साप्ताहिक संवाददाता
उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रका देशहरूले विश्वकप छनौट खेल्ने समूहलाई कन्काकाफ भनिन्छ । अर्को वर्ष रूसमा हुने विश्वकप छनौटका लागि भएको यो क्षेत्रका खेलाडीहरूको प्रमुख विशेषता रह्यो— तीव्र प्रतिस्पर्धा । त्यसैको नतिजा हो, अमेरिकाजस्तो यो क्षेत्रको बलियो टिम पनि छनौट हुन सकेन । यो क्षेत्रमा पारम्परिक रूपमा दुई शक्ति छन्— मेक्सिको र अमेरिका । यसमध्ये जहाँ मेक्सिकोले सजिलै छनौट यात्रा तय गरेको थियो भने अमेरिका २४ वर्षपछि विश्वकप फुटबलको अन्तिम चरणमा देखिनेछैन ।
कुल ३५ देश सहभागी रहेको यसपटकको छनौटमा कन्काकाफमा १ सय १२ खेल भए । छनौट पाँच चरणबाट गुज्रिएको थियो । अन्तिम तथा निर्णायक पाँचौं चरणमा ६ देश थिए र उनीहरूबीच राउन्ड रोबिनको आधारमा खेल भएको थियो । कन्काकाफबाट तीन टिमले स्वत: छनौटको अवसर पाउँथे भने एक टिमले प्ले अफको अवसर । यो क्षेत्रले पाएको साढे तीनको छनौटको अवसरले पनि स्पष्ट देखाउने गर्छ, यहाँको फुटबल स्तर पनि माथिल्लो दर्जाको छ ।
अन्तिम चरणको छनौटमा मेक्सिको अपेक्षाअनुसार पहिलो स्थान प्राप्त गर्न सफल रह्यो । विश्वकपमा मेक्सिकोले खेलेको इतिहास लामो छ र अधिकांश संस्करणमा छनौट हुने भाग्यमानी देशमा पर्छ, मेक्सिको । यसपटक पनि अपवाद रहेन । मेक्सिको १० खेलबाट २१ अंकसहित अन्तिम चरणको छनौटको शीर्ष स्थानमा रह्यो । यो चरणको छनौटमा मेक्सिकोले खासै धेरै चुनौती सामना गर्नु परेन भने पनि हुन्छ । यस क्रममा मेक्सिको एकै खेलमा मात्र पराजित रह्यो ।
दोस्रो स्थानमा रह्यो, कोस्टारिका । कोस्टारिकाले यसअघि चार पटक विश्वकप खेलिसकेको छ र यो पटक सन् २०१४ यता पहिलो पटक विश्वकपको अन्तिम चरणमा खेल्नेछ । अन्तिम छनौटमा उसको १६ अंक रह्यो । तेस्रो स्थानमा रहेर विश्वकपमा छनौट हुने भाग्यमानी देश रह्यो, पानामा । पानामा रूसमा पहिलो पटक विश्वकपमा खेल्ने इतिहास रच्दैछ । पानामाको १३ अंक रह्यो ।
चौथो स्थानमा रहेर होन्डुरसले प्ले अफको अवसर पायो । उसको पनि १३ अंक थियो, तर प्ले अफमा भने उसलाई भाग्यले साथ दिएन । उसको प्रतिद्वन्द्वी थियो, एसियाको अष्ट्रेलिया । प्ले अफको पहिलो लेग गोलरहित बराबरीमा टुंगेको थियो भने दोस्रो लेग अष्ट्रेलियाको पक्षमा ३–१ रह्यो । छनौटको पुछारमा रहने दुई टिम रहे, अमेरिका र ट्रिनिडाड एन्ड टोबागो । अन्तिम छनौटमा अमेरिका १२ र ट्रिनिडाड एन्ड टोबागोको ६ अंक रह्यो ।