी दिनमा कम्तीमा एउटा काण्डमा त फसेकै हुन्छ । कार्ड देखाउनेलाई थाहा छ— ऊ विद्यार्थी हो भनेर खलासीले पत्याउँदैन, खलासीलाई पनि प्रस्ट थाहा हुन्छ— त्यो मान्छे विद्यार्थी हुँदै होइन । कुन खलासीको मनले मान्छ, त्यस्ता बेइमानहरूबाट पूरा भाडा नलिउँm भनेर ? तैपनि स्वर उनीहरूकै ठूला हुन्छन्, केटाहरू बोलाएर तिनैले खलासीका बंगारा झार्छन् । बन्द, शनिबार वा अरू कुनै दिन दशा लागेर आज कार्डको छुट हुँदैन भन्यो भने गाडीका जम्मै मिलेर झपार्छन, कतिपयले त गाला सुन्निने गरी ठोक्न बेर लाउँदैनन् ।
कसैकसैले त खलासीजस्तो अशिक्षित प्राणी अरू देखेकै हुँदैनन् । भन्छन्– कस्तो ‘खलासीजस्तो’ पढ्न पनि नआउने । कतिले नक्कली कार्ड देखाउँदा खलासीले चिन्दैनन्, स्टाफ परिचय पत्र, लाइसेन्स वा नागरिकतासमेत खलासीका लागि विद्यार्थी छुट कार्डसरह हो भन्छन्, तर कहिलेकाहीं तिनै पेसेन्जर मेजर इङ्लिसमा बीए गरेको खलासीको फेला परेर नक्कली कार्ड बोक्ने चकारीको पर्दाफास हुन पुग्दा मुर्छातुल्य हुन्छन् ।
एकपटक गौर गरेर सोचौँ , के आजका तमाम खलासीलाई बच्चैदेखि खलासी बन्ने रहर थियो होला त ? कुनै बच्चाले ‘बाबु, तिमी भोलि–पर्सि ठूलो भएर के बन्छौ ?’ भन्दा ‘म त खलासी बन्छु’ भनेको सुन्नुभएको छ ? डाक्टर, इन्जिनियर, पाइलट वा सिए बन्ने सपना बोकेका बालबालिकाकामध्येबाटै कोही नियतिले डोर्याएर खलासी बन्न पुग्छन् । खलासी आफैँ बनिने होइन । पारिवारिक एवं आर्थिक अवस्था, आचरण, समाज, संगत आदिको संयोजन नमिलेको भए आजका धेरै अधिकृत, अधिवक्ता, मन्त्री, इन्जिनियर खलासी हुन सक्थे, भोलि हाम्रै बालबच्चा खलासी बन्न सक्छन् । त्यसैले पेसा वा कामलाई अपहेलना नगरांै । सक्ने भएर पनि काम नगर्ने मान्छेलाई हेपेको भए एउटा कुरा, तर खलासी नै भए पनि उसले आखिर ठगेर, चोरेर त खाएको छैन । यातायातका साधन सञ्चालनका लागि खलासी नभै पनि हुँदैन । अटोमेटेड प्रणाली नआउन्जेलसम्मका लागि खलासी अपरिहार्य नै छन्, यसर्थ खलासीलाई पेसाका रूपमा स्वीकार गर्ने बानीको विकास गरौं । तपाईं–हाम्रो राम्रो व्यवहारले उनीहरूको व्यवहार पनि आफसेआफ परिवर्तन हुँदैजानेछ ।