साप्ताहिक संवाददाता
निर्देशक : सिमोस सुनुवार
संगीत : सनिस सुनुवार, विकास चौधरी
कलाकार : सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तान, जीवन भट्टराई, अस्तल गुरुङ, पुष्कर गुरुङ आदि ।
अभिनेत्री निशा अधिकारी चलचित्र ‘झयानाकुटी’की निर्मात्री हुन् । आज शुक्रबारदेखि देशभरका चलचित्र हलहरूमा एकसाथ प्रदर्शन हुने चलचित्र ‘झ्यानाकुटी’मा निशाले कुनै भूमिका निर्वाह गरेकी छैनन् । पहाडी गाउँको कथा बोकेको यो चलचित्रका लेखक प्रदीप भारद्वाज हुन् । चलचित्र झ्यानाकुटीमा सौगात मल्ल र बेनिशा हमालको प्रेमकथा प्रस्तुत गरिएको छ ।
विवाह गरेर घर भित्र्याएपछि सौगात र बेनिशाबीचको प्रेमको चिनोका रूपमा छोरा जन्मन्छ । त्यसबीच सहरिया युवती सुमीको आगमन हुन्छ । सौगात र बेनिशाबीच त्यही कुराले कलह हुन्छ । बेनिशा सौगात र छोरालाई छाडेर माइत जान्छिन् । छायांकार हरि हुमागाईंले एक्लै छोरालाई हुर्काउने क्रममा सौगातले झेल्नुपरेको बाधा र अवस्थालाई मार्मिक ढंगबाट पर्दामा उतारेका छन् ।
निर्देशक एवं सम्पादक सिमोस सुनुवार भीएफएक्स तथा ग्राफ्रिक्समा पोख्त छन्, तर यसपटक उनले गाउँले पारिवारिक प्रेमकथाको निर्देशन गरेका छन् । चलचित्रका गीतहरू पनि चर्चामा छन् । त्यसैले पनि यो साता एक्लो नेपाली चलचित्रका रूपमा प्रदर्शन हुन लागेको ‘झ्यानाकुटी’ले दर्शक पाउने कुरामा पहिलो पटक चलचित्र निर्माणमा हात हालेकी निर्मात्री निशा अधिकारी ढुक्क छिन् ।