साप्ताहिक संवाददाता
मानिसको सौन्दर्यमा छालाको प्रत्यक्ष भूमिका हुन्छ । कतिपय मानिसले छालालाई बाहिरी सौन्दर्यसँग मात्र जोड्छन् । बजारमा पाइने कस्मेटिकको प्रयोगले मात्र छाला राम्रो हुन्छ भन्ने भ्रम धेरैमा छ, तर स्वस्थ जीवन जिउन छालाको हेरचाह गर्नु तथा त्यसलाई तन्दुरुस्त राख्नु महत्त्वपूर्ण हुन्छ । दैनिक केही समय दिए केही साताभित्रै छालामा निखार ल्याउन सकिन्छ ।
आराम : सुत्ने समय निश्चित छैन भने त्यसलाई निश्चित बनाउनुपर्छ । कम्तीमा ८ घण्टा अनिवार्य सुत्नुपर्छ । सुत्नुपूर्व क्लिन्जिङ, टोनिङ एवं मोस्चराइजिङ गर्नु उपयुक्त हुन्छ । हातखुट्टालाई सफा गरी क्रिम प्रयोग गर्नुपर्छ ।
व्यायाम : छालालाई स्वस्थ बनाउन कम्तीमा एक घण्टा व्यायाम गर्नुपर्छ । यसबाट रौँ छिद्रलाई अक्सिजन प्राप्त हुनुका साथै रक्तसञ्चार पनि सन्तुलित हुन्छ । पसिना निस्कँदा रौँ छिद्रबाट अनावश्यक टक्सिन बाहिर निस्किन्छ र छालाले प्राकृतिक रूपमा स्याहार प्राप्त गर्छ । व्यायाम गर्दा पसिना निस्किएको अनुपातमा पानी पिउनुपर्छ ।