मिस वल्र्ड–२०१७ की विजेता मानुषी छिल्लर यतिबेला चर्चाको शिखरमा छिन् । लामो समयपछि भारतमा विश्व सुन्दरीको उपाधि भित्राउन सफल मानुषीप्रति बलिउडकर्मीको समेत ध्यान आकर्षित हुन थालेका छ ।
थुप्रै निर्माता–निर्देशकले मानुषीलाई आफ्नो चलचित्रमा काम गर्ने प्रस्ताव दिइसकेका छन् । अभिनेता तथा निर्माता सलमान खानले समेत मानुषीलाई चलचित्रमा ल्याउने प्रयास प्रारम्भ गरेको बताइन्छ । यद्यपि मानुषीकी कन्सल्टेन्ट रीता गंगवानीले तत्काल उनी चलचित्रमा आउने सम्भावना नरहेको स्पष्ट पारेकी छिन् ।
मिस वल्र्डको उपाधि हासिल गरेको केही दिनपछि आमिर खानसँग अभिनय गर्न सक्ने आशयको अभिव्यक्ति दिएकी मानुषी यतिबेला आफ्नो सम्पूर्ण ध्यान अध्ययनमा केन्द्रित गर्न चाहन्छिन् । उनको लक्ष्य मुटुरोग विशेषज्ञ बन्ने छ । अध्ययन पूरा गरेपछि चलचित्रमा आउने कुरालाई भने मानुषीले नकारेकी छैनन् ।