साप्ताहिक संवाददाता
३६ वर्षको युवा उमेरमै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहालको ह्दयाघातका कारण आइतबार बिहान लाजिम्पाटस्थित आफ्नै निवासमा निधन भयो । दाहालको परिचय पार्टीको पोलिटब्युरो सदस्यभन्दा पनि पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा तथा निकट सहयोगीका रूपमा स्थापित थियो ।
देशमा निर्वाचनको वातावरण तातिरहेका बेला एउटा मुख्य पार्टीका नेताका छोराको अल्पायुमै आकस्मिक निधनपछि आइतबार देश नै शोकमा डुब्यो । केही सातादेखि आफ्नै बाबुको चुनाव प्रचार–प्रसारमा खटिरहेका प्रकाश दुई दिनदेखि ज्वरोले सताएर घरमै आराम गरिरहेका थिए । पछिल्लो समय माओवादी अध्यक्ष दाहाल झापाको चुनावी कार्यक्रममा रहेका बेला आकस्मिक रूपमा ह्दयाघातका कारण उनको मृत्यु भएपछि दाहाल सोही दिन काठमाडौं फर्किएका थिए ।
प्रकाशको मृत्युपछि माओवादीमा आस्था राख्ने राजनीतिक व्यक्तिहरूमा सहानुभूति प्रकट हुनु सामान्य नै हो, तर उनको मृत्युमा अन्य पार्टीमा आस्था राख्ने कार्यकर्तादेखि विभिन्न पेसाकर्मी एवं सर्वसाधारणको सहानुभूतिसमेत मार्मिक ढंगले व्यक्त भएको छ । कतिपयले स्व. प्रकाशको सोझोपनलाई सम्झिएका छन् भने कतिपयले बुबा प्रधानमन्त्री हुँदा उनले गरेको व्यवस्थापकीय कुशलताको प्रशंसा गर्दै समवेदना प्रकट गरेका छन् ।
प्रकाशको मृत्युको विषयलाई पत्रकार घनश्याम खडकाले मृत्यु एउटा सत्य साक्षात्कार भएको र त्यसलाई सबैले आत्मासात् गर्नैपर्ने उल्लेख गरेका छन् । ‘जीवनमा सबै कुरा संयोग छन् ।
यी सब हुन पनि सक्छन्, नहुन पनि, तर मृत्यु निश्चत छ । जहिले गरे पनि गर्नैपर्ने यति निश्चित सत्यको साक्षात्कार गरेका छौ प्रकाश तिमीले आज । भर्खरै सुनें, दु:खी छु ।’ खड्काले भनेका छन्, ‘तर तिमी जति समय प्रकाशित भयौ, पूरा मौलिकताका साथ भयौ । तिम्रो जीवनमा कुनै छलछाम र कपट देखिएन । जीवनगंगा जसरी बग्यो, तिमी त्यसरी नै बग्यौ । कृत्रिमता कहींकतै देखाएनौ । यही नै तिम्रो जीवनको सौन्दर्य हो । सय वर्षको आयु भए पनि अडम्बरी जीवनको कुनै अर्थ छैन । सय दिनको भए पनि सहज भावको सौन्दर्य छ, अर्थ छ । त्यो सौन्दर्य तिम्रो नितान्त व्यक्तिगत अनुभवमा थियो होला । चिर शान्तिको लाभ भैरहोस् तिम्रा बन्द आँखाहरूमा, बिदा ।’
मृत्यु सबैले सहनुपर्ने र भोग्नुपर्ने यथार्थतालाई सबैले स्वीकार गर्नुपर्ने कुरा लेखक अविरल थापाले प्रकाशको मृत्युको प्रसंगसँग जोडेका छन् । थापाले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘जिन्दगीमा सहनुको विकल्प हुँदैन । जिउनु छ त सहनैपर्छ । सशनशीलताले शक्ति मात्र होइन, आत्माज्ञान पनि प्रदान गर्छ । पर्नेलाई मात्र थाहा हुन्छ, सहन कति गाह्रो हुन्छ ? यो संसारमा चोट पर्नेजति सबैलाइ सहने शक्ति प्राप्त होस् ।’
गायक शिव परियारले प्रकाशको मृत्युलाई एउटा युवा राजनीतिकर्मी गुमाउनुपरेको कुरासँग जोडेका छन् । ‘राष्ट्रिय राजनीतिमा एउटा प्रभाव बनाउन सफल युवा प्रकाश दाहालको ह्दयाघातको कारण अल्पायुमै भएको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली । शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना ।’
सञ्चारकर्मी विजयकुमार पाण्डेले मृत्यु नियति भएको कुरालाई सबैले स्वीकार गर्नैपर्ने कुरामा जोड दिँदै यसरी समवेदना प्रकट गरेका छन्— ‘बितेका मानिसहरूको जीवन, बाँचेकाहरूको सम्झनामा बाँचिरहको हुन्छ ।’ नेपाल पत्रकार महासंघका उपसभापति विपुल पोखरेलले प्रकाशको मृत्युले प्रचण्डले परिवारका एक सदस्य मात्र नभएर कुशल व्यवस्थापक गुमाएको कुरा उल्लेख गरेका छन् । प्रचण्डले पुत्र मात्र गुमाउनुभएन, आफ्ना एक कुशल सचिवालय व्यवस्थापक पनि गुमाउनुभएको छ— पोखरेलले भनेका छन् ।
सञ्चारकर्मी प्रकाश डुम्रेले प्रकाश दाहालको मृत्युलाई अत्यन्तै दुखद भनेका छन् ।‘ अत्यन्तै दु:खद खबर सुनियो, विश्वास नलागेर स्टाटस समेत डिलिट गरें र फेरि बलियो स्रोतसँग बुझें, हो प्रकाश कमरेड हामीमाझ रहनुभएन भन्ने खबर आयो । हार्दिक श्रद्धाञ्जली कमरेड प्रकाश ।’
पत्रकार माधव बस्नेतले देशले एक मिजासिला व्यक्ति गुमाएको चर्चा गर्दै समवेदना प्रकट गरेका छन् । ‘हार्दिक–हार्दिक श्रद्धाञ्जली प्रकाश दाहाल । व्यक्तिगत भेटमा तिमी यति मिजासिला थियौ, शब्दमा व्याख्या गर्न सकिँदैन । बुबा–आमालाइ गहिरो चोट र कलिला नानीहरूलाइ टुहुरो बनाएर गयौ । तिम्रो परिवारमा परेजस्तो शोक कसैलाई नपरोस ।’ बस्नेतले भनेका छन् ।
चलचित्र निर्माता राजेश घतानीले प्रकाशको मृत्युको खबरलाई अपत्यारिलो भनेका छन् । ‘प्रचण्ड पुत्र प्रकाश दाहालको अपत्यारिलो निधनको खबरले स्तब्ध बनायो । साह्रै दुख लाग्यो । यो सत्य नभैदिए पनि हुन्थ्यो ।’ उनले लेखेका छन् ।
अर्का सञ्चारकर्मी दयाराम पाण्डेले भनेका छन् ‘जिन्दगी नाटक रहेछ, मानिस पात्र रहेछ । सवैजना एउटै ठाउँ ढिलो–चाँडो मात्र रहेछ ।’
गायक सूर्यमान राई भन्छन्, ‘विचार पो अलग हुन्छ । मानवता एउटै हुन्छ । लक्ष्य पो फरक हुन्छ त अन्त्य सबैको उस्तै हुन्छ । दु:खको अनुभूति उस्तै, गुमाउनुको पीडा उस्तै । हार्दिक श्रद्धाञ्जली प्रकाश दाहाल— जय नेपाल ।’
साहित्यकार उषा शेरचन लेख्छिन् ‘सन्तानको मृत्युजस्तो असह्य पीडादायी कुरा संसारमा अरू के हुन सक्ला ? त्यो पनि ३६ वर्षको उमेरमै जाने सन्तानप्रति । यस्तो सात जुनीको शत्रुलाई पनि नपरोस् भगवान् भन्छौं तैपनि आज माओवादी नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल तथा उहाँकी धर्मपत्नी सीता दाहाल माथि यो बज्रपात परेको छ ।’
अर्की साहित्यकार सरिता तिवारी प्रकाशको निधनले प्रचण्डलाई अपूरणीय क्षति भएको उल्लेख गरेकी छिन् । ‘तपाईंलाई परेको शोक अत्यन्तै क्रूर र अपूरणीय छ, शब्दहीन छु ।’ उनले भनेकी छिन् ।
भूमिगत कालदेखि नै माओवादी अध्यक्ष तथा आफ्ना बुबा प्रचण्डको स्वकीय सचिवका रूपमा काम गरेका प्रकाश प्रविधिमा अब्बल रहेको लामो समय पार्टीमा सँगै काम गरेका साथी विश्वदीप पाण्डेको बुझाइ छ । पाण्डेका अनुसार प्रकाशमा नयाँ प्रविधिसँग चाँडै नै घुलमिल हुन सक्ने क्षमता थियो । पछिल्लो समय उनले पार्टीको प्रचारलाई आफ्नो फेसबुक पेजमार्फत राम्रै प्रचार–प्रसार गरेका थीए । त्यसो त प्रकाशको व्यक्तिगत आनीबानीका कारण राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा पनि प्रभावित थिए । प्रकाशलाई आफूले नजिकबाट चिनेको र व्यक्तिगत रूपमा ज्यादै असल पाएको थापाले उल्लेख गरेका छन् ।
नायिका रेखा थापाले पनि अल्पायुमै प्रकाशको निधन भएको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेकी छिन् । ‘प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तब्ध भएकी छु,’ उनले लेखेकी छिन् । सञ्चारकर्मी अरुण बराल प्रकाशले लीलामय जीवन बाँचेको उल्लेख गर्दै दु:ख व्यक्त गरेका छन् । ‘सिर्जना र बिना, लीलामय जिन्दगी बाँचेका प्रकाश भाइले तिमीहरू दुवैलाई एक–एक छोरा, एक–एक नाम, एक–एक सम्भावना र एक–एकवटा चुनौती छाडेर गएका छन् । सम्हालिएर नयाँ क्षितिजतर्फ अघि बढ ।’ बरालले भावुक हुँदै आफूलाई चाहिँ प्रकाशले फगत मोबाइल नम्बर छाडेर गएका र जसबाट कहिल्यै दाइ भनेर फोन नआउने उल्लेख गरेका छन् ।
फेसबुक प्रयोगकर्ता स्मृति आचार्यले प्रकाश दाहालको निधनप्रति नकारात्मक टिप्पणी गर्नेहरूमाथि व्यंग्य कसेकी छिन् । ‘मृत्यु तथा रोगमाथि मजाक गर्नेहरूलाई कहिल्यै रोग नलागोस्, उनीहरूले कहिल्यै मर्नु नपरोस् ।’