पहिलो चरणमा निर्वाचन हुने प्रदेश–७ का ४ पहाडी जिल्ला चुनावमय भएका छन् । सात नम्बर प्रदेशका ९ जिल्लामध्ये बैतडी, दार्चुला, बझाङ र बाजुरामा पहिलो चरणअन्तर्गत निर्वाचन हुनेछ । वाम गठबन्धन र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएका यी चार जिल्लामा स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारले पाएको मतको गणितीय हिसाबमा भने वाम गठबन्धन अघि छ ।
स्थानीय तहलाई आधार मान्ने हो भने पहिलो चरणमा हुने निर्वाचनमा वाम गठबन्धन केन्द्र र प्रदेश दुवैमा अघि देखिएको भए पनि गठबन्धनभित्र देखिएको विवाद, एमाले र माओवादीका स्थानीय कार्यकर्ताले एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्नु तथा उम्मेदवारको व्यक्तिगत लोकप्रियतालाई हेरी कांग्रेस र गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । एक–एकवटा संसदीय निर्वाचन क्षेत्र रहेका यी चारवटै जिल्लामा वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि माओवादीले एमालेलाई सघाउनेछ । प्रदेश सभाका ८ निर्वाचन क्षेत्रमध्ये ५ वटामा एमाले र ३ वटामा माओवादी उम्मेदवार छन् ।
बैतडीमा एउटा संसदीय क्षेत्र र दुईवटा प्रदेश सभाका निर्वाचन क्षेत्र छन् । बैतडीमा एमालेका तर्फबाट संविधानसभामा निर्वाचित ओली सरकारका अर्थराज्यमन्त्री दामोदर भण्डारी तथा कांग्रेसका तर्फबाट निर्वाचित वर्तमान वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दबीच प्रतिस्पर्धा भैरहेको छ । नरबहादुर चन्द पञ्चायतकालीन समयदेखि कांग्रेसको राजनीति गर्दै आएका व्यक्ति हुन् । ०४६ पछिको पहिलो स्थानीय निर्वाचनमा उनी बैतडी जिल्ला विकास समितिका सभापति थिए । भण्डारी ०४६ पछि विद्यार्थी राजनीति हुँदै एमालेका तर्फबाट पहिलो पटक संविधानसभा निर्वाचनमा कांग्रेसका लोकराज अवस्थीलाई पराजित गरी निर्वाचित भएका हुन् ।
बैतडीमा स्थानीय तहको निर्वाचनमा कांग्रेसले २५ हजार ९ सय ७, एमालेले २५ हजार ६ सय ५६, माओवादीले १८ हजार ८ सय ६० तथा राप्रपाले ८ हजार ४ सय ३ मत प्राप्त गरेका थिए । कांग्रेस तथा राप्रपाले पाएको मत जोड्दा लोकतान्त्रिक गठबन्धनको पक्षमा ३४ हजार ३ सय १० र वाम गठबन्धनको पक्षमा ४४ हजार ५ सय १६ मत देखिन्छ । जिल्लामा कुल १ लाख ३२ हजार ३ सय १९ मतदाता छन् । जम्मा ४ हजार मतदाता कम भएका कारण बैतडीमा एउटा मात्र संसदीय निर्वाचन क्षेत्र निर्धारण भएको हो । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला बैतडीमा राप्रपाको पनि राम्रो पकड छ । प्रदेश सभा क्षेत्र नम्बर १ मा कांग्रेसका हरिमोहन भण्डारी र गठबन्धनबाट माओवादीका प्रेमप्रकाश भट्ट तथा क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका गणेश चन्द र वाम गठबन्धनबाट एमालेका लीलाधर भट्ट उम्मेदवार छन् ।
यस्तै बझाङ्गमा पनि स्थानीय तह निर्वाचनका आधारमा वाम गठबन्धन अघि छ । वाम गठबन्धन भित्र देखिएको विवादका कारण कांग्रेसले फाइदा लिन सक्ने देखिए पनि विगतको निर्वाचनका आधारमा वाम गठबन्धन झन्डै १५ हजार मतले अघि छ । प्रतिनिधिसभाका लागि पूर्वमन्त्री भानुभक्त जोशीलाई र प्रदेश सभा क्षेत्र नम्बर १ मा जिल्ला अध्यक्ष डिलबहादुर सिंहलाई सिफारिस गरिए पनि फरक व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै एमालेभित्र चरम असन्तुष्टि छ । वाम गठबन्धनबाट एमालेका भैरवबहादुर सिंह तथा कांग्रेसबाट पृथ्वीबहादुर सिंहले प्रतिस्पर्धा गरिरहेका छन् ।
जयपृथ्वी, काँडा, तल्कोट, सुर्मा, छविसपाथिभेरा, खप्तड छान्ना र थलाराको वडा नम्बर ९ लाई समेटेर बनाइएको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसले चन्द्रा जोशी तथा गठबन्धनले एमालेका अर्जुन थापालाई उम्मेदवार बनाएको छ । १२ स्थानीय तहमध्ये ८ मा जितेको एमालेले २८ हजार ७१ मत प्राप्त गरेको थियो भने माओवादी केन्द्रले १२ हजार ९ सय ३० मत प्राप्त गरेको थियो । ४ तह जितेको कांग्रेसले २५ हजार ८ सय २२ मत पाएको थियो । प्रदेश निर्वाचन क्षेत्र २ मा वाम गठबन्धन ७ हजार ७ सय ९२ मतले अघि देखिन्छ । यो क्षेत्रमा कांग्रेसको १५ हजार ३ सय ६८, एमालेको १६ हजार ७६ तथा माओवादीको ७ हजार ७ सय ९२ मत छ ।
प्रदेश सभा क्षेत्र नम्बर २ बाट कांग्रेसका नरेशबहादुर सिंह र गठबन्धनबाट माओवादीका देवकी मल्लबीच प्रतिस्पर्धा भैरहेको छ । स्थानीय तह निर्वाचनमा प्राप्त मत मात्र जोगाउन सके पनि बझाङ्गमा वाम गठबन्धनले सहज रूपमा निर्वाचन जित्न सक्छ तर त्यो सम्भव देखिँदैन । बझाङ्गमा १ लाख ४२ हजार ७५ मतदाता छन् ।
यस पटक ५ हजार नयाँ मतदाता थपिएको बाजुराका ९ वटा स्थानीय तहमध्ये ६ वटामा विजयी भएको कांग्रेस स्थानीय तहको मतका आधारमा वाम गठबन्धनभन्दा ३ हजार मतले पछाडि छ । स्थानीय तहको निर्वाचनको मत हेर्दा जिल्लाभर कांग्रेसको २३ हजार २ सय ३ तथा एमालेको २२ हजार ५ सय ६९ मत छ । करिब ४ हजार मत पाएको माओवादीले प्रतिनिधिसभा तथा प्रदेश सभाका दुवै क्षेत्रमा एमालेलाई सघाउनेछ । प्रतिनिधिसभामा कांग्रेसका कविराज पण्डित र गठबन्धनका लालबहादुर थापाले उम्मेदवारी दिएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका जनकराज गिरी र गठबन्धनका बलदेव रेग्मी तथा २ नम्बरमा कांग्रेसका पदम शाही र गठबन्धनका प्रकाश शाहबीच प्रतिस्पर्धा हुनेछ । बाजुरमा ६९ हजार ८ सय ३४ मतदाता छन् ।
कुनै समय चर्चामा रहेका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडु यस पटक दार्चुलाबाट प्रत्यक्षतर्फ मैदानमा छैनन् । कांग्रेसले दार्चुलामा पुराना कांग्रेस नेता बिक्रम धामीलाई अघि सारेको छ । अधिकांश निर्वाचनमा जातीय रूपमा मतदान हुँदै आएको दार्चुलामा स्थानीय निर्वाचनलाई आधार मान्ने हो भने वाम गठबन्धन झन्डै ९ हजार मतले अघि छ । एमालेबाट यसअघि बडुलाई पराजित गरेका नेता वीरबहादुर ठगुन्ना मैदानमा छन् । दार्चुलामा प्रदेश सभा क्षेत्र नम्बर १ मा कांग्रेसका मदन गिरी र एमालेका ग्याल्बुसिंह बोहरा तथा २ नम्बरमा कांग्रेसका जगदीस पाल र गठबन्धनबाट माओवादीका मानबहादुर धामीबीच प्रतिस्पर्धा हुनेछ । दार्चुलामा ७८ हजार ७३५ मतदाता छन् ।