पछिल्लो समय नेपाली चलचित्र नेपाल अगावै विदेशमा प्रिमियर शो गर्नु सामान्य भइसकेको छ । झनै निर्देशक मिलन चाम्सका लागि त विदेशमा प्रिमियर गर्नु कुनै नौलो रहेन । आफ्नो पहिलो चलचित्र हँसिया देखि नै विदेशमा प्रिमियर गर्दै आएका निर्देशक चाम्सद्धारा निर्देशित पछिल्लो चलचित्र ह्याप्पी डेजको रेड कार्पेट प्रिमियर शो प्रिन्सेस हल अल्डर्सटमा गरिएको छ ।
उक्त शोमा कलाकारहरु प्रियंका कार्की, धिरेन शाक्य, प्रदिप खड्का, विक्की जोशी र दिया पुन लिमोजिनबाट उत्रंदा दर्शकहरुले ताली एवं स्कटीस कल्चर पाइपर धुन बजाएर स्वागत गरेका थिए । प्रिमियर शोमा आकर्षक गोल्डेन गाउन पहिरनमा उपस्थित भएकी प्रियंका सबैको केन्द्र बिन्दु बनिन् । नायिका कार्की प्रिमियरका लागि जम्मा दुई दिनका लागि बेलायत पुगेकी थिइन् ।
नेपाल बाहिर फिल्म निर्माण आफैमा चुनौतीपूर्ण भएको बताउँदै उनले सबैको साथ भए नेपाली चलचित्र विश्वव्यापी पुग्ने विश्वास व्यक्त गरिन् । प्रियंकाले फिल्म छायांकनका क्रममा करिब डेढ महिना भोग्नुपरेको बेलायतको चिसो मौसम, लोकेशनको बिकटता, यातायात र अन्य व्यवस्थापनका अप्ठेरो स्मरण गर्दै अन्तत फिल्म राम्रो बनेकोमा खुशी व्यक्त गरेकी थिइन् । चलचित्रमा स्कटल्याण्ड, वेल्स र इंग्ल्याण्डका रमणीय दृश्यहरु समेटेर ९५ प्रतिशत छायांकन बेलायतमै गरिएको छ ।
प्रियंका कार्की, दयाहाङ राई, सन्जय गुप्ता, विक्की जोशी, मोनिका गुरुङ आदि कलाकारले अभिनय गरेको उक्त चलचित्रले आम नेपालीको बेलायत टेक्ने सपना, यहाा आइसकेपछि रातो पासपोर्टको महत्वकांक्षा, आप्रवासीले भोग्नुपर्ने अप्ठेरो जस्ता सामाजिक विषयवस्तु समेटिएको हयाप्पी डेजलाई प्रिमियरमा सहभागी दर्शहरुले राम्रो प्रतिकृया दिएका छन् ।
वि.पी. खनाल प्रस्तुतकर्ता रहेको हयाप्पी डेजमा हिरल जोशी, भवानी शर्मा, मिलन चाम्स, डा. अशोक बन्साल लगायतको लगानी रहेको छ । बेलायतका नेपाली व्यवसायीले निर्माण गरेको चलचित्र ह्याप्पी डेज हेर्नका लागि भने नेपालका दर्शकले आगामी माघ १२ कुर्नुपर्नेछ ।