ऋचा शर्मा तथा केकी अधिकारी नेपाली चलचित्र क्षेत्रका दुई स्थापित अभिनेत्रीहरु हुन् । लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय भए पनि यी दुई अभिनेत्रीले हालसम्म एउटा पनि चलचित्रमा स्क्रिन शेयर गर्ने मौका पाएका थिएनन् । कुनै पनि निर्देशकले यी दुई प्रतिभाशाली अभिनेत्रीलाई एउटै चलचित्रमा अँटाएका थिएनन् । अहिले आएर युवा निर्देशक विशाल भण्डारीले यी दुई अभिनेत्रीलाई एउटै फ्रेममा अँटाएका छन् ।
यसै साता बाँकेको कोहलपुरमा छायांकन सम्पन्न भएको चलचित्र कोहलपुर एक्सप्रेसमा यी दुई अभिनेत्री दुई पृथक भूमिकामा प्रस्तुत भएका छन् । छायांकनस्थलमा व्यस्त भैरहेको बेला साप्ताहिकले यी दुई अभिनेत्रीको वार्तालाप नजिकबाट सुन्न अवसर पाएको थियो । उनीहरुको वार्तालापको सम्पादित अंश :
ऋचा शर्मा : यतिबेला जताततै केकीकै चर्चा छ । खास कारण के हो केकु ?
केकी अधिकारी : तपाईंले चलचित्र ऐश्वर्यको व्यवसायिक सफलता अनि मैले निर्वाह गरेको चरित्रको कुरा गर्नुभएको होला । म पनि ऐश्वर्यको आफ्नो भूमिकाले दर्शकको मन जितेकोमा अचम्ममा परेकी छु ।
ऋचा : दर्शकहरूले अत्यधिक मन पराउने त्यस्तो के काम गरेकी छौ त ?
केकी : त्यस्तो विशेष त केही गरेकी छैन, अन्य चलचित्रमा झैं आफ्नो चरित्रमा डुबेर अभिनय गरेकी हुँ । एउटा युवकको एकतर्फी प्रेममा पागल हुन लागेकी इनोसेन्स युवतीको भूमिका निर्वाह गरेकी छु । यद्यपि दर्शकले मेरो चरित्रलाई यति धेरै मन पराइदिनुहुनेछ भन्ने लागेको थिएन ।
ऋचा : लभर गर्लको उक्त भूमिकामा त्यस्तो के जादु थियो र ?
केकी : त्यो चरित्रमा म अति नै इनोसेन्स देखिनुपर्ने थियो । एउटा कलाकारले सबै भूमिका निर्वाह गर्न सक्छ, तर इनोसेन्स देखिन धेरै गाह्रो हुन्छ । त्यस्तो हुनलाई मानिस भित्रैबाट वास्तविक जीवनमै इनोसेन्स हुनुपर्छ । मलाई मानिसको संवेदनाले चाँडै छुन्छ, यही विशेषताका कारण मैले आफूलाई इनोसेन्स लभर गर्लका रूपमा प्रस्तुत गर्न सफल भएकी हुँ ।
ऋचा : तिमी पनि अब निर्मात्री भएकी छौ, अभिनयमा व्यस्त भैरहेका बेला चलचित्र निर्माणमा कसरी आकर्षित भयौ ?
केकी : कलाकारका रूपमा म अभिनयबाहेक अरू केही गर्न सक्दिनँ । निर्देशकले दिएको चरित्र तथा भूमिकाभन्दा बाहिर पनि जान सक्दिनँ । सधैंभरि सीमित घेरामा रहेर अभिनय गर्दा हामीमा भएका कतिपय प्रतिभा तथा सिर्जना खुम्चिरहेका हुन्छन् । धेरै प्रकारका चरित्र निर्वाह गरेर मैले अभिनयको हरेक पक्षको अनुभव लिइसकेकी छु । चलचित्र निर्माण सिर्जनात्मक काम हुनुका साथै आफूलाई अझ फराकिलो बनाउने माध्यम पनि भएकाले मैले निर्माणको विधामा पनि हात हालेकी हुँ ।
ऋचा : प्रियंका कार्की, केकी अधिकारी तथा ऋचा शर्मालाई प्रतिस्पर्धीका रूपमा लिनेहरू धेरै छन् । तिमीले चाहिं हामी तीनै जनालाई एउटै चलचित्रमा अभिनय गराउने निर्णय कसरी गर्यौ ?
केकी : चलचित्रको स्क्रिप्ट तयार भएपछि मैले कलाकार छनोट गर्ने जिम्मा निर्देशक विशाल भण्डारीलाई दिएँ । उहाँले कलाकारको नाम टुंगो लगाउने तथा मैले ती कलाकारलाई अभिनयका लागि तयार पार्ने जिम्मा लिएकी थिएँ । चलचित्रको स्क्रिप्टअनुसार म, तपाईं तथा प्रियंका कार्कीबाहेक अरूले चलचित्रका यी तीन चरित्र निर्वाह गर्न नसक्ने निर्देशकको ठहर थियो । अभिनय यात्राको लामो समयपछि तपाईंसँग पहिलो पटक क्यामेरा शेयर गर्न पाउँदा असाध्यै खुशी पनि लागेको छ ।
ऋचा: म सिरियस चरित्र निर्वाह गर्दै आएकी कलाकार, मेरो भूमिका त बिल्कुलै फरक रहेछ ?
केकी : चलचित्रमा तपाईंले निर्वाह गर्ने भूमिकाले दर्शकलाई रोमान्चित तुल्याउने निश्चित छ । तपाईं जस्तो अभिनयकै लागि जन्मिएकी कलाकारबाहेक अरू कसैले यो चरित्र निर्वाह गर्न सक्दैनथ्यो । नढाँटी भन्नुपर्दा तपाईंले निर्वाह गरिरहेको भूमिका तपाईंलाई नै मनमा राखेर लेखिएको हो ।
ऋचा : कोहलपुर एक्सप्रेसमा तिम्रो भूमिकाचाहिं कस्तो छ नि ?
केकी : मैले आफ्नो भूमिकाका बारेमा धेरै कुरा बताउन मिल्दैन । यद्यपि मैले परिस्थितिले बाँधिएकी युवतीको भूमिका निर्वाह गरेकी छु, जो जीवनलाई लगातार खुसीसाथ अघि बढाउन संघर्षरत छिन् ।