नेपाली एप तथा मोबाइल गेम डेभेलपर कम्पनी स्रोथ कोडले केही साताअघि एन्ड्रोइड मोबाइलमा खेल्न सकिने एउटा गेम सार्वजनिक गर्यो । सार्वजनिक भएदेखिकै सातादेखि उक्त गेम निकै चर्चामा रह्यो र यसै साता गुगलको प्ले स्टोरमा ट्रेन्डिङ अर्थात् छोटो समयमै धेरै डाउनलोड भएको र रिभ्यु लेखिएको एपको लिस्टमा पर्यो । यो गेम ट्रेन्डिङमा पर्ने प्रमुख कारण अरु गेमभन्दा भिन्न शैलीको हुनु नै हो ।
यो गेममा विभिन्न लेभल पार गर्दै, सजिलोबाट गाह्रो लेभलितर खेल्दै जानुपर्छ । गेममा एउटा विशेष क्षेत्रबाट टेबलटेनिसको जस्तो बललाई उडाएर विभिन्न बाधा कटाउँदै पहेलो बलसम्म पुर्याउनुपर्ने हुन्छ । सुरु–सुरुका लेभलमा बाधाहरू धेरै कठिन नभए पनि लेभल बढ्दै जाँदा लेभल कटाउन कडा मेहनतको आवश्यकता पर्दै जान्छ ।
गेमको रोमाञ्चक पक्ष भनेको खेल्दै जाँदा खेल गाह्रो भै लेभल नकटेकोमा रिस उठ्छ र जसरी भए पनि लेभल कटाएरै छाड्ने भावना पैदा हुन्छ । सजिलो भाषामा भन्दा यो गेम एक किसिमको नसाजस्तै हुन पुग्छ । खेलको डिजाइन एवं त्यसमा प्रयोग भएको रंग तथा एनिमेसनले प्रयोगकर्तालाई टेनिस खेलेको अनुभूति गराउँछ र त्यसमा प्रयोग भएको ध्वनिले खेलको रोमाञ्चकता वृद्धि गर्छ ।
धैरै राम्रा पक्षहरू भए पनि यो खेल खेल्ने क्रममा केही लेभलमा भने विभिन्न समस्या देखिएका छन् । कुनै बेला ध्वनि बटनले राम्रोसँग काम गर्दैनन् भने कुनै लेभलमै डिस्प्लेमा समस्या देखा पर्छ । केही लेभलमा भने लुपहोलका कारण नियमै मिचेर लेभल कटाउन सकिन्छ । यद्यपि आउँदा दिनहरूमा ती समस्या हल गरेको खण्डमा यो गेमले विश्व नै तताउन सक्छ ।
नोभेम्बर ५ मा एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गरी प्लेस्टोरमा लन्च गरिएको यो खेल केही समयमा आईओएसमा पनि उपलव्ध हुने गेम निर्माता कम्पनी स्रोथ कोडका सिइओ उत्तम अधिकारीले बताएका छन् । हाल ५० लेभलसम्म उपलब्ध यो गेममा नियमित अपडेटमार्फत अन्य रोमाञ्चक लेभलहरू पनि उपलब्ध गराइने अधिकारीले बताए । यो खेल एन्ड्रोइड प्लेस्टोरमा गै एयलन ज्बखयअ टाइप गरी डाउनलोड गर्न सकिन्छ ।