साप्ताहिक संवाददाता
निर्देशक : शंकर कार्की
संगीत : ताराप्रकाश लिम्बू, सुनिल सनडे, कुर्बान खान तथा योगेश काजी
कलाकार : हसनरजा खान, निशा अधिकारी, ओसिमा बानु, भानुप्रताप, विकास खतिवडा आदि ।
प्रसिद्ध लेखक विलियम शेक्सपियरद्वारा लिखित प्रेमिल नाटक रोमियो–जुलियटमा आधारित भएर संसारमा दर्जनौं चलचित्र निर्माण भैसकेका छन् । आज शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘रोमियो’को कथासार शेक्सपियरको रोमियो एण्ड जुलियटसँग मेल त खाँदैन, तर रोमियो भन्ने मुख्य पात्र भने तीनै रोमियोबाट प्रभावित छ ।
चलचित्र ‘अलबिदा’बाट उदाएका अभिनेता हसनरजा खानको मुख्य भूमिका रहेको चलचित्र ‘रोमियो’मा प्रेमका लागि ज्यान पनि दिन तयार एक प्रेमीको कथा प्रस्तुत गरिएको छ । यो चलचित्रका निर्माता खान आफैं हुन् । चलचित्र ‘रोमियो’ निर्देशक शंकर कार्कीको पहिलो चलचित्र हो । गीत हिट भए चलचित्र चल्छ भन्ने चलचित्र क्षेत्रको पुरानो भनाइलाई मान्ने हो भने चलचित्र ‘रोमियो’का दुई गीतले चर्चा पाइरहेका छन् जसमा ताराप्रकाश लिम्बूको संगीतको ‘बाबरी’ तथा सुनिल पाण्डे सन्डेको संगीतमा डान्सिङ गीत ‘ल्याङ ल्याङ’ छन् । चलचित्र रोमियोमा निशा अधिकारी, हसनरजा खान तथा ओसिमा बानूबीचको त्रिकोणात्मक प्रेमकथा हेर्न पाइन्छ ।