आफ्नो आरोलो लागिरहेको करियरग्राफलाई माथि उठाउने प्रयासमा अभिनेता शाहरूख खान कम्मर कसेर लागेका छन् । भन्नेहरू त उनको स्टारडममा पहिलेको जस्तो चमक नरहेको तथा उनको युग क्रमश: अन्त्य हुन थालेको समेत भन्छन् । यद्यपि समीक्षकहरू शाहरूखलाई एउटा सफल चलचित्रको खाँचो रहेको र त्यसपछि उनको पुरानो शाख फर्कने बताइरहेका छन् । यसबीच शाहरूख एउटा नयाँ चलचित्र निर्माण गर्दैछन्, जसलाई आनन्द एल रायले निर्देशन गर्नेछन् ।
यो चलचित्रमा निर्देशकले शाहरूखलाई केही पृथक् शैलीमा प्रस्तुत गर्ने तयारी गरेका छन् । चलचित्रमा लोकप्रिय अनुहारहरू नै आवद्ध हुँदैछन् । कट्रिना कैफ उक्त चलचित्रकी मुख्य अभिनेत्री हुनेछिन्, रानी मुखर्जी, काजोल, करिश्मा कपुर, श्रीदेवी, आलिया भट्ट तथा दीपिका पादुकोणजस्ता लोकप्रिय अनुहारले पनि उक्त चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैछन् ।
यो चलचित्रका लागि एउटा विशेष गीत तयार पारिएको छ, जसमा यी अभिनेत्रीहरूले शाहरूखसँग रोमान्स गर्नेछन् । चलचित्रमा सलमान खानको पनि एउटा विशेष भूमिका रहनेछ । यसअघि शाखरूखले सलमानको ट्यूबलाइटमा जादुगरको एउटा सानो भूमिका निर्वाह गरेका थिए । शाहरूखले आफ्नो यो चलचित्रलाई आफ्नो अभिनय करियरको वार–पारको लडाइँका रूपमा लिएको बताइन्छ ।