अन्य जिल्लामा भन्दा चितवनको चुनावी चर्चा बढी छ । ११ वर्षपछि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला फर्किएसँगै चुनावी रन्को बढेको छ । जिल्लाको ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका दाहालका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे छन् । उनी बहालवाला वन तथा भूसंरक्षण मन्त्री हुन् ।
चुनावी दौडधूपमा रहेकै बेला छोरा प्रकाशको निधन भएपछि शोकमा रहेका दाहाल मन बलियो बनाएर जनतासँग मत माग्न सक्रिय छन् । दाहाल वाम गठबन्धनबाट उम्मेदवार हुन भने पाण्डे लोकतान्त्रिक गठबन्धनबाट मैदानमा छन् । ०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ५ बाट विजयी पाण्डे र दाहालबीच राम्रै प्रतिस्पर्धा हुने जानकारहरु बताउँछन् । यो क्षेत्रमा १ लाख २५ हजार ८ सय २३ मतदाता छन् । माडी नगरपालिका र भरतपुर महानगरका १९ वडा यो क्षेत्रमा पर्छन् ।
उता क्षेत्र नम्बर १ मा पनि पुरानै अनुहार चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा एमालेबाट सुरेन्द्र पाण्डे र कांग्रेसबाट राजेन्द्र बुर्लाकोटी मैदानमा छन् । यो क्षेत्रमा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्नननगर नगरपालिका पर्छन् । मतदाता संख्या १ लाख १९ हजार ९ सय ९८ छ । त्यस्तै २ नम्बर क्षेत्रमा ०७० सालको निर्वाचनमा विजयी उम्मेदवार मैदानमा छन् । यो क्षेत्रमा साविकको ३ नम्बर क्षेत्रलाई २ मा राखिएको छ । साविकको २ बाट ०७० को निर्वाचनमा विजयी बहालवाला शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र ३ बाट विजयी एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल चुनावी मैदानमा छन् । पहिलेको २ र ३ का क्षेत्र मिलाएर अहिले २ नम्बर क्षेत्र कायम गरिएको छ । यो क्षेत्रमा १ लाख ८ हजार २ सय १५ मतदाता छन् । कालिका नपा, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरका १० वडा मिसाएर उक्त क्षेत्र कायम गरिएको हो ।
मकवानपुरमा पनि चुनावी प्रतिस्पर्धा कडा हुने देखिएको छ । २ निर्वाचन क्षेत्र रहेको यो जिल्लामा उम्मेदवारहरु आआफ्नो पक्षमा मत माग्न व्यस्त छन् । क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा अध्यक्ष कमल थापा र वाम गठबन्धनबाट एमालेका कृष्ण दाहाल मैदानमा छन् । थापा र दाहालबीच १८ वर्षपछि पुन जम्काभेट हुँदै छन् । ०४८, ०५१ र ०५६ को निर्वाचनमा दुवैबीच प्रतिस्पर्धा भएको थियो । अहिले चौथो पटक दुवै जना प्रतिस्पर्धामा उत्रिएका छन् । दुईबीच तीनवटा चुनावी प्रतिस्पर्धामा दाहालले २ र थापाले एकपटक विजय हासिल गरेका थिए ।
क्षेत्र नम्बर २ मा एमालेका विरोध खतिवडा र कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना मैदानमा छन् । खतिवडा ०४८, ०५१ र ०५६ चुनाव जितेका बलिया उम्मेदवार हुन् । उपाध्याय ०४८ र ०५१ माखतिवडासँगै पराजित भएकी थिइन । उपाध्याय ०६४ र ०७० समानुपातिकबाट सांसद भए पनि अहिले फेरि खतिवडासँग टक्कर लिँदै जित निकाल्ने दाउमा छिन् ।