स्थानीय तहको निर्वाचन प्रचारमा जनकपुर आएका कांग्रेस सभापति शेरवहादुर देउवा दुई नम्बर प्रदेशमा १ सय तह जितेर मुलुकको पहिलो शक्ति बन्ने उद्घोष गरेका थिए तर देउवाले सोचेजस्तो परिणाम भने आएन । दुई चरणको स्थानीय निकायमा पहिलो शक्ति बनेको एमालेको प्रदर्शन पनि फितलो रह्यो । बेग्ला–बेग्लै निर्वाचनमा सहभागी भए पनि संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टी नेपाल उत्साहजनक परिणाम ल्याउन सफल भए भने माओवादी केन्द्र आफ्नो गुमेको प्रतिष्ठा जोगाउन सफल भयो ।
अढाई महिनापूर्व सम्पन्न स्थानीय तहको निर्वाचनको मतादेशलाई आधार मानी राजनीतिक दलहरू मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणाम आ–आफ्नो पक्षमा आउने विश्लेषण गर्दैछन् तर यो अढाई महिनाभित्र मुलुकको राजनीतिमा ठूलो परिवर्तन आएको छ । एमाले–माओवादी तथा फोरम नेपाल–राजपाबीच चुनावी तालमेल भएको छ । यी चार दल अहिले दुई गठबन्धनमार्फत चुनावी मैदानमा छन् भने स्थानीय तह निर्वाचनमा यो प्रदेशको पहिलो शक्ति बनेको कांग्रेस एक्लिएको छ । वाम गठन्धन तथा मधेस केन्द्रित दलहरूको एकताले दुई नम्बर प्रदेशका आठ वटै जिल्लामा त्रिकोणात्मक प्रतिस्पर्धा हुने सम्भावना छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगै राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर तथा अन्य पाँच शीर्ष नेता शरदसिंह भण्डारी, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिलकुमार झा तथा राजकिशोर यादव यही प्रदेशबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् भने कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधि, वरिष्ठ नेता प्रदीप गिरी, फरमुल्ला मंसूर, अमरेशकुमार सिंह, माओवादी केन्द्रका रामचन्द्र झा, मातृकाप्रसाद यादव, एमालेका रघुवीर महासेठ, शिवपूजन यादव आदि नेताहरूसमेत यही प्रदेशबाट चुनाव लड्दैछन् ।
यसैगरी कांग्रेसका युवा नेता रञ्जित कर्ण, डा. चन्द्रमोहन यादव, राजपाका मनिष सुमन तथा एमालेका शत्रुघ्न महतो आदि निवर्तमान सांसदहरू प्रदेशसभाको चुनावमा भिड्दैछन् । तीन मुख्य दलले यी नेताहरूबाटै प्रदेशको मुख्यमन्त्री छान्ने अनुमान छ । थानीय तह निर्वाचन परिणामलाई विश्लेषण गर्दा धनुषा, सिरहा तथा सप्तरीमा वाम गठबन्धनको पकड बलियो देखिन्छ भने महोत्तरी र सर्लाहीमा मधेसी मोर्चाको स्थिती बलियो छ । पश्चिमका तीन जिल्लामा भने कांग्रेस, वाम गठबन्धन तथा मधेसी मोर्चाको स्थिति लगभग बराबर छ ।
चर्चामा धनुषा, महोत्तरी र सप्तरी
मधेसी मोर्चाका तीन शीर्ष नेता प्रतिस्पर्धी रहेको धनुषा, महोत्तरी र सप्तरी प्रदेश नम्बर–२ मा मात्र होइन, मुलुकमै चर्चाको विषय बनेको छ । धनुषा–३ बाट राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतो कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिसँग प्रतिस्पर्धा गर्दैछन् भने सप्तरी–२ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रतिस्पर्धा पूर्वमन्त्री समेत रहेका माओवादी केन्द्रका उमेश यादवसँग छ । यसैगरी महोत्तरी–२ मा राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर प्रतिस्पर्धामा छन् । उक्त क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवारी फिर्ता लिए पनि राजपाकै विद्रोही उम्मेदवार चन्देश्वर झाका कारण ठाकुर दवावमा छन् । उक्त क्षेत्रबाट दुवै संविधानसभा निर्वाचनमा मधेस केन्द्रित दलसँग सम्बद्ध संजयकुमार साह सभासद भएका थिए ।
यसअघि धनुषा–३ बाट पटक–पटक सांसद भएका कांग्रेस वरिष्ठ नेता विमलेन्द्र निधिको गृहगाउँ नगराइन नगरपालिका तथा उनको अत्यधिक प्रभाव रहेको मुखियापटी मुसरनिया, औरही आदि ग्रामीण क्षेत्रमा कांग्रेसको जनाधार बलियो मानिन्छ । नगर क्षेत्रमा अझै पनि बलियो प्रभाव रहेको निलम्बित निवर्तमान सांसद संजयकुमार साहले निधिलाई समर्थन दिने घोषणा गरेका छन् । साहका समर्थकहरू खुलेरै निधिको प्रचार गर्न थालेका छन् ।
सीमावर्ती फूलगामा, नगराइन, लगमा, बहेरा बेला, मुखियापटी मुसरनिया क्षेत्रमा एमालेको पनि राम्रो प्रभाव छ । जनकपुर उपमहानगरपालिकाका पूर्व कानुनी सल्लाहकारसमेत रहेका वाम मोर्चाका उम्मेदवार रामसिंह यादव आफूले नगरपालिकामा गरेको राम्रो काम तथा एमाले र माकेको संगठनको भोट मिल्ने दावी गर्छन ।
यता महोत्तरी–२ बाट प्रतिस्पर्धा गरी रहेका राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरको समर्थनमा कांग्रेसले आफ्नो उम्मेदवारी फिर्ता लिए पनि राजपाका वागी उम्मेदवार चन्देश्वर झा मैदानमा छन् । झा दोश्रो संविधानसभामा स्वतन्त्र उम्मेदवारका रूपमा सांसद निर्वाचित भएका थिए । भूमिहार बहुल महोत्तरी–२ का अधिकांश गाउँ तथा नगरमा राजपाको स्थिति बलियो छ तर राजपाले प्रतिनिधि र प्रदेशसभाका तीनै उम्मेदवार भूमिहार समुदायबाटै दिएकाले अन्य जातिका मतदाताहरू आक्रोशित छन् ।
त्यही आक्रोशको लाभ उठाउन एमालेका विजयकुमार चौधरी पक्षधर अगुवा कार्यकर्ताहरूले फरवार्डरब्याकवार्डको नारा दिइरहेका छन् । कथित ब्याकवार्ड कम्युनिटीले एमाले उम्मेदवार चौधरीलाई भोट दिए मुकावला त्रिकोणात्मक हुन सक्ने अनुमान गरिन्छ ।
सप्तरी–२ बाट उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा माओवादी केन्द्रका उमेश यादवबीच सीधा मुकावला हुने आँकलन गरिए पनि मधेसी मोर्चाका वागी उम्मेदवार जयप्रकाश ठाकुरको उम्मेदवारीका कारण प्रतिस्पर्धा त्रिकोणात्मक भएको छ ।