साप्ताहिक संवाददाता
निर्देशक : राजीव वालिया
संगीत : राज आशु
कलाकार : अरबाज खान, सनी लियोनी, आर्य बब्बर, सुधा चन्द्रन आदि ।
सलमान खानका भाइ अरबाज खान निर्माताका रूपमा सफल दरिए पनि अभिनेताका रूपमा भने कहिल्यै चलेनन् । बलिउडमा अभिनेता भएर जम्न अरबाजलाई एउटा सुपरहिट चलचित्रको आवश्यकता छ । करिब त्यस्तै अवस्था छ सनी लियोनीको पनि । अमेरिकाकी हिट पोर्न स्टार सनी पोर्न जीवनबाट संन्यास लिएर बलिउडमा भाग्यपरीक्षा गर्न आइन् ।
आइटम गर्लमा त उनको चर्चा व्यापक भयो, तर अभिनेत्रीका रूपमा भने उनले अझै दर्शकको मन जित्न सकेकी छैनन् । अरबाज र सनीबीचको हट केमेस्ट्री प्रस्तुत गर्न खोजिएको चलचित्र तेरा इन्तजार आज शुक्रबारदेखि प्रदर्शन हुँदैछ । चलचित्र तेरा इन्तजार प्रेमकथात्मक चलचित्र हो, तर यसमा थ्रिल, हरर र सस्पेन्सको मसला पनि प्रयोग गरिएको छ ।
प्रेममा मग्न जोडी अरबाज र सनीबीच एउटा डरलाग्दो घटना घट्छ, जसमा अरबाज अनायसै हराउँछन् । अरबाजको खोजीमा भांैतारिरहेकी सनीले निकै भयावह स्थितिको सामना गर्नुपर्छ । त्यसमै चलचित्र तेरा इन्तजारको कथावस्तु एवं प्रस्तुति घुमेको छ ।