साप्ताहिक संवाददाता
सबै कुरा पैसाले किन्न पाइँदो हो त खेलकुदमा धनीहरू मात्र सफल हुन्थे । त्यसैले पनि भनिन्छ, खेलकुदमा पैसाले सफलता किन्न सकिँदैन । यदि त्यस्तो हुँदो हो त भारतले विश्व क्रिकेटमा सबै किसिमको सफलता प्राप्त गर्ने थियो । त्यस्तै हुन्थ्यो भने भारतले एसीसी यू–१९ एसियाकप पनि जित्ने थियो, तर त्यस्तो केही भएन । डिफेन्डिङ च्याम्पियन भारत सेमिफाइनल पनि पुग्न सकेन, समूह चरणमै रोकियो । त्यो त्यही समूह थियो, जसमा गैर टेस्ट मान्यता प्राप्त नेपाली टिम पनि थियो ।
समूह चरणमा नेपालले भारतमाथि ऐतिहासिक जित रचेको थियो । मलेसियाको क्वालालम्पुरमा प्राप्त भारतमाथिको उक्त जितलाई नेपाली खेलकुद इतिहासमै ठूलो महत्त्व दिइनेछ, यसमा कुनै शंका छैन । भारतका लागि यू–१९ क्रिकेट टिम महत्त्वाकांक्षी कार्यक्रमका रूपमा लिइन्छ । विश्व खेलकुदकै सर्वाधिक धनी खेल संस्था भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आफ्ना खेलाडीहरूमाथि लाखौं डलर खर्च गरेको थियो । प्रशिक्षक थिए, नामी पुराना खेलाडी राहुल द्रविड ।
नेपालविरुद्धको खेल गुमाएपछि द्रबिड स्तब्धजस्तै देखिए । सेमिफाइनलमा नेपाल अफगानिस्तानको हातबाट पराजित भयो र अन्त्यमा अफगानिस्तानले नै फाइनलमा पाकिस्तानलाई हराएर उपाधि चुम्यो । समग्रमा नेपालका लागि यो प्रतियोगिता धेरै हदसम्म सफल मानिएको छ । अफगानिस्तानविरुद्धको सेमिफाइनलमा मात्र कमजोर प्रदर्शन गरेको नेपाल समूह चरणमा बंगलादेशलाई पनि हराउन सक्ने स्थितिमा थियो । मलेसियाविरुद्ध नेपालको जित त एकपक्षीयजस्तै थियो ।
नेपालले यी सबै सफलता त्यो समय प्राप्त गरेको छ, जुन बेला नेपालमा क्रिकेट स्थिति शून्यजस्तै छ । यतिबेला नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) निलम्बनको स्थितिमा छ । निजी क्षेत्रबाट धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगजस्ता केही प्रतियोगिता भैरहेका छन्, अन्यथा नेपालमा घरेलु क्रिकेट प्रतियोगिता हुनै नसकेको स्थिति छ । अझ भनौं, नेपाली क्रिकेटको वास्तविक स्थिति निराशाजनक नै छ ।
यी सबै परिस्थितिका बीच पनि नेपाली युवा टिमले मलेसियामा अब्बल दर्जाको खेल प्रदर्शन गर्यो । यस्तोमा फेरि एकपटक नेपाली क्रिकेटबाट धेरै अपेक्षा गरिएका छन् । नेपाली क्रिकेटले निशाराबीच कम्तीमा केही सकारात्मक सन्देश दिएको छ र फेरि एकपटक प्रश्न उठेको छ, अब नेपाली क्रिकेटमा के त ? यो प्रश्न फेरि एकपटक किन उठेको छ भने हामीसँग केही नभैरहेको स्थितिमा पनि हाम्रो टिमले भारतजस्तो क्रिकेटको महाशक्ति मानिने टिमलाई हराउन सक्ने ल्याकत रहेछ ।
नेपालले मलेसिया जानुअघि बंगलादेशको भ्रमण गरेको थियो । मैत्रीपूर्ण खेल नै सही नेपालले ढाकामा पनि बंगलादेशमाथि एक जित निकालेको थियो । यू–१९ स्तरमा त नेपालले औपचारिक रूपमै टेस्ट मान्यताप्राप्त टिमलाई सातपटक हराइसकेको छ । यसपटक भारतमाथि प्राप्त जितलाई संयोग मात्र पनि मान्न सकिँदैन । नेपालले यसअघि पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड तथा जिम्बावेलाई समेत हराइसकेको छ ।
अहिले नेपाली टिमले हराएका तिनै टिमका खेलाडी विश्व क्रिकेटका स्टार छन् । नेपाली क्रिकेटका लागि यी सबै तथ्यांक उत्साह बढाउने खालका छन्, तर त्यसको विपरीत मैदानबाहिर देखिने क्रिकेटका परिदृश्यहरू निराशाजनक छन् । नेपालको आधिकारिक क्रिकेट सञ्चालक संस्था क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनमा परेको डेढ वर्षभन्दा बढी भैसकेको छ । अहिले आईसीसी आपैंmले नेपाली क्रिकेटको व्यवस्थापक हेरिरहेको छ । क्यानको अस्तित्व नभएपछि राष्ट्रिय प्रतियोगिता हुन छाडेका छन् ।
निलम्बनको स्थितिमा पनि नेपाली क्रिकेटको फोहोरी राजनीति उस्तै छ । एक पक्षले अर्को पक्षलाई आरोप–प्रत्यारोप गर्ने क्रम रोकिएको छैन । धेरै भयो, नेपालले वान डे विश्वकप खेल्ने सपना बुनेको, तर अहिलेको स्थितिमा यो असम्भव जस्तै हुन थालेको छ । केही समयअघि मात्र आईसीसी विश्व क्रिकेट लिगमा नेपालको चुनौती समाप्त भएको थियो । त्यसपछि नेपाल फेरि एकपटक डिभिजन–२ मा झरेको छ । अझै पनि नेपालका लागि विश्वकप छनौटको सम्भावना मरेको छैन ।
यद्यपि प्रश्न भने उही छ, मलेसियामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीले नेपाल फर्किएपछि के गर्ने ? कहाँ गएर खेल्ने ? त्यसो त नेपाली क्रिकेटमा चारैतर्फ निराशा मात्र पनि छैन । हालै मात्र मूलपानीस्थित क्रिकेट मैदान आधिकारिक रूपमा सञ्चालनमा आएको छ र त्यहाँ राष्ट्रिय स्तरका खेलाडीबीच एउटा मैत्रीपूर्ण खेलसमेत सम्पन्न भैसकेको छ । त्यही मैदानले नेपाली क्रिकेटमा राम्रा दिन ल्याउन सक्छ । अब नेपालसँँग कीर्तिपुरको मैदानको विकल्प तयार भएको छ ।
विदेशी पनि नेपालमा क्रिकेट भनेपछि लोभिन्छन्, किनभने नेपालमा गज्जबको क्रिकेट संस्कार छ । नेपाल नै यस्तो देश हो, जहाँ राम्रो खेलका लागि हजारौं दर्शकको ओइरो लाग्छ र त्यस्तो दृश्य एकाध टेस्ट मान्यताप्राप्त देशबाहेक अन्यत्र देख्न पाइँदैन ।
मलेसियामा प्राप्त सफलतापछि नेपाली क्रिकेट टिमलाई बधाई दिनेहरूको ओइरो लागेको थियो, आम क्रिकेटप्रेमीदेखि ठूला राजनीतिज्ञसम्मको । यही बधाई केही गर्ने मनसायमा परिवर्तन हुने हो भने त्यसले नेपाली क्रिकेटलाई ठूलो गुन लगाउनेछ, तर प्रश्न फेरि पनि त्यही छ, नेपाली क्रिकेटसँग सरोकार राख्नेहरू अहिले पनि सच्चिन नखोज्ने हो भने कहिले सच्चिने ?