साप्ताहिक संवाददाता
केही अघिसम्म विश्वकपको डिफेन्डिङ च्याम्पियन छनौट चरणबाट गुज्रिन आवश्यक थिएन, स्वत: छनौट हुने नियम थियो । अहिले यो नियम फेरिएको छ र यसै कारण पछिल्लो विश्वकपको विजेता जर्मनीले पनि छनौट चरणमा प्रतिस्पर्धा गर्नु परेको थियो । सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपको फाइनलमा जर्मनी अर्जेन्टिनालाई हराएर विजयी भएको थियो । उक्त जितसँगै उसले सिद्ध गरेको थियो, जर्मनी विश्व फुटबलमा सर्वाधिक सफल देशमध्ये एक हो ।
जर्मन फुटबल वास्तवमै कति बलियो छ ? यसको उत्तर उसले तय गरेको छनौट यात्राबाट समेत प्रस्ट हुन्छ । भलै घरेलु फुटबलमा जर्मनी स्पेनको ला लिगा तथा इंग्ल्यान्डको प्रिमियर लिग भन्दा पछाडि छ, तर बुंडेसलिगाको आधार बलियो मानिन्छ र त्यसकै परिणाम हो, जर्मन राष्ट्रिय टिमको लगातार राम्रो प्रदर्शन । एक वर्षपछि रुसमा हुने विश्वकपका लागि सञ्चालित युरोपेली छनौटमा जर्मनी समूह ‘सी’ मा थियो र पूरा छनौट यात्रामा जर्मनीले गज्जबको प्रदर्शन गर्यो ।
यो समूहका अरु टिम थिए, उत्तरी आयरल्यान्ड, चेक गणतन्त्र, नर्वे, अजरबैजान तथा सान मारिनो । यो समूहका कुनै पनि टिमले जर्मनीलाई बलियो चुनौती दिन सकेनन् । नतिजा, जर्मनीले छनौटमा खेलेका १० मध्ये सबै खेल जितेको थियो, जुन आफैमा कीर्तिमान हो । यस्तोमा जर्मनीले दस खेलबाट ३० अंक जोड्यो । समूहमा उत्तरी आयरल्यान्ड दोस्रो स्थानमा रह्यो र उसले बटुलेको थियो, १९ अंक । पहिलो र दोस्रो हुनेबीचको अन्तर ११ अंक ।
यसले पनि देखाउँछ, जर्मनीले छनौटमा कसरी खेल्यो ? छनौट खेलमा जर्मनीले कीर्तिमान ४३ गोल गरेको थियो । विपक्षी टिमले जर्मनीमाथि केवल ४ गोल मात्र गर्न सके । युरोपमा कुनै टिमले छनौटको सबै खेल जितेको यो दोस्रो अवसर हो । यसअघि स्पेनले सन् २०१० को विश्वकप छनौटमा यस्तै उपलब्धि हात पारेको थियो । त्यति बेला स्पेन बलियो टिम थियो र पछि उसले विश्वकप नै जित्यो, अहिले जर्मनी त्यस्तै स्थितिमा छ ।
जर्मन टिमका प्रशिक्षक हुन्, जोचिम लो । उनकै नेतृत्वमा जर्मनीले पछिल्लो विश्वकप जितेको थियो । प्रशिक्षकका रूपमा लोको आगमनपछि जर्मनीले लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । अहिलेसम्म जर्मनीले लोको नेतृत्वमा जति पनि ठूला प्रतियोगिता खेलेको छ, प्रत्येकमा कम्तीमा सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । यस्तोमा रुसमा पनि जर्मनीले उत्तिकै अब्बल दर्जाको फुटबल खेल्ने अपेक्षा गर्न सकिन्छ । लो स्वयं भने के मान्छन् भने– रुसमा विश्वकप खेल्दा छनौटको प्रदर्शनले अर्थ राख्दैन् ।
‘जर्मनीले आउने विश्वकपमा उपाधिको रक्षा गर्न निकै कडा मेहनत गर्नुपर्नेछ,’ लो भन्छन् ।
उनी छनौटमा प्राप्त सफलताबाट घमन्डी बन्न चाहँदैनन् । यी सबै स्थितिमा जर्मन फुटबलका सम्बन्धमा पूर्व इंग्लिस फुटबलर ग्यारी लिनेकरको भनाइ दोहोर्याउनु उचित हुन्छ । लिनेकर भन्थे— फुटबल सामान्य खेल हो, यसमा दुवै टिमका गरेर २२ खेलाडी मैदानमा हुन्छन् । उनीहरू ९० मिनेट एउटै बलका पछाडि लाग्छन् र अन्त्यमा जित हुन्छ, जर्मनीको ।