एक नाले बन्दुक, दुई नाले बन्दुक
मृगलाई ताकेको,
मृगलाई मैले ताकेको होइन
मायालाई डाकेको...
प्रदर्शनरत चलचित्र ऐश्वर्यको यो संवादले चर्चा पाइसकेको छ । अभिनेता प्रशान्त ताम्राकार उक्त चलचित्रमा खलनायकको भूमिकामा छन् । चलचित्र ऐश्वर्यको ट्रेलरमा रहेको उक्त संवाद मात्र होइन, उनले बोलेका अरू संवाद पनि दर्शकले मन पराइरहेका छन् । प्रशान्तको हाउभाउ, गेटअप तथा संवादले ४० को दशकमा चलचित्र चिनोबाट चर्चा कमाएका सुनिल थापाको— राते काइँलालाई यो कुरा मन परेन, भन्ने संवादसँग तुलना पनि गर्न थालिएको छ ।
सुनिल थापालाई अहिलेसम्म पनि राते काइँला उपनामबाट चिनिन्छ । खलभूमिका गरेर पनि नेपाली चलचित्र वृत्तमा यति धेरै चर्चा कमाएका एक मात्र अभिनेता हुन्— सुनिल थापा । हिन्दी चलचित्रमा काम गर्दागर्दै नेपाली चलचित्रमा व्यस्त भएका थापाले त्यसपछिको समय नेपाली चलचित्रमा अभिनय गरेरै बिताए । सुनिल थापालाई खलपात्रहरूको मानक मान्न सकिन्छ । उनीभन्दा अघि र पछि धेरै खलपात्र जन्मिए, तर कोही पनि खलपात्रकै रूपमा लामो समयसम्म टिकेनन् । सुनिल थापाले पनि पछि आएर सकारात्मक भूमिकाहरूमा आफ्नो उपस्थिति जनाए । दक्षिण भारतीय सुपरस्टार कमल हसनको पहिलो हिन्दी चलचित्र एक दुजेके लिएबाट बलिउडमा उदाएका सुनिल थापा उक्त चलचित्र सुपरहिट हुँदा पनि त्यहाँ जम्न सकेनन् । बलिउडमा जीवन, अजित, अमजद खान, डेनी डेन्जोङ्पा, कादर खान, कुलभुषण खरबन्दा, अमरिश पुरी, शक्ति कपुर, मदन पुरीजस्ता पुराना अभिनेताहरूपछि एक दुजेके लिएबाट सुनिल थापा स्थापित हुन सक्थे, तर विभिन्न कारणले उनले आफूलाई पहिचान दिलाउन सकेनन् । अन्तत: उनको बाटो नेपाली चलचित्रतर्फ मोडियो, यहाँ उनी सफल एवं चर्चित भए र अहिलेसम्म पनि चर्चामै छन् ।
एउटा चलचित्रमा आफ्नो दह्रो उपस्थिति देखाएपछि केही समयका लागि उक्त चलचित्रको खलपात्रले चर्चा त पाउँछ, तर त्यसपछि उसको चर्चा कम हुँदै जान्छ । कुनै पनि पात्रलाई नायक बनाउन खलनायकको भूमिका पनि दमदार हुनुपर्छ । चिनोमा राते काइँलाको पात्र सशक्त नभएको भए उक्त चलचित्रका नायकहरू शिव श्रेष्ठ, भुवन केसी तथा विजय लामाको चर्चा हुँदैनथ्यो । अहिले त्यही किसिमको चर्चा प्रशान्त ताम्राकारले ऐश्वर्यबाट देखाइरहेका छन् । चलचित्रका नायक हुन् अभिनेता रमेश उप्रेती, तर ट्रेलरमा देखाइएको जस्तो प्रशान्तको भूमिका दमदार देखिएन भने नेपाली चलचित्रमा आफ्नो कमब्याकका रूपमा रमेशले व्याख्या गरिरहेको ऐश्वर्य फिका हुने विश्लेषकहरूको धारणा छ ।
चलचित्रको फर्मुलामा हिरोको इन्ट्री भएपछि भिलेन पाखा लाग्छन् । यो कुरा पर्दामा मात्र होइन, भिलेन भएर दर्जनौं चलचित्रमा अभिनय गरेका अभिनेताहरूको वास्तविक जीवनसँग पनि मेल खान्छ । सुनिल थापा भारतबाट पाखा लागेर नेपाल छिरे र चिनोको सफलतापछि यतै टिके । मोडलिङबाट कोरियोग्राफी, इभेन्ट म्यानेजमेन्ट हुँदै चलचित्रमा देखिन थालेका प्रशान्तले ऐश्वर्यभन्दा अघि मुखौटा र सम्बोधनमा आफ्नो अभिनय देखाइसकेका छन्, तर चर्चा भने ऐश्वर्यले दिने संकेत देखिएको छ ।
खलअभिनेताले जति नै चर्चा कमाए पनि त्यो क्षणिक हुन्छ । चलचित्रबाट क्रेडिट जति नायक बन्ने अभिनेताले लैजान्छ । उसकै उपस्थितिमा दर्शक ताली र सिट्ठी बजाउँछन् । खलअभिनेतालाई त खुचिङ मात्र भनिन्छ । केही साताअघि एक कफी सपमा भेटिएका अभिनेता उमेश खड्काले यथार्थ पोखे । नेपाली चलचित्रमा राजेश हमाल युगमै निखिल उप्रेती, विराज भट्टको एक्सन युगको आरम्भ भएदेखि नै चलचित्रमा खलभूमिकामा देखिँदै आएका उमेश खड्काले अहिलेसम्म ५० वटाभन्दा बढी नेपाली तथा १० वटाजति भोजपुरी चलचित्रमा खलभूमिका निर्वाह गरिसकेका छन् । खलभूमिकामा अभिनय गर्न हामी जत्तिको मेहनत गर्छौं, नायकको भूमिका निर्वाह गर्ने अभिनेताहरूले पनि त्यही दाँजोमा मेहनत गरेका हुन्छन् ।
ताली र स्याबासी नायकले पाउँछ, खलभूमिका गर्नेले पर्दामा गाली त पाउँछ नै, दर्शकहरूको नजरमा पनि घृणाको पात्र हुन पुग्छ । नायक र खलनायकबीचको अन्तर त्यही हो । नायकलाई नायक बनाउन आफूले कुटाइ खाने र दु:ख बेहोर्ने खलनायकको चर्चा मिडियामा पनि कतै हुँदैन । अभिनेता खड्काको गुनासो यतिमा मात्र सीमित थिएन । उनले प्रतिप्रश्न गर्दै भने— नेपाली चलचित्रमा नायकका रूपमा सम्झनुपर्दा दर्जनौं अभिनेताको नाम दर्शक तथा मिडियाले क्षण भरमै लिइदिन्छन् । खलनायक भनेर झट्टै नाम लिँदा तपाईं पनि सुनिल थापासहित अरू तीन–चार जनाको नाम लिनुहुन्छ होला, होइन त ?
हिरोले भिलेनलाई परास्त गरेर चर्चा कमाउँछ, तर भिलेनको चर्चा भने क्षणिक हुन्छ । ३० को दशकमा चलचित्र जीवनरेखाबाट उदाएका अभिनेता शिव श्रेष्ठको अहिलेसम्म पनि चर्चा छ भने उक्त चलचित्रका खलपात्र अर्जुनजंग शाहीको परिचय चलचित्र जगत्का पुराना कर्मीहरूमाझ मात्र छ । चलचित्र मायालुका प्रकाश पाठकलाई चलचित्रकर्मीहरूले नै चिन्दैनन् । मायालु भुवन केसी र करिश्मा केसी (अहिले मानन्धर) ले अभिनय गरेको प्रेम कथात्मक चलचित्र थियो, जसमा प्रकाश पाठक खलभूमिकामा थिए ।
३० को दशकको सुपरहिट चलचित्र सिन्दूर र त्यसपछि वासुदेव, प्रेमपिण्ड आदि चलचित्रमा महत्वपूर्ण एवं सशक्त अभिनय गरेका नीर शाहलाई अहिले खलअभिनेता भनिँदैन । चलचित्रवृत्तमा उनको परिचय चरित्र अभिनेता तथा निर्देशकका रूपमा स्थापित छ । नेपाली चलचित्रमा खलभूमिका गरेरै अहिलेसम्म कार्यरत टीका पहारी, मुरलीधर, मुकुन्द थापा, उमेश खड्का, सुशील पोखरेल, पवन मैनाली, हेमन्त बुढाथोकी, राजेन्द्र खड्गीजस्ता अभिनेताहरूभन्दा पर्दामा उनीहरूका सामु नायकका रूपमा प्रस्तुत भएका अभिनेताहरू भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, विराज भट्ट, निखिल उप्रेती, दिलीप रायमाझी, देखि आर्यन सिग्देलहरूको चर्चा हुन्थ्यो । अहिले पनि स्थिति त्यही छ ।
रक संगीत समूह रविन एन्ड द न्यू–रिभुलेसनका गायक तथा संगीतकर्मी रविन तामाङले छड्के, मुखौटा आदि चलचित्रमा आफूलाई खलअभिनेताका रूपमा उभ्याए, तर उनको चर्चा खलअभिनेताका रूपमा त्यति छैन, जति रक गायकका रूपमा छ । यही वर्षको सफल चलचित्र प्रेमगीत–२ को डरलाग्दो खलपात्र अंगदको भूमिकामा उक्त चलचित्रका निर्माता सन्तोष सेन स्वयं देखिए, उनको अभिनय र भूमिका मन पराइयो । चर्चा भने अभिनेता प्रदीप खड्काले कमाए ।
धन्दा, छड्के, वीरविक्रम आदिमा खलभूमिकालाई जीवन्त तुल्याएका अभिनेता अर्पण थापा, ग्याङस्टर ब्लुज, ताण्डव, सुन्तली, राधे, संरक्षण आदिका प्रमोद अग्रहरी आदिको चर्चा पनि नायकहरूको भन्दा धेरै कम हुन्छ । त्यसो त दुई–चार अपवादबाहेक भिलेनहरूको चर्चा बलिउडमै पनि धेरै कम हुन्छ । बलिउडमा शोलेका गब्बर सिंहको वास्तविक नाम धेरैलाई पछिसम्म पनि थाहा थिएन । उक्त भूमिका निर्वाह गर्ने अभिनेता अमजद खानको निधन भैसकेको छ, तर अहिलेसम्म पनि उनलाई अमजद खान होइन गब्बरकै रूपमा चिनिन्छ । अमिर खानको सफल चलचित्र गजनीको शीर्षक नै खलपात्रको चरित्रको नाममा जुराइएको थियो, तर ती खलपात्रको वास्तविक नाम के थियो ? त्यसका लागि गुगल नै सर्च गर्नुपर्छ । नेपाली चलचित्रका खलअभिनेताहरूको त के कुरा गर्ने ? उनीहरू त गुगलमा समेत गुमनाम छन् ।