साप्ताहिक संवाददाता
फेसबुकले आफ्नो वर्कप्लेसलाई विभिन्न अवस्थामा सेयर गरेर प्रयोग गर्न सकिने गरी वर्कप्लेस च्याट एप सार्वजनिक गरेको छ । कम्पनीले यसलाई मोबाइल तथा डेस्कटप दुवैमा प्रयोग गर्न सकिने बनाएको छ । उक्त एपको सहयोगले वर्कप्लेस प्लेटफर्म युजर्स एन्ड्रोइड, आइओएस, पीसी वा म्याकमार्फत सजिलैसँग एक–अर्कामा जोड्न सकिन्छ ।
वर्कप्लेस एपको खास विशेषता के हो भने यसमा स्क्रिन सेयरिङ तथा ग्रुप भिडियो च्याटजस्ता नयाँ फिचर प्रयोग गर्न सकिन्छ । स्क्रिन सेयरिङको सहयोगले युजरले आफ्नो डेस्कटपलाई पनि सेयर गर्न सक्छन् । छिट्टै यसमा ग्रुप भिडियो च्याट फिचर पनि थपिने बताइएको छ ।
फेसबुक वर्कप्लेस च्याट एपमा म्यासेज रिएक्सन, मेन्सन तथा स्पोर्ट्स जिफ जस्ता फिचरसमेत उपलब्ध छन् । यो फेसबुक म्यासेन्जर एपसँग धेरै कुरामा मिल्दोजुल्दो छ । यसको प्रतिस्पर्धा हाल प्रचलित ‘स्ल्याक’ सँग हुने अनुमान गरिएको छ । हालै स्ल्याकले ओराकलसँग ठूलो सम्झौता गरेको छ । स्ल्याकका दैनिक प्रयोगकर्ता ६० लाख छन् ।
अहिले पनि फेसबुक वर्कप्लेसका १० लाख भन्दा बढी प्रयोगकर्ता भएको फेसबुकले बताएको छ । आगामी दिनमा अझ बढी प्रयोगकर्तालाई यसमा जोड्ने योजना फेसबुकको छ । केही दिनअघि फेसबुकले आफ्नो न्युजफिडमा परिवर्तन गरी यसलाई दुई भागमा बाँड्ने कुरा सार्वजनिक भएको थियो । ब्यक्तिगत पोस्ट तथा व्यवसायिक पोस्टलाई अलग–अलग तरिकाले प्रस्तुत गर्न उक्त व्यवस्था मिलाउन लागिएको तथा यसबाट वर्कप्लेस चलाउन सजिलो हुने बताइन्छ ।