बलिउडका अभिनेता बरुण धवनका प्रशंसकहरू दिन प्रतिदिन बढ्दै छन् । प्रशंसकहरू बढेकै कारण उनले ती प्रशंसकसँग सेल्फी खिचिदिनु पर्ने बाध्यता पनि छ, त्यही बाध्यताका कारण उनले पछिल्लो पटक प्रहरीको चेतावनीसमेत सहनु परेको छ । मुम्बईको हाइवेमा ट्राफिक जाम भएको बेला बरुणको कारसँगै रहेको एउटा अटोमा एउटी युवती सवार थिइन् ।
बरुणलाई देख्ने बित्तिकै उनले सेल्फी लिन आग्रह गरिन् । बरुणले उनको आग्रहलाई नकार्न सकेनन् र कारबाट टाउको बाहिर निकाल्दै ती युवतीसँग सेल्फी लिए ।
त्यसरी तस्बिर लिइरहेको क्षणलाई मुम्बई प्रहरीले समेत आफ्नो क्यामरामा कैद गर्न भ्यायो । केही घण्टापछि नै प्रहरीले बरुणलाई ट्वीटरमार्फत व्यस्त सडकमा सवारीसाधनमा सेल्फी लिएर उनले आफूमात्र होइन सडक प्रयोगकर्तालाई समेत खतरामा पारेको चेतावनी दिँदै भविष्यमा पुन: त्यस्तो घटना दोहोर्याए कारबाही गर्न बाध्य हुने चेतावनी पनि दियो । बरुणले भने उक्त प्रकरणमा हालसम्म मुख खोलेका छैनन् ।