साप्ताहिक संवाददाता
मंसिर १७, २०७४
चितवन, नारायणगढको पुल्चोकबाट दक्षिण झन्डै साढे चार किलोमिटरको यात्रापछि शिवघाटमा रहेको जलकपुर रेस्टुराँ पुगिन्छ । स्थानीयबीच गोविन्द काफ्लेको जलकपुर रेस्टुराँ भनेर परिचित उक्त रेस्टुराँ आफ्नो नामजस्तै माछाहरूमा स्वादिलोमध्ये एक जलकपुर माछाको परिकारका लागि चर्चित छ ।
विशेषगरी रेस्टुराँमा बसेर नारायणी नदीबाट ल्याइएको माछाको स्वादमा भुल्न जलकपुर रेस्टुराँ पुग्न सकिन्छ । तारेको जलकपुर, जलकपुरको झोल र भात त्यहाँको सबैभन्दा बढी रुचाइने परिकार हुन् भने कुखुराका परिकार पनि त्यहाँ पाइन्छ । नारायणी नदी र सानो टापुको सुन्दर दृश्य हेर्दै जलकपुरमा खाना, खाजा र मदिरा पिउनेहरूको भीड लाग्ने गरेको छ । यदि तपाईं चितवन जाँदै हुनुहुन्छ वा जाने तरखरमा हुनुहुन्छ भने जलकपुर माछा चाख्न नबिर्सनुहोला ।