आधुनिक जीवनशैली अपनाउने क्रम बढे पनि लिम्बू जातिका महिलामा परम्परागत गहनाको मोह घटेको छैन । अग्रज वृद्धाहरूले लगाउँदै आएका जातीय गहना गौरव मान्दै लगाउन लिम्बू महिलाहरू सधैं उत्सुक रहँदै आएका छन् ।
शिरमा लगाइने शिरफूल, शिरबन्दी कानमा लगाउने चेप्टे सुन (नेसे), यार्लिङ, मारबाडी, घाँटीमा लगाइने कण्ठ, चन्द्रहारा, रेजी (पैसाको माला) आदि लिम्बू गहनाका रूपमा परिचित छन् । नाकमा लगाइने बुलाकी, ढुङ्ग्री पनि लिम्बू जातिको गहना मानिन्छ । बहुमूल्य सुनचाँदीद्वारा निर्मित यी गहना लगाउन लिम्बू जातिका वृद्धा, युवती अनि किशोरी सबै मरिहत्ते गर्छन् । यस्ता गहनाका नक्कली भर्सन पनि उपलब्ध छन् । क्षमता नहुने कतिपय लिम्बू महिलाले सुनजस्तै देखिने त्यस्ता गहना लगाएर आफ्नो सौख पूरा गर्दै आएका छन् । विभिन्न कार्यक्रममा प्रदर्शन गर्न पनि त्यस्ता ग्यारेन्टीवाला लिम्बू गहना उपयुक्त सावित हुँदै आएका छन् ।
लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिव निरन्ती तुम्बापो भन्छन्— लिम्बू गहनाको महत्व कम भएको छैन । उनका अनुसार पहिचानको आन्दोलन तथा जनजागरणका कारण पनि लिम्बू गहनाको महत्व नघटेको हो । लिम्बू गहना १२/१३ वर्षको उमेरदेखि लगाउन प्रोत्साहित गर्ने परम्परा रहेको संस्कृतिविद् राजेन्द्रकुमार जवेगुले बताए । लिम्बू सभ्यतामा श्रृङ्गार सामग्रीका रूपमा उपयोग गरिने गरगहना कहिलेदेखि लगाउन थालियो भन्ने आधिकारिक जानकारी भने फेला परिनसकेको जवेगु बताउँछन् ।
चलनचल्तीमा छोलाने नामले चिनीने हुक्पागी (नाडीमा लगाइने काँडे चुरा), कटुवा वाँही–नाडीमै नै लगाइने डोलो चुरा) तथा लाङ्वागी (खुट्टे चुरा) पनि लिम्बू महिलाले लगाउने गरेका छन् । हात–खुट्टामा लगाइने यी गहना लिम्बू किशोरी तथा युवतीहरूले त्यति लगाएको पाइँदैन ।
विशेषत: विभिन्न कार्यक्रम, विवाह, हाटबजार आदिमा लिम्बू महिलाहरू आफ्नो जातीय गहना लगाएर निस्कने गरेका छन् । स्वदेशमा मात्र नभएर विदेशमा पुगेका लिम्बू महिलाले पनि विभिन्न कार्यक्रममा जातीय निसानीका रूपमा लिम्बू गहना लगाउने गरेका छन् ।