साप्ताहिक संवाददाता
यसै साता काठमाडौंमा सम्पन्न फिल्म साउथ एसियामा निर्देशक तुषार माधव तथा सर्भनिक कौरको ‘सोज : अ ब्यालेड अफ मालाडिज’ तथा जोडे रत्नमको ‘डेमोन्स् इन प्याराडाइज’ ले संयुक्त रूपमा उत्कृष्ट हुँदै दुई हजार डलरको रामबहादुर ट्रफी जितेका छन् । पाटनढोकास्थित यलमाया केन्द्रमा सम्पन्न महोत्सवमा भारतीय पत्रकार शशि कुमारले भारतको ‘सोज : अ ब्यालेड अफ मालाडिज’ तथा श्रीलंकाको ‘डेमोन्स इन प्याराडाइज’लाई संयुक्त रूपमा ट्रफी प्रदान गरेका थिए ।
‘सोज : अ ब्यालेड अफ मालाडिज’ ले संगीत तथा कलाको माध्यमबाट कलाकारहरूले कश्मिर हिंसाको प्रतिरोध गरेको कथा समेटिएको छ भने ‘डेमोन्स इन प्याराडाइज’ ले भने गृहयुद्धपछि शान्त भएको श्रीलंकाको परिवेशको चित्रण गरेको छ ।
महोत्सवमा एक हजार डलरको जुरी एवार्ड भने स्टेन्जिन डोर्जाइ गो तथा क्रिस्टिएन मोर्डेलेटको ‘सिफर्डेस अफ द ग्लेसियर्स’ ले जित्यो । डेब्यु फिल्म एवार्ड निहारिका पप्लीको ‘रसन पिया’ ले प्राप्त गर्यो ।
बालबालिकाको विषयमा केन्द्रित चलचित्रलाई प्रदान गरिने युनिसेफ एवार्ड चन्द्रशेखर रेड्डीको ‘फायरफाइल्स इन द अबिस्स्’ले जित्यो । ५ सय डलरको उत्कृष्ट विद्यार्थी फिल्म एवार्ड म्यानमारको ‘थर्टी टु सोल्स’ ले प्राप्त गर्यो । स्पेसल मेन्सनमा भने केसाङ छेतेनको ‘ट्रेम्बलिङ माउन्टेन’, ‘प्रिजन सिस्टर्स’, ‘इज इट टु मच टु आक्स’ तथा ‘आस्क द सेक्सपर्ट’ परे ।
महोत्सवमा नेपाल, बंगलादेश, अफगानिस्तान, बर्मा, भारत, पाकिस्तान तथा श्रीलंकाका ६३ वटा डकुमेन्ट्री प्रदर्शन भएका थिए भने ४५ वटा डकुमेन्ट्रीले विभिन्न पाँचवटा विधामा प्रतिस्पर्धा गरेका थिए ।