साप्ताहिक संवाददाता
कार्तिक २१, २०७४
अमेरिकाको सांगीतिक भ्रमणमा रहेका गायक राजेशपायल राईको सम्मानमा अमेरिकाको रोचेस्टरमा ‘राई इज किङ डे’ मनाइएको छ । राईको सम्मानमा आयोजित समारोहलाई गायक राईले आफ्नो सांगीतिक जीवनको सबैभन्दा ठूलो कमाई मानेका छन् ।
गायक राईका अनुसार रोचेस्टर सिटीका मेयर लभ्ली वारेनसहितको समुहले उनलाई संयुक्त रुपमा प्रमाणपत्रसहित सम्मान गरेका हुन् । हरेक वर्षको नोभेम्बर ५ का दिनलाई रोचेस्टरमा ‘राई इज किङ डे’को रुपमा मनाउने त्यहाँका मेयरले बताएका छन् ।
उक्त समारोहमा गायक राईलाई अन्तर्राष्ट्रिय पप स्टार भनेर सम्बोधन गरिएको थियो । राईलाई उक्त कार्यक्रमका लागि विमानस्थलदेखि नै अमेरिकी प्रहरीले सुरक्षा दिएर कार्यक्रमस्थलसम्म लगिएको थियो । नेपाली कलाकारलाई अमेरिकी प्रहरीले सुरक्षा दिएको यो नै पहिलो भएको त्यहाँका कार्यक्रम आयोजक विजय खड्काले बताए ।