साप्ताहिक संवाददाता
करिश्मा मानन्धरलाई सदाबहार अभिनेत्रीको उपाधि दिइएको छ । ४५ कटेकी यी अभिनेत्री मैदानमा उत्रिइन् भने अहिले पनि भर्खरका अभिनेत्रीहरूभन्दा सुन्दर वा उनीहरूसरह देखिन्छिन् ।
डा. बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिकी कार्यकर्ता करिश्मा ढल्कँदो उमेरमा रहरले राजनीतिमा होमिएकी हुन् । आफ्नो अध्ययन पूरा गर्न हालसालै विद्यालय भर्ना भएको कुराले चर्चामा आएकी करिश्मा मानन्धरले आफ्नो समयमा दर्जनौं सुपरहिट चलचित्र दिइन् ।
उनी निर्मात्रीका रूपमा पनि दर्शकहरूमाझ पुगिन् । चर्चामा आइरहने करिश्मा मानन्धरको एउटा गीत अहिले चर्चामा छ । करिश्माको नृत्य हेर्न पाइने चलचित्र ‘तिमीसँग’को गीत ‘मन मेरो चञ्चले’मा उनले युवा अभिनेता आकाश श्रेष्ठ तथा नाजिर हुसैनसँग कम्मर मर्काएकी छिन् ।
उक्त गीतको विशेषता करिश्मा मानन्धरका विगतका सुपरहिट चलचित्रका शीर्षकहरू हुन् । सपना, अल्लारे, मायालु, जिन्दगानी, साथी, एक नम्बरको पाखे, ट्रक ड्राइभर, वसन्ती आदि मानन्धरका पुराना सफल चलचित्रको शीर्षक दीपक पाठक रचनाकार, संगीतकार तथा गायक रहेको गीतमा सुन्न सकिन्छ ।