साप्ताहिक संवाददाता
पछिल्लो समय नेपालमा छोटा चलचित्रको निर्माण क्रम फस्टाएको छ । चलचित्र अध्ययन सम्बन्धी थुप्रै इन्ष्टिच्युट, कलेजको सञ्चालनले पनि छोटा चलचित्र निर्माण गर्ने क्रम बढेको हो । छोटा चलचित्रले पनि उचित स्थान पाउँनु पर्छ भन्ने उदेश्यले छायाँछबि क्रियसनले पहिलो पटक काठमाडौं सर्ट फिल्म फेस्टा–२०१३ तथा काठमाडौं सर्ट फिल्म फेस्टा–२०१५ आयोजना गरेको थियो ।
सर्ट फिल्मको निर्माण विस्तारै फराकिलो बन्दै गइरहेको तर यसको बजार नहुनुले सर्ट फिल्म निर्माण गरेर पनि सम्बन्धित फिल्म मेकरहरु निराश भइरहेको अवस्थालाई मध्येनजर गर्दै पुन: तेस्रो काठमाडौं सर्ट फिल्म फेष्टा — ०१७ आयोजना गर्न लागेको छायाँछवि क्रियसनका अध्यक्ष शान्ति प्रियले बताए ।
नेपाली चलचित्रको बैकल्पिक बजारको रुपमा छोटा चलचित्रहरु पनि स्थापित हुन सक्छन् भन्ने विश्वास एकातिर गर्न थालिएको छ भने नेपाली चलचित्रकर्मीले निर्माण एवम् निर्देशन गरेका सर्ट फिल्महरु अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कृत हुन थालेका पनि प्रशस्तै उदाहरण छन् । यस्ता चलचित्रले सुरुमा आफ्नै मुलुकमा सम्मान र स्थान पाउनु पर्छ भन्ने उद्देश्यले पनि ‘सर्ट फिल्म फेस्टा’ आयोजना गरिएको शान्ति प्रियको भनाई छ ।
पौषको अन्त्यमामा आयोजना गरिने उक्त महोत्सबमा छोटा चलचित्र प्रदर्शनका साथै चलचित्र सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रम पनि आयोजना गरिने बताईएको छ ।
यो फेस्टामा बृत्तचित्र, चलचित्र, कार्टुन/एनिमेशन चलचित्रले भाग लिन पाउने छन् । सम्बन्धित चलचित्रको लम्बाई भने ३ मिनट देखि ४५ मिनट भित्रको हुनु पर्ने बताईएको छ । फेस्टामा सहभागीका लागि मंसिर १५ सम्म लघू चलचित्र दर्ता गर्नु पर्ने आयोजक संस्थाले जनाएको छ।