साप्ताहिक संवाददाता
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजकत्व र आरोहण गुरुकुलको सहकार्य रहेको नाटक ‘महादान’ यतिबेला देशको बिभिन्न स्थानमा मञ्चन भइरहेको छ । निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत आगामी १० मंसिरको निर्वाचनलाई मध्यनजर गरेर बिभिन्न भागमा फैलिएका २० नाट्य टोली नाटक ‘महादान’ मार्फत मतदान शिक्षा प्रदान गर्दै हिडिरहेका छन् ।
मुलुकका ६ ओटै प्रदेशमा नाटक महादान मञ्चन गर्दै कलाकारले दर्शकलाई मनोरञ्जन सहित निर्वाचन शिक्षा दिन सफल भएका छन् । हाम्रो थिएटरले ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको खमदेङ बजार, पाँचथरको फिदिम गाउँपालिकाको सामलाखु भञ्ज्याङ, याङतरक गाउँपालिकाको खुर्प बजार लगायतका स्थानमा पनि नाटक मञ्चन भएको छ ।
प्रदेश १ मा २९ कात्तिकबाट नाटक ‘महादान’ लिएर सोलुखुम्बु पुगेको भर्याङ नाट्य समुहले विभिन्न चार स्थानमा नाटक मञ्चन गरिसकेका छन् ।
नाटक महादानलाई मंगलबार स्थानीय तामाङ भाषाको समेत प्रयोग गरेर प्रदेश ३ को सिन्धुपालचोकमा मञ्चन गरिएको छ । स्थानीय नाट्य समुह आवाज आर्ट क्रियसनले स्थानीय इन्द्रावती गाउापालिकाको नवलपुर बजार, चौतारा नगरपालिकाको चौतारा बजार, जुगल गाउापालिकाको ढाडे बजारमा सडक नाटक महादान मञ्चन गरेको सो समुहका निर्देशक कृष्णप्रसाद धितालले जानकारी गराए ।