म २१ वर्षीय युवा हुँ । मेरो लिंग उत्तेजित हुँदैन । मैल दुई–तीन पटक यौनसम्पर्क गर्ने प्रयास गरें, तर लिंग उत्तेजित नभएका कारण सम्पर्क राख्न सकिनँ । यो समस्या सिर्जना भएको करिब दुई वर्ष भयो । यसको केही उपचार छ कि ?
- ३८२८
लिंग कसरी उत्तेजित हुन्छ ?
लिंग उत्तेजित हुन व्यक्ति पनि यौन उत्तेजित हुनुपर्छ । यौनेच्छा जाग्ने (विकसित हुने) वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनले महत्वपूर्ण भूमिका खेल्छ । यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पार्छ । महिलामा पनि टेस्टेस्टेरोनले नै यौनेच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ । यसमा स्वभाविक रूपमै इन्द्रियहरूको महत्वपूर्ण भूमिका हुन्छ ।
हाम्रा इन्द्रियहरू दृष्टि, स्पर्श, ध्वनि, गन्ध तथा स्वाद यौनसम्पर्क वा यौनेच्छासँग सम्बन्धित हो भन्ने हामीलाई थाहै छ । यौन उत्तेजनाको स्रोत जे–सुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गर्छ र हामी यौन उत्तेजित हुन्छौं । यसरी यौन उत्तेजित हुन थालेपछि रगत लिंगका धमनीहरूबाट लिंगमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ भने लिंगबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिंग कडा, मोटो तथा लामो हुन्छ । यसलाई नै हामी लिंग उत्तेजित भएको भन्छौं ।
युवावस्थामा लिंग उत्तेजनाको समस्या
लिंग उत्तेजित नहुने समस्या प्राय:जसो पाको उमेरमा देखिने समस्या भए पनि कहिलेकाँही किशोरावस्था वा युवावस्थामा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । युवावस्थामा देखिने लिंग उत्तेजनाको समस्या समाधान गर्नु भावी सुखमय यौन जीवनका लागि महत्वपूर्ण हुन्छ । युवावस्थामा किन यस्तो हुन्छ भन्ने सन्दर्भमा केही महत्वपूर्ण कारणका बारेमा चर्चा गरौं ।
कार्यसम्पादनको चिन्ता : विशेष गरेर सुरुवाती दिनमा यौनसम्पर्क राम्रोसँग गर्न सक्छु कि सक्दिनँ, आफ्नो यौन साथीको अपेक्षाअनुसार सम्बन्ध राख्न सकिएला कि नसकिएला भन्ने चिन्ताले सताउँछ भने यदि त्यसमा राम्रो गर्न नसकिए त्यसले अझ चर्को रूप लिन्छ र लिंग उत्तेजना नहुने समस्यालाई थप बढाउन सक्छ ।
विशेष गरेर यौनको सन्दर्भमा संकुचित विचारधाराबीच हुर्किएका युवाले यौनसम्पर्कलाई खराब मान्न सक्छन्, जसले गर्दा उनीहरू दोषीपनको सिकार हुन्छन् अनि यसले उनीहरूमा लिंग उत्तेजनाको समस्या सिर्जना गर्न सक्छ ।
केही युवामा रक्तनशा बन्द हुने स्थिति पनि हुन सक्छ र त्यस्तो स्थिति लिंगका रक्तनसामा भए लिंग उत्तेजनामा समस्या हुन सक्छ । यो समस्या अल्ट्रासाउन्ड गरेर पत्ता लगाउन सकिन्छ ।
हामीलाई थाहै छ, यौन उत्तेजनामा पुरुष रागरसको महत्वपूर्ण भूमिका हुन्छ । केही किशोरमा स्टेरोइड औषधीको दुरुपयोगका कारण टेस्टेस्टेरोन हार्मोनको मात्रा कम हुन सक्छ । यस्तो अवस्थामा रगतमा उक्त हार्मोनको मात्रा कति छ भनेर परिक्षण गर्नुपर्ने हुन्छ ।
किशोरावस्थामा रहेका कसैकसैमा एकदमै साइकल चढ्ने बानी हुन्छ । विशेष गरेर साइकलको सिट (काठी) राम्रो नहुँदा यौनाङ्ग क्षेत्रको नसालाई हानि पुग्न सक्छ । यदि त्यस्तो भएको छ भने लिंग उत्तेजनामा असर पर्छ । केही अवशादरोधी (बलतष्मभउचभकबलत) औषधीले लिंग उत्तेजनामा समस्या उत्पन्न गर्न सक्छ, त्यसैले कारणवश कुनै किशोरले यस्ता औषधी प्रयोग गरिरहेका छन् भने त्यसको नकारात्मक असरका कारणले पनि लिंग उत्तेजनमा समस्या सिर्जना भएको हुन सक्छ ।
त्यसबाहेक किशोरहरूमा मद्यपानको सेवन गर्ने वा त्यस्तै अन्य लागूऔषध सेवन गर्ने लत लागेको हुन सक्छ । मद्यपान तथा अन्य लागूऔषधको नकारात्मक प्रभावमा लिंगको उत्तेजनमा समस्या देखा पर्न सक्छ ।
समाधान के होला ?
तपाईंले युवावस्थामा लिंग उत्तेजित हुन गाह्रो हुने वा उत्तेजित नहुने समस्याका बारेमा थाहा पाई नै सक्नुभयो । तपार्इंले कुनै औषधी, नशालु वा लागूपदार्थ प्रयोग गर्नुभएको छ भने त्यसमा परहेज गर्नुपर्छ । त्यस्तो केही छैन भने तपार्इंमा यौनप्रतिको दृष्टिकोण त नकारात्मक छैन र त्यसले कतै ग्लानि वा दोषीपनको सिकार बनाएको छ त छैन भनेर विचार गर्नुपर्छ । यस्तो केही पनि छैन र तपाईंले यौनसम्पर्क गर्ने बेलामा लिंग खडा नभएर कतै समस्या पो हुन्छ कि भन्ने समस्याले पिरोलेको छ भने उक्त कार्य सम्पादनको चिन्ताको कारणले भएको हो । यस्तो अवस्थामा मुख्य कुरा त तनाव, चिन्ता वा भयलाई कम गर्न सक्नुपर्छ । आत्मविश्वास बढाउने कार्यतिर लाग्नुपर्छ । तपाईंले आफ्नी यौनसाथीसँग कत्तिको कुराकानी गर्नुभएको छ, थाहा भएन तर यसमा उहाँको सहयोग महत्वपूर्ण हुन्छ ।
महत्वपूर्ण कुरा के भने दृढ अठोट तथा धैर्यता यसका लागि अति नै आवश्यक हुन्छ । भावनात्मक तथा प्रणय सम्बन्धका लागि समर्पित भएर प्रयास गर्नुपर्छ । दिक्क अर्थात् बोर भएको स्थितिमा पनि यस्तो समस्या देखा पर्छ । यस्तो बेला आफ्नो सम्बन्धलाई रमाइलो राख्न के गर्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने हुन्छ । यो कार्यमा आफ्नो यौन साथीको सहयोग तथा समझदारी उत्तिकै महत्वपूर्ण हुन्छ । यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत गर्छ । यौन साथीको कुनै पनि नकारात्मक टिप्पणीले समस्यालाई बढाउँछ । समस्या कायम रहे यौन विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग आवश्यक हुन्छ ।