नाटक मञ्चन गर्न लामो तयारी गर्नुपर्छ । स्क्रिफ्ट तयार हुनुपर्यो । पात्रअनुसारको कलाकार छनोट गर्ने चुनौती । रिहर्सलमा पनि त्यत्तिकै खट्नुपर्ने । प्रदर्शनका लागि थिएटरको व्यवस्था । मञ्चको साजसज्जा त्यस्तै । प्रचार प्रसार गर्यो अनि बल्ल नाटक देखायो ।
यद्यपि अहिले भने दर्शकले आफ्नै घरमा, आफ्नै बारीमा, आफ्नै गोठमा, बाटोमा नाटक हेर्न पाइरहेका छन्, त्यो पनि नि:शुल्क । यसरी हेर्न पाएको नाटकलाई धेरैले खासै वास्ता गरेका छैनन्, तर कलाकारले उनीहरूको पिछा छाडेका छैनन् । अभिनेताले गर्ने कार्य नेताले गर्न थालेपछि यस्तो अवस्था आएको हो । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारमा हिडेका नेताको नाटकले दर्शक आजित छन् ।
कुनै नेता हलो जोतेको अभिनय गर्दै भोट माग्दैछन् । कोही धान काट्दै, कोही कुन्यू लगाउँदै, कोही धान झाट्दै त कोही गोठमा गाई दुहुँदैछन् । कोही रुन पाइँदैन भन्दै कोकोहला मच्चाउँदैछन् । कोही अब तिम्रो पालो सकियो भन्दैछन् । एउटै माला दुई जनाको घाँटीमा लगाउने, मालै मालाले अनुहारनै ढाकिने । असम्भव र अपत्यारिला आश्वासन त कति हो कति †
रविन्द्र अधिकारी
नेकपा एमालेका तर्फबाट कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारीले गाई दुहिरहेको तस्बिर खिचाए । मतदातासँग मत माग्न उनले अपनाएको यो हतकण्डा सामाजिक सञ्जालमार्फत भाइरल मात्र भएन, त्यसमा विभिन्न टीकाटिप्पणीसमेत गरियो ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड
चुनावी अभियानका क्रममा पर्वत पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एउटै माला लगाएर खिचाएको तस्बिर भाइरल भयो । आफूहरू एक भैसक्यांै भन्ने उद्देश्यले उक्त हर्कत गरिएको थियो ।
नवराज शिलवाल
नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार नवराज सिलवालले धान काटेर भोट मागे । उनले खेतमा पुगेर कृषकलाई सघाएको नाटक गरेको तस्बिर भाइरल भयो ।
शेरबहादुर देउवा
कम्युनिस्ट सरकार आयो भने रुन पनि पाइँदैन भनेर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्ति पनि सामाजिक सञ्जालमा भाइरल भयो । चुनावी अभियानका क्रममा एमाले अध्यक्ष ओलीले शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भनी दिएको अभिव्यक्तिलाई काउन्टर दिन ज्योतिषीको हवाला दिँदै आफू सात पटकसम्म प्रधानमन्त्री बन्ने देउवाको दाबी पनि चर्चामा आयो ।
मनबहादुर गुरुङ
कास्की क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ का उम्मेदवार मनबहादुर गुरुङलाई कास्कीको सिक्लेसमा चुनावी प्रचारका क्रममा लगाइदिएको मालाको भारी पनि भाइरल भयो ।
उज्वल थापा
विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडांै क्षेत्र नम्बर ५ का उम्मेदवार उज्वल थापा टेम्पुबाट ओर्लिरहेको जस्तो देखिने तस्बिर पनि चर्चामा आयो ।