अहिलेका दुलाहाहरू स्टाइलिस्ट दुलाहाका रूपमा देखिन चाहन्छन् । त्यसका लागि उनीहरू विभिन्न बुटिक तथा टेलरिङसम्म पुग्छन् । बजारमा के–कस्तो ट्रेन्ड चलिरहेको छ बुझेर डिजाइन तथा रंग छनौट गर्छन् । अहिलेका दुलाहाहरूले दौरा–सुरुवालमा राम्रो प्रिन्टको ढाका नै रुचाएको पाइन्छ । ढाकामा पनि जरी तथा साइनिङयुक्त फेब्रिक प्रयोग हुन्छ । खुकुरीको कभर पनि त्यत्तिकै आकर्षक हुन्छ । दुलाहाको टोपी पनि दौराकै म्याचिङमा हुन्छ भने जुत्ता दौरा–सुरुवालसँग म्याच गराइन्छ ।
केही समयअघि दुलाहाले शेरवानी लगाउने फेसन थियो तर त्यो धेरै समय टिकेन । बरु शेरवानी विवाहको दिनमा भन्दा इंगेजमेन्ट तथा पार्टीमा बढी प्रयोग हुन थालेको छ । लङ वेस्टकोटमा ह्यान्ड वर्क गरिएको शेरवानी अहिले दुलाहाहरूमाझ लोकप्रिय छ । सुटको ट्रेन्ड वर्षैपिच्चे फरक–फरक भए पनि मानिसको रुचिअनुसार सुटको डिजाइन तयार हुन्छ । केही वर्षअघि दुलाहाका लागि साइनिङ पाइपिङ डिजाइनको सुट निकै चलेको थियो । अहिले दुई बटन तथा सिंगल बटनका सुट फेसनमा छन् । अहिले र–सिल्कमा वानसाइड वर्क गरेर प्लेन चुज पाइन्टको फेसन भित्रिएको छ ।
दुलाहाका लागि आवश्यक दौरा–सुरुवाल, सुट, शेरवानी, सर्ट–पाइन्ट, टोपी, बेल्ट, मोजा, जुत्ता, खुकुरी कभरदेखि आवश्यक सबै सामग्री एकै ठाउँमा उपलब्ध हुन्छन् । अहिले विभिन्न बुटिकमा पुरुषका पहिरनसमेत उपलब्ध हुन थालेको छ जसका कारण दुलाहा र दुलहीको डिजाइन, रंग तथा फेब्रिक म्याच गराउन सजिलो भएको छ ।
-सविना महर्जन अवाले, लाइक्रा बुटिक, कुपन्डोल