साप्ताहिक संवाददाता
विश्व फुटबलमा दुई महाशक्ति छन्, युरोप र दक्षिण अमेरिका । यिनै दुई महादेशलाई केन्द्रविन्दूमा राखेर विश्व फुटबलको विश्लेषण गरिन्छ । पछिल्लो समय दक्षिण अमेरिकामाथि युरोप हाबी छ, कम्तीमा तथ्यांकले यही भन्छ । यसै कारण विश्व फुटबलको शक्ति विस्तारै युरोपतर्फ ढल्किएको विश्लेषण गरिन्छ । यस्तो अवस्थामा युरोपकै विश्वकप छनौटमा बढीभन्दा बढी फुटबल दर्शक तथा विश्लेषकहरूको ध्यान केन्द्रित हुनु स्वभाविक हो । केही अपवाद, केही विश्वास नगरिएका नतिजालाई छाडेर आगामी विश्वकपमा युरोपबाट अधिकांस पुरानै अनुहार देखिने छन् ।
एक वर्षपछि हुने विश्वकप रुस अर्थात् युरोपमै हुनेछ । त्यसैले यसपटक फिफाले तोकेको महाद्वीपीय कोटाभन्दा एक बढी युरोपेली देशले विश्वकप खेल्नेछ । युरोपका लागि १३ देशका लागि स्थान छुट्याइएको छ र यो कुनै पनि महादेशका लागि सबैभन्दा बढी हो । यसपटकको युरोपेली छनौटमा कुल ५४ देश सहभागी छन् र २ सय ७० खेलपछि लगभग तय भैसकेको छ, कुन–कुन देशले विश्वकप खेल्नेछन्, कसले खेल्नेछैनन् । यसपटक युरोपेली छनौटका क्रममा धेरै अप्रत्याशित तथा अपत्यारिला नतिजा पनि आएका छन् ।
छनौटमा जति पनि सहभागी टिम थिए, त्यसलाई कुल नौ समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूह विजेता आउने विश्वकपमा स्वत: छनौट हुने नियम थियो । समूहको दोस्रो हुने टिमले भने प्लेअफ खेल्ने अवसर प्राप्त गरे । यस्तोमा स्वत: छनौट हुने नौ भाग्यमानी देशमा फ्रान्स, पोर्चुगल, जर्मनी, सर्बिया, पोल्यान्ड, इंग्ल्यान्ड, स्पेन, बेल्जियम तथा आइसल्यान्ड छन् जसमध्ये फ्रान्स, जर्मनी, इंग्ल्यान्ड तथा स्पेन विश्वकपका पूर्व विजेता हुन् । पोर्चुगल अहिलेको युरोपेली च्याम्पियन हो । यीमध्ये पोर्चुगलको छनौट मात्र कठिन रह्यो । छनौटको अन्तिम दिन मात्र पोर्चुगल आफ्नो समूहको शीर्ष स्थानमा रहने तय भएको थियो । एक समय त डर उत्पन्न भैसकेको थियो, कतै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल विश्वकपका लागि छनौट नै नहुने त होइन ? आखिर त्यस्तो केही भएन । पोर्चुगलबाहेक अरू सबैले निकै आरामले विश्वकपको टिकट काटेको हुन् भन्दा फरक पर्दैन ।
अहिले बेल्जियमले आफूलाई युरोपेली फुटबलको अर्को शक्तिका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ । आइसल्यान्डको छनौट भने आफैमा सनसनीपूर्ण रह्यो । पछिल्लो युरोमा पनि उसले राम्रो खेलेको थियो, त्यसैले उसको छनौट अविश्वसनीय होइन, तर आइसल्यान्ड जनसंख्याका आधारमा विश्वकपमा छनौट हुने सबैभन्दा सानो देशका रूपमा दर्ता भयो । त्यसैले यो चर्चाको विषय बन्यो । विश्वास नहुन सक्छ, आइसल्यान्डको जनसंख्या ३ लाख भन्दा केही बढी मात्र छ ।
समूहको दोस्रो स्थानमा रहेर प्ले अफ खेल्ने देशको ड्र पनि निस्किसकेको छ, जसमा उत्तरी आयरल्यान्डविरुद्ध स्विट्जरल्यान्ड, क्रोएसियाविरुद्ध ग्रिस, डेनमार्कविरुद्ध गणतान्त्रिक आयरल्यान्ड तथा स्विडेनविरुद्ध इटालीले खेल्नेछन् । यसमा पनि सबैको ध्यान जानेछ, स्विडेन र इटालीबीचको खेलमा । इटाली विश्व फुटबलकै अर्को महाशक्ति हो, अनि चार पटकको विश्वकपको विजेता पनि, तर अहिले इटालीको फुटबल संघर्षबाट गुज्रिरहेको छ र त्यसको असर यसपटकको छनौटमा समेत देखियो ।
यसपटकको छनौटमा छुट्ने सबैभन्दा उल्लेखनीय देश कुन होला त ? यसको एक मात्र उत्तर हो— नेदरल्यान्ड्स । नेदरल्यान्ड्सले पछिल्लो युरो पनि खेलेन भने अहिले विश्वकपमा पनि छनौट हुन सकेन् । यस्तोमा एक पुस्ताका राम्रा डच खेलाडी ठूला प्रतियोगिता नखेलीकनै हराउने छन् । टोटल फुटबलको जन्मदाता नेदरल्यान्ड्सको खेल अहिले ओरालो लागेको छ र त्यसकै नतिजा मानिन्छ, उसको खराब प्रदर्शन । नेदरल्यान्ड्स समूह ‘ए’ मा फ्रान्स र स्विडेनपछि तेस्रो स्थानमा सीमित भएको थियो ।