साप्ताहिक संवाददाता
कोरियोग्राफर गम्भीर विष्टको प्रश्न अभिनेत्री निष्मा घिमिरेलाई
गम्भीर : अन्तत: हाम्रो विवाह भयो हैन ? प्रेमलाई विवाहमा परिणत गर्न समय धेरै लाग्यो नि ?
निष्मा : समय जति लामो भयो, त्यति एक–अर्कालाई नजिकबाट चिनियो, माया अझ गहिरो भयो । सबै कुराका लागि सही समय आउनुपर्छ । सम्भवत: हाम्रो विवाहका लागि यही समय ठीक थियो ।
गम्भीर : एउटा कुरा नि, पहिले तिमीले मलाई मन पराएको कि मैले तिमीलाई ? कति वर्ष भयो सम्झना छ, हाम्रो माया बसेको ?
निष्मा : मन त मैले नै पहिले पराएको । सात वर्ष पो भैसक्यो नि । हजुरले विवाह भएपछि बिर्सनुभयो कि क्या हो ?
गम्भीर : हैन कहाँ बिर्सन सक्छु, तर मैले प्रपोज पनि त गरिनँ नि ?
निष्मा : त्यस्तो आई लभ यू वाला प्रपोज त गरिएन । विवाह भैसक्यो, अहिलेसम्म पनि हामीले एक–अर्कालाई प्रपोज गरेका छैनौं ? बरु मैले नै हजुरलाई प्रपोज गर्ने मौका दिएकी थिएँ ।
गम्भीर : हामीबीचको प्रेम सम्बन्धमा सबैभन्दा रमाइलो समय कहिले थियो ?
निष्मा : हामीले एक–अर्कालाई मन पराउने क्रममा एकदिन हजुरले ‘म तिमीलाई एउटा नाम दिन चाहन्छु’ भन्नुभएको थियो । अनि नाम पनि दिनुभयो ‘जान’ । त्यसको मतलब पनि भन्नुभयो, ‘तिमी मेरो जिन्दगी हौं ।’ हजुरले त्यसो भनेको पल मेरो जीवनको सबैभन्दा रमाइलो पल थियो ।
गम्भीर : मलाई श्रीमानकारूपमा पाउँदा तिमीलाई कस्तो फिल भैरहेको छ ? मबाट कुनै दु:ख त पाइरहेकी छैनौ नि ? तिमी खुसी त छौं नि ?
निष्मा : श्रीमान्/श्रीमती जस्तो महसुस भैरहेको छैन । अहिले पनि विवाहअघिका जोडी जस्तो लागिरहेको छ । भर्खर मात्र विवाह भएकाले पो हो कि ? भर्खरै विवाह भएकाले दु:ख पाउने समय पनि भएको छैन होला, तर मलाई थाहा छ हजुरबाट मलाई र मबाट हजुरलाई कहिल्यै दु:ख हुने छैन ।
गम्भीर : तिमीलाई मेरो मन पर्ने बानी कुन हो र मन नपर्ने बानी पनि ? मलाई तिम्रो मन पर्ने र नपर्ने बानी कुन हो जस्तो लाग्छ ?
निष्मा : म जति रिसाए पनि हजुर रिसाउनु हुन्न, त्यही बानी मनपर्छ । अनि मन नपर्ने बानी म रिसाएर बस्दा पनि फकाउन नआउने । मेरो कुनै बानी त्यस्तो छ र हजुरलाई मन नपरेको ? बरु कहिलेकाहीँ मेरो फोन उठ्दैन, त्योचाहिँ मन पर्दैन क्यार हजुरलाई ।
गम्भीर : हाम्रो सन्तानलाई पनि हामी जस्तै डान्समै ल्याउने हो कि तिम्रो अरू कुनै योजना छ ?
निष्मा : भर्खर त विवाह भयो । त्यसैले मैले सन्तानका बारेमा केही सोचिसकेकी छैन, तर हामी दुवै मिलेर उसलाई मल्टिट्याटेन्टेडचाहिँ बनाउने विचारमा छु । पछि गएर उसले इच्छा जे गर्छ, त्यही बनाउने, होइन त ?