साप्ताहिक संवाददाता
नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण सदस्य हुन्, अनन्त तामाङ । रक्षापंक्तिमा खेल्ने तामाङ जति राम्रा खेलाडी हुन् उनी अन्तर्राष्ट्रिय फुटबलका सम्बन्धमा उत्तिकै राम्रा जानकारसमेत मानिन्छन् । तामाङ युरोपको क्लब फुटबललाई मात्र होइन, राष्ट्रिय टिमहरूको खेललाई पनि उत्तिकै पछ्याउँछन् । रूसमा हुने विश्वकपलाई लिएर उत्साहित अनन्तसँग प्रतियोगिताको समूह विभाजनयता गरिएको पाँच प्रश्न :
यसपटकको विश्वकप समूह विभाजन कस्तो रह्यो ?
यसपटक कुनै पनि समूह खासै गाह्रो भन्न सकिने स्थिति छैन । सबै टिमसामु नकआउट चरण प्रवेशको सम्भावना उत्तिकै छ । यसपटकको विश्वकपको समूह विभाजनको सबैभन्दा ठूलो विशेषता नै यही हो ।
सबैभन्दा कठिन समूह कुन हुनेछ ?
मेरो विचारमा त्यस्तो कठिन समूह ‘बी’ हुनेछ, किनभने त्यसमा दुई ठूला टिम पोर्चुगल र स्पेन छन् ।
तपाईंले कहिलेदेखि विश्वकप हेर्न थाल्नुभएको हो ?
सन् २०१० मा स्पेनले विश्वकप जित्दा उक्त प्रतियोगिताका सबै खेल हेरेको थिएँ । कुनै पनि खेल छुटाइनँ । राम्रोसँग विश्वकप हेर्न थालेको पनि त्यही बेलादेखि नै हो । म जर्मन टिमको समर्थक हुँ
र यसपल्ट यही टिम डिफेन्डिङ च्याम्पियनका रूपमा प्रस्तुत हुँदैछ ।
आउने विश्वकपमा एसियाली टिमको सम्भावना कस्तो छ ?
विश्वकप जस्तो ठूलो प्रतियोगितामा एसियाली टिमले खासै राम्रो चुनौती पेस गर्न सक्दैनन् । युरोप र दक्षिण अमेरिकाका खेलाडीको जस्तो शारीरिक शक्ति एसियाली खेलाडीमा पाइँदैन । एसियाली खेलाडी एसियाकै फुटबलमा सीमित छन्, युरोपतिरका लिग खेल्ने खेलाडी कमै छन् ।
आउने विश्वकप कति हेर्नुहुन्छ ?
म यो विश्वकपको व्यग्र प्रतीक्षामा छु । सम्भवत: कुनै पनि खेल हेर्न छुटाउनेछैन ।