सौराहा अहिले विवाहित जोडीका लागि हनिमुन मनाउने उपयुक्त गन्तव्यसमेत बन्दै गएको छ । होटल तथा रिसोर्टमा त्यही अनुसारको सेवासुविधा थप गरिँदै लगिएकाले पनि सौराह विवाहित दम्पतीहरूको रोजाइमा पर्न थालेको हो । कतिपय निर्माणाधीन होटल हनिमुन रुमसहितको सुविधा उपलब्ध गराउने गरी सञ्चालनमा आउने तयारीमा छन् । विविध आकर्षणका कारण मंसिरदेखि वैशाखसम्म सौराहामा नवविवाहित जोडीहरूको भीड लाग्छ ।
काठमाडौंबाट आउनेहरूका लागि सौराहा टाढा छैन । मुलुककै मध्यभागमा रहेकाले अधिकांश नेपालीको गन्तव्य सिंगो चितवन जिल्ला बन्ने गरेको छ । सौराहामा १ सय १० वटा होटल छन् भने १५ वटा होटलले हनिमुन जोडीका लागि छुट्टै रुमको व्यवस्था गरेका छन् । ती होटलमा जोडीले हनिमुन मनाउन आउन लागेको सूचना पहिले नै होटल तथा रिसोर्टलाई जानकारी गराउनुपर्ने हुन्छ ।
त्यस्तो सूचना पाएपछि होटलका रुम विशेष रूपमा सिंगारेर जोडीको स्वागत गरिन्छ । हनिमुन जोडीलाई नै भनेर रुम बनाउने होटलमध्ये एक हो— होटल सेभेन स्टार । यो होटलमा चारवटा हनिमुन स्विट छन् । होटल सञ्चालक माधव दुवाडीका अनुसार थप १२ वटा हनिमुन प्रिमियम रुम छन् । स्विटको एक रातको १२ हजार रुपैयाँ तथा प्रिमियमको ५ हजार रुपैयाँ पर्छ । यसमा ब्रेक फास्टको समेत व्यवस्था हुन्छ । यसरी आउने जोडी ३ देखि ४ दिनसम्म यहाँ रमाउँछन् । सौराहामा हनिमुनका लागि विशेष गरी विदेशमा बस्ने युवा र नेपालमा बस्ने युवती वा विदशेमा बस्ने युवती र नेपालमा बस्ने युवाहरू पुग्छन् ।
हनिमुन जोडी होटल परिसरमा गरिने क्याम्प फायर तथा बारबीक्युमा रमाउँछन् । त्यस्तै थारु संस्कृति झल्कने नृत्यबाट मनोरञ्जन लिनुका साथै सौराहा आसपास घुम्न बिर्संदैनन् । जोडीको रोजाइमा डुंगा, हात्ती सफारी तथा जिप सफारी पनि पर्छ । उनीहरू गोरुगाडा र टाँगामा समेत रमाउँछन् । सौराहानजिकै रहेको हात्ती प्रजनन केन्द्र, थारु संग्राहलय, चेपाङ संग्रहालय मात्र उनीहरूका गन्तव्य बन्दैनन् । नवजोडीहरू हात्तीमाथि चढेर गरिने स्नानमा समेत रमाउँछन् ।
सौराहाका होटलमा प्राय: इन्डियन, कन्टिनेन्टल तथा चाइनिज खाना बन्छ । नेपालीहरूले भने थकाली थाली सेट बढी रुचाउँछन्, जसमा गुन्द्रुक–भटमाससमेत हुन्छ । सौराहा हनिमुनका लागि पपुलर डेस्टिनेसन नभए पनि अहिले विवाह गरेर यहाँ आउनेहरू निकै बढेका छन्, क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरे भन्छन्– विवाहको सिजनमा बढी आउँछन् । उनले परम्परागत रूपमा पहिले नै निर्माण भएका होटलमा हनिमुनकै लागि भनेर विशेष कोठा नभए पनि होटलमा हनिमुन मनाउन आउन लागेको जानकारी गराए ती होटलले जोडीलाई राम्रो आतिथ्यता प्रदान गर्छन् । सौराहामा हनिमुन मनाउन आउने जोडीका लागि २ हजार ५ सयदेखि १२ हजार रुपैयाँसम्मका कोठा उपलब्ध छन् । घुम्न आउने जोडी टावर नाइटमा समेत जान सक्छन् । टावर नाइटमा दुर्लभ वन्यजन्तुको गतिविधि नजिकबाट प्रत्यक्ष नियाल्न पाइन्छ । होटलले गाडी तथा प्लेन टिकटका लागि समेत सहयोग गर्छन् ।
सौराहामा मात्र होइन, मेघौली, जगतपुर एवं पटिहानीमा निर्माण भएका होटल तथा रिसोर्टमा समेत हनिमुन मनाउन आउनेहरूको भीड लाग्ने गरेको छ । मेघौली सेराई, ताज सफारी लज सञ्चालनमा आएको एक वर्षभन्दा बढी भैसकेको छ । चौधरी ग्रुपको ७० करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा आएको यो सफारी लजको व्यवस्थापन भारतीय चेन ताज ग्रुपले गर्दै आएको छ ।
यहाँ हनिमुन मनाउन आउनेमा सम्पन्न परिवारका नवविवाहितहरू बढी हुन्छन् । यो लजमा छुट्टै पौडी पोखरीसहितका १६ वटा आकर्षक भिल्ला छन । छुट्टाछुट्टै वाताअनुकूलित भवनभित्र सुविधासम्पन्न बेड तथा मिनिबार छन । भिल्लाभित्र नुहाउन बाथटव, बाथरुम तथा ढुंगेधारा छन । बेडरुमबाहिर पौडी पोखरी छ । हनिमुन मनाउन आउनेहरूका लागि प्रेसिडेन्सियल (राप्ती महल) स्विट छन् । यहाँ एक रातको न्यूनतम साढे २ सय देखि १ हजार ६ सय डलर तिर्नुपर्छ ।
मेघौलीमै खेर गएका काठ जम्मा गरेर कलात्मक रूपमा निर्माण गरिएको साराङ वाइल्ड लाइफ स्याङचुरी रिसोर्टमा समेत विवाहित जोडीहरू आउने गरेका छन् । रिसोर्टमा २४ वटा कोठा छन् । यहाँ स्नुकरको व्यवस्थासमेत छ । पटिहानीमा कसरा रिसोर्ट सञ्चालनमा छ । यो रिसोर्टमा ४३ वटा रुम छन् जसमा ३५ वटा डिलक्स तथा २ वटा हनिमुन रुम छन् ।
हनिमुन कोठामा छुट्टै स्विमिङ पुल छ । त्यस्तै आफैं पकाएर खाने व्यवस्था पनि त्यहाँ छ । बगैंचामा कलकत्ताबाट ल्याइएका ३५ किसिमका फलफूल रोपिएको छ । यो रिसोर्टमा हेलिप्याडसमेत निर्माण गरिएको छ भने हेलिकप्टर चढेर हनिमुन मनाउन आउनेहरूको संख्या बढ्दो छ । विदेशीसमेत हनिमुन मनाउन हेलिकप्टर चार्टर गरेर यहाँ आउने गरेका छन् । यो रिसोर्टबाट खाना खाँदै वा कोठामै बसेर गैंडा, मृग तथा गोही आदि हेर्न सकिन्छ । एकान्त भएकाले यहाँ जोडीले छुट्टै संसारको अनुभूति गर्छन् ।
हनिमुन रुममा के हुन्छ ?
होटलमा हनिमुन रुम नयाँ विवाहित जोडीका लागि भनेर बनाइएको हुन्छ । जोडी आउने खबर पाउनासाथ होटलका कर्मचारीहरू रुम सिंगार्न व्यस्त हुन्छन् । बेड वरिपरि बेलुन राखिएको हुन्छ । जोडीको नामको सुरुको अक्षर गुलाफ आदि फूलले लेखिन्छ अनि टाबेललाई बेरेर हाँसको जोडीसमेत बनाइन्छ ।
त्यहाँ पानको पात (लभ) आकारको कुसन राखिएको हुन्छ भने छुट्टै फ्रुट बास्केटको व्यवस्थासमेत मिलाइन्छ । स्विट रुम एकान्तमा हुन्छ । मिनीबार समेत हुने भएकाले आफूले चाहेको ड्रिंग्स निकालेर पिउँदै जोडीले हनिमुनको आनन्द उठाउन सक्छन् । स्विट रुममा ज्याकुजी तथा प्रिमियम रुममा टप बाथको व्यवस्था हुन्छ । फूल प्राय: होटलको आफ्नै बगैंचामा हुन्छ भने पर्याप्त फूल उपलब्ध नभए किनेर समेत कोठालाई फूलले सजाइन्छ ।