साप्ताहिक संवाददाता
श्रुति शाह र गोरखशमशेर राणा
तत्कालीन राजा वीरेन्द्रकी एकमात्र छोरी श्रुती शाहको विवाह वैशाख २४, २०५४ मा गोरखशमशेर राणासँग भएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाति गोरखशमशेरसँग श्रुति शाहको यो विवाह नारायणहिटी राजदरबारमा सम्पन्न भएको थियो । उक्त विवाहका लागि तत्कालीन राजपरिवारका तर्फबाट गरिएको खर्चको कुनै लेखाजोखा नभए पनि यो विवाहलाई नेपालको इतिहासकै सर्वाधिक महँगो विवाह मानिन्छ ।
पारस शाह र हिमानी सिंह
तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहका एक मात्र छोरा पारस शाहको विवाह माघ ११, २०५८ मा भएको थियो । आफ्ना एकमात्र छोराका लागि ज्ञानेन्द्र शाहले राजस्थानबाट नेपालमा बसाइँ सरेको राजपूत परिवारकी छोरी हिमानी सिंहलाई बुहारीका रूपमा छनौट गरेका थिए । खर्चको कुनै लेखाजोखा नभए पनि त्यति बेला यो विवाहले सञ्चारमाध्यमहरूमा निकै चर्चा पाएको थियो ।
रामकृष्ण ढकाल र निलम शाह
आधुनिक नेपाली संगीत क्षेत्रका उज्ज्वल नक्षत्र रामकृष्ण ढकालले मंसिर १४, २०५९ मा नीलम शाहसँग रचेको विवाहले पनि त्यतिबेला नेपाली सञ्चार माध्यममा व्यापक चर्चा पाएको थियो । गरिबी र अभावबाट आफ्नो योग्यता तथा प्रतिभाका कारण माथि उठेका रामकृष्ण ढकालले पनि आफ्नो विवाहमा राम्रै धनराशि खर्च गरेका थिए ।
प्रेरणा शाह र राजबहादुर सिंह
तत्कालीन राजा ज्ञानेन्द्र शाहकी एक मात्र छोरी प्रेरणा शाहको विवाह माघ ९, २०६१ मा भएको थियो । आफ्नी एकमात्र छोरीका लागि ज्ञानेन्द्र शाहले रैथाने ठकुरी परिवारका राजबहादुर सिंहलाई ज्वाइँका रूपमा छनौट गरेका थिए । खर्चको कुनै लेखाजोखा नभए पनि त्यति बेला यो विवाहले पनि सञ्चारमाध्यमहरूमा निकै चर्चा पाएको थियो ।
मनीषा कोइराला र सम्राट दाहाल
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी तथा बलिउड चलचित्र उद्योगमा स्थापित अभिनेत्री मनीषा कोइरालाले आफ्नो जीवनसाथीका रूपमा नेपाली व्यवसायी सम्राट दाहाललाई रोजेकी थिइन् । मनीषा र सम्राटको विवाह असार ६, २०६७ मा काठमाडौंमा भएको थियो । खर्चको दृष्टिकोणले यो विवाहलाई पनि भव्य विवाहको श्रेणीमा राखिएको छ । कालान्तरमा यो विवाह असफल भयो र २ वर्षपछि नै मनीषा र सम्राटले एकअर्कालाई पारपाचुके दिए ।
राजेश हमाल र मधु भट्टराई
नेपाली चलचित्रका सर्वाधिक चर्चित तथा स्थापित अभिनेता राजेश हमालको विवाह पनि निकै चर्चामा रह्यो । ढल्कँदो उमेरमा हमालले मधु भट्टराईलाई आफ्नो जीवनसंगिनी बनाए । वैशाख ३१, २०७१ मा सम्पन्न भएको यो विवाहलाई सञ्चारमाध्यमले निकै महत्त्वका दिएका थिए ।
अभिषेक यादव र निशाकुसुम भण्डारी
राजनैतिक व्यक्तित्वहरूबीच सन्तानको वैवाहिक सम्बन्धमार्फत नाता–सम्बन्ध कायम गर्ने परम्परा संसारभरि नै छ । यस्तो हाई प्रोफाइल सम्बन्ध नेपालमा पनि देखिएको छ । पूर्व राष्ट्रपति रामवरण यादवका नाति अभिषेक यादव तथा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुम भण्डारीबीच माघ ३, २०७३ मा सम्पन्न अन्तर्जातीय विवाहलाई पनि नेपालको सन्दर्भमा हाई प्रोफाइल विवाह मानिएको छ । यो विवाहलाई सम्बन्धित पक्षले पारिवारिक समारोहमा सीमित गरे पनि सञ्चारमाध्यमहरूले निकै महत्त्व दिएका थिए ।
निर्वाण चौधरी र अश्रयता कार्की
उद्योगपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीको विवाह पनि नेपालका चर्चित विवाहहरूमध्ये एक हो । निर्वाण चौधरीले पहिलो विवाह भारतीय युवती स्वस्ती मित्तलसँग वि.सं. २०६५ मा गरेका थिए । उनको उक्त विवाह केही समयपछि नै पारपाचुकेमा परिणत भयो । त्यसपछि निर्वाण चौधरीले वैशाख ३१, २०७४ मा नेपाली युवती अश्रयता कार्कीसँग गरे । पहिलो विवाह असफल भएकाले निर्वाण चौधरीले आफ्नो दोस्रो विवाहलाई तडकभडक र सञ्चारमाध्यमबाट टाढै राखे ।
वरुण चौधरी र अनुश्री टोग्या
उद्योगपति विनोद चौधरीका माहिला छोरा वरुण चौधरीको विवाह उदयपुर राजस्थानकी युवती अनुश्री टोग्यासँग वैशाख २२, २०७४ मा भएको हो । विवाह समारोहमा उपस्थित पाहुनाहरूका कारण यो विवाहले पनि निकै चर्चा पाएको थियो ।
शरद भेषवाकर र निशा अधिकारी
नेपाली क्रिकेटका स्टार खेलाडी शरद भेषवाकर तथा चलचित्र अभिनेत्री निशा अधिकारीबीच असार १६, २०७४ मा सम्पन्न विवाहलाई पनि नेपाली सञ्चारमाध्यमहरूले निकै महत्त्वका साथ प्रकाशन–प्रसारण गरेका थिए ।