साप्ताहिक संवाददाता
एसिया क्षेत्रको महिला ट्वान्टी–२० विश्वकप छनौटमा नेपाल तेस्रो स्थानमा रह्यो, थाइल्यान्डको बैंककमा भएको प्रतियोगिता खेलेर फर्किएयता खेलाडीले कम्तीमा यो उपलब्धिमा राहत महसुस गर्न सक्नेछन्, तर समग्रमा भने नेपाली महिला क्रिकेटका लागि यो अर्को एउटा असफलताको कथा रह्यो । गैर टेस्ट मान्यताप्राप्त देशबीचको महिला क्रिकेटमा नेपालको प्रदर्शन राम्रो हुनुबाहेक अर्को विकल्प हुन सक्दैन । त्यसैले यसपटक पनि नेपालका लागि यो प्रतियोगिता खराब नै रह्यो ।
तेस्रो स्थानका लागि भएको प्लेअफको अन्तिम खेलमा नेपालले हङकङलाई ३६ रनले हराएको थियो । लिग चरणको समाप्तिमा नेपाल तेस्रो स्थानमा थियो, त्यसैले औपचारिक रूपमा वरियताक्रम तोक्न भएको खेलमा नेपालले चौथो स्थानमा रहेको टिमलाई हराएको थियो, तर उक्त जित नेपाली टिमका लागि सान्त्वना पुरस्कारबाहेक केही पनि रहेन, किनभने लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहन नसकेपछि नेपाली टिमको जुन लक्ष्य थियो, त्यो पूरा हुनसकेन ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शीर्ष दुई स्थानमा रहने टिम नेदरल्यान्ड्समा हुने विश्व महिला ट्वान्टी–२० विश्वकपमा छनौट हुने नियम बनाएको थियो । यो अर्थमा नेपाल त्यस प्रतियोगितामा छनौट हुन सकेन र निराशासँगै घर फर्कन बाध्य रह्यो । संयोग कस्तो भने यसअघिको छनौट संस्करणमा नेपाल दोस्रो भएको थियो । त्यति बेला आईसीसीले शीर्ष स्थानमा रहने एक टिमले मात्र विश्वकप खेल्ने नियम राखेको थियो । जति बेला शीर्ष दुई टिमले विश्वकप खेल्ने निर्णय बनायो, नेपाल तेस्रो भयो ।
यसपटकको छनौटमा कुल ६ टिम सम्मिलित थिए र लिग चरणको समाप्तिमा थाइल्यान्ड र युएई शीर्ष दुई स्थानमा रहे । थाइल्यान्डको ९ र युएईको ८ अंक रह्यो । नेपाल भने ६ अंकमै सीमित रह्यो । खासमा नेपालका लागि प्रतियोगिता भाग्यमानी पनि देखिएन, किनभने खेलेका छ खेलमध्ये वर्षाले गर्दा दुई खेलको निर्णय नै आउन सकेन । नेपाल एक खेलमा पराजित रह्यो भने अर्को दुईमा विजयी ।
लिग चरणको अन्तिम खेलमा नेपालले चीनमाथि ५० रनको जित निकालेको थियो र त्यो खेल भने सबनम राईका लागि व्यक्तिगत रूपमा सम्झनालायक खेल रह्यो । त्यसमा उनले ह्याट्रिक गरिन् र दुर्लभ उपलब्धिलाई आत्मसात् गरिन् । उनी नेपालका लागि महिला क्रिकेटमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी पनि बनिन् । यसअघि करुणा भण्डारी र रुविना क्षेत्रीले पनि यस्तै उपलब्धि हात पारेका थिए । सबनमले चीनविरुद्ध नै प्रतियोगितामा पहिलो खेल खेलेकी थिइन् ।
यसअघि नेपालले लिग चरणको दोस्रो अन्तिम खेलमा मलेसियालाई ३३ रनले हराएर शीर्ष दुई स्थानमा रहने सम्भावनालाई गणितीय रूपमा जीवन्त भने राखेको थियो । यो नै प्रतियोगितामा नेपालको पहिलो जित थियो र यसअघि खराब सुरुवात लिएको थियो । थाइल्यान्ड र हङकङविरुद्धको खेलमा वर्षाका कारण नेपाल अंक बाँड्न बाध्य रहेको थियो । नेपालका लागि सबैभन्दा ठूलो धक्का युएईविरुद्धको खेल गुमाउनु नै रह्यो । आईसीसीको प्रतियोगितामा पहिलो पटक खेलिरहेको युएईविरुद्ध हारेपछि नै नेपालको सम्भावना कमजोर भएको थियो ।