प्रदेश नम्बर १ का १४ जिल्लामध्ये ७ जिल्ला ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर तथा खोटाङमा पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन मंसिर १० गते हुँदैछ । उक्त चुनावका लागि चुनावी तालमेल गरेका दलहरूले आ–आफ्नो स्थान छुट्याएर एक–अर्का दलका उम्मेदवारलाई सहयोग गर्ने रणनीति बनाएका छन् । माओवादी केन्द्रले ताप्लेजुङ, पाँचथर र संखुवासभामा एमालेका प्रतिनिधिसभा उम्मेदवारलाई सघाउने भएको छ । कतिपय स्थानमा भने यस्तो तालमेलप्रति असन्तुष्टि देखिएको छ । त्यसैले पनि कतिपय ठाउँमा बागी उम्मेदवारीसमेत परेको छ ।
सोलुखुम्बुमा एमाले र माओवादी दुवैबाट बागी उम्मेदवारी परेपनि त्यो फिर्ता भएको छ । जिल्लास्तरीय नेता–कार्यकर्तामा असन्तुष्टि देखिएकाले केही जिल्लामा वामपन्थी दलहरूबीचको तालमेल एवं चुनावी रणनीतिमै प्रभाव पर्ने देखिन्छ । यसैगरी लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरू कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरमबीच पनि विभिन्न क्षेत्रमा तालमेल हुँदैछ । भोजपुरमा कांग्रेसले संघीय समाजवादी फोरमसँग तालमेल गर्ने भएको छ । भोजपुरको प्रदेश ‘ख’ मा कांग्रेसले संघीय समाजवादी फोरमका उम्मेदवारलाई सघाउने भएको छ ।
प्रदेश १ को प्रदेशसभामा जनप्रतिनिधिको संख्या ९३ हुनेछ । तीमध्ये प्रत्यक्षबाट ५६ तथा समानुपातिकबाट ३७ जना चुनिनेछन् । यो प्रदेशमा सम्भावित मुख्यमन्त्रीका रूपमा एमालेका शेरधन राई, भीम आचार्य आदिको नाम चर्चामा छ । राईले भोजपुर ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । यसअघि उनी भोजपुर क्षेत्र २ बाट दुई पटक सांसद निर्वाचित भएका थिए । हाल उनी एमालेको प्रदेश नम्बर १ का सह–संयोजक हुन् ।
कांग्रेसबाट झापाका विश्वप्रकाश शर्मा, सोलुका आङगेलु शेर्पा तथा खोटाङका विष्णु राईको नाम सम्भावित मुख्यमन्त्रीका रूपमा चर्चामा छ । झापा १ बाट प्रतिनिधिसभाका लागि शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ, तर उनी मुख्यमन्त्रीको पनि चर्चामा रहेकाले पार्टीले गर्ने निर्णयका आधारमा उनको उम्मेदवारी तय हुने स्रोतले जनाएको छ । शेर्पा र राईले भने प्रदेशसभाका लागि मनोनयन दर्ता गराइसकेका छन् । झापामा दोस्रो चरणमा निर्वाचन हुँदैछ ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको संखुवासभामा प्रतिनिधिसभाका लागि एक जना स्वतन्त्रसहित ११ दलको उम्मेदवारी परेको छ । प्रदेशसभाका लागि क्षेत्र ‘क’ बाट एक स्वतन्त्रसहित ९ दल तथा ‘ख’ मा १ स्वतन्त्रसहित ८ दलले उम्मेदवारी दर्ता गराएका छन् ।
एक निर्वाचन क्षेत्र रहेको ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका लागि ९ जनाले मनोनयपत्र दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि १ तथा प्रदेशसभामा २ निर्वाचन क्षेत्र रहेको भोजपुरमा स्वतन्त्रसहित ९ दलले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नेकपा माले आदिले उम्मेदवारी दिएका छन् ।
ताप्लेजुङमा प्रतिनिधिसभाका लागि ८ तथा प्रदेशसभाका लागि ७ वटा दलले मनोनयन दर्ता गराएका छन् भने एकजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । काठमाडौंबाट दुईपटक पराजित भएका एमाले सचिव योगेश भट्टराईले यसपटक गृहजिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धा कांग्रेसका केशव दाहालसँग छ । ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेर्हथुम, भोजपुर, धनकुटा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगामा १ र १ मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ । ओखलढुंगामा ५० हजार ९ सय ९५ पुरुष, ५१ हजार २ सय ६७ महिला तथा १ तेस्रोलिंगी गरी १ लाख २ हजार २ सय ६३, संखुवासभामा ५३ हजार ६ सय ९७ पुरुष तथा ५१ हजार ३ सय ६४ महिला गरी १ लाख ५ हजार ६१, भोजपुरमा ५८ हजार ३ सय ६२ पुरुष तथा ५५ हजार ५ सय ३४ महिला गरी १ लाख १३ हजार ८ सय ९६ मतदाता छन् ।
यसैगरी सोलुखुम्बुमा ३५ हजार १ सय ३८ पुरुष तथा ३४ हजार २ सय ८४ महिला गरी ६९ हजार ४ सय २२, खोटाङमा ६४ हजार ५ सय ७८ पुरुष, ६० हजार ५ सय ९९ महिला तथा १ तेस्रोलिंगी गरी १ लाख २५ हजार १ सय ७८, ताप्लेजुङमा ४१ हजार ३ सय ७४ पुरुष र ३७ हजार ३७ महिला गरी ७८ हजार ४ सय ११ एवं पाँचथरमा पुरुष ६४ हजार ७ सय ९२ तथा ६० हजार ४ सय ३० महिला गरी १ लाख २५ हजार २ सय २२ मतदाता छन् । निर्वाचन आयोगले स्थानीय तहको चुनावमा कायम गरिएका मतदानस्थललाई नै प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि समेत कायम गरेको छ ।