साप्ताहिक संवाददाता
संघीय संरचनाले निर्धारण गरेका मुलुकका सात प्रदेशमध्ये प्रदेश नम्बर ४ मात्र यस्तो छ, जहाँ प्रदेशको राजधानी कहाँ हुने भन्ने विवाद छैन । ११ जिल्ला रहेको यो प्रदेशको राजधानी पोखरा रहने निश्चित छ, तर प्रतिनिधिसभा सदस्यका १८ र प्रदेशसभा सदस्यका ३६ सिटका लागि निर्वाचन भैरहेको ११ जिल्ला रहेको प्रदेशमा अझै मुख्यमन्त्री को होला ? भन्ने चित्र प्रस्ट छैन ।
वाम गठबन्धनले मुख्यमन्त्री आफ्नै दलबाट हुने दाबी गरिरहेका बेला कांग्रेसका उम्मेदवारहरूबाट भने त्यस्तो दाबी आइसकेको छैन । यो प्रदेशमा दोस्रो चरणमा ५ जिल्लामा निर्वाचन हुँदैछ । प्रदेशमा मुख्य प्रतिस्पर्धा कांग्रेसको लोकतान्त्रिक गठबन्धन र एमाले–माओवादीको वाम गठबन्धनकै उम्मेदवार बीचमा हुने देखिएको छ । वाम गठबन्धनबाट लमजुङ प्रदेश ‘ख’ बाट उठेका पृथ्वीसुब्बा गुरुङ र तनहुँ क्षेत्र नम्बर २ को ‘ख’ बाट उठेका किरण गुरुङ चुनाव प्रचारताका नै मुख्यमन्त्री हुन सक्ने भनिएका उम्मेदवार हुन् ।
१० जना तेस्रोलिंगीसहित १५ लाख ६८ हजार ९ सय २४ मतदाता रहेको ४ नम्बर प्रदेशमा दोस्रो चरणका लागि १० लाख ५ हजार ९ सय मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । दोस्रो चरणमा पर्वत, कास्की, स्याङ्जा, तनहुँ र नवलपरासी (सुस्तापूर्व) मा १० प्रतिनिधि र २० प्रदेशसभाको सिटका लागि निर्वाचन हुँदैछ ।
दोस्रो चरणमा १० जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । चार क्षेत्र रहेको कास्कीमा ३–३ क्षेत्र रहेका गोरखा, तनहुँ, बागलुङ र स्याङ्जा २–२ क्षेत्रमा सीमित भएका छन् ।
स्थानीय तहको मत परिणामलाई आधार मान्दा एमाले–माओवादीको वाम गठबन्धन सबै जिल्लामा कांग्रेसभन्दा बलियो देखिन्छ, तर कांग्रेससँग अन्य पार्टीको लोकतान्त्रिक गठबन्धनले प्रदेशमा सबै जिल्लामा यसपटक मुख्य प्रतिस्पर्धी यी दुई खेमाकै उम्मेदवारबीच हुने अवस्थाबाट ४ नम्बर प्रदेश पनि फरक छैन ।
मतदाता रिझाउन कांग्रेस, एमाले र सम्बद्ध दलहरूले एक–अर्काको आलोचनासँगै विकासे एजेन्डा प्रचारमा ल्याएका छन् । यसलाई मतदाताले सतर्कतापूर्वक हेरेको अवस्था छ ।
सम्भावित प्रतिस्पर्धी
दोस्रो चरणमा मंसिर २१ हुने चुनावका लागि प्रतिनिधिसभाका लागि कास्की–१ मा बहालवाला कानुन तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा र पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । तनहुँमा रामचन्द्र पौडेललाई एमालेका कृष्णकुमार श्रेष्ठको चुनौती छ ।
श्रेष्ठ अघिल्लो पटक पौडेलसँग पराजित भएका थिए । यसपटक एमाले–माओवादीको गठबन्धनको चुनौतीसँगै पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका पक्षधरबाट हुन सधक्ने असहयोग पौडेलका लागि चुनौती हो । उद्योगी विनोद चौधरीलाई पार्टीको समानुपातिक उम्मेदवार बनाएपछि महामन्त्री शशांक कोइरालाले नवलपरासिमा चुनाव प्रचारको अधिकांश कार्यक्रममा चौधरीलाई सहभागी गराएका छन् ।
स्याङ्जा–१ मा राजु थापा र नारायण मरासिनी पुन एक–अर्काका प्रतिस्पर्धी छन् भने क्षेत्र २ मा गोपालमान श्रेष्ठलाई एमालेनेत्री पदमा अर्यालको चुनौती छ । तनहुँ–२ मा शंकर भण्डारी र केदार सिग्देल प्रतिस्पर्धी छन् । प्रदेशसभामा अधिकांश जिल्लामा पार्टीमा प्रभावशाली मानिएका नेताहरूबीच नै प्रतिस्पर्धा छ ।
तनहुँमा रामचन्द्र पौडेल, नवलपरासीमा शशांक कोइराला, स्याङ्जामा गोपालमान श्रेष्ठ, कास्कीमा यज्ञबहादुर थापा र खगराज अधिकारी, रवीन्द्र अधिकारीको प्रतिस्पर्धालाई ह्याभीवेट प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।