साप्ताहिक संवाददाता
हालै नेपाल–आयरल्यान्ड समाजले भूकम्पप्रभावित जिल्लामध्ये ६ जिल्लाका गरिब तथा असहाय १५ जना बालबालिकाका लागि छात्रवृत्ति प्रदान गरेको छ । प्रारम्भिक चरणमा १५ जना बालबालिकालाई उनीहरूको अध्ययन कार्यमा टेवा पुर्याउन मासिक १ हजार रुपैयाँका दरले दुई वर्षका लागि छात्रवृत्ति प्रदान गर्ने समाजका अध्यक्ष दिपेशमान शाक्यले जानकारी दिए ।
हालसम्म दोलखा, चितवन, गोर्खा, नुवाकोट, काठमाडौं तथा ललितपुर गरेर ६ जिल्लाका १५ जना भूकम्पप्रभावित बालबालिकाको छनौट गरेर पहिलो किस्ता सहयोग रकम हालै प्रदान गरेको जानकारी गरिमा कँडेल मेमोरियल ट्रस्टका संरक्षक तथा नेपाल आयरल्यान्ड समाजका महासचिव गंगाराम कँडेलले दिए ।
छात्रवृत्ति प्रदान गर्न बालबालिकाको छनौट, सहयोग रकम हस्तान्तरण विधि तथा त्यसको उचित प्रयोजनका लागि अनुगमनलगायत सम्पूर्ण कार्यको संयोजन गरिमा कँडेल मेमोरिअल ट्रस्टले गरेको हो । यसका लागि ट्रस्ट र नेपाल–आयरल्यान्ड समाजबीच समझदारी भएको हो ।
हालै काठमाडौं र चितवनमा बेग्लाबेग्लै कार्यक्रम आयोजना गरी सबै बालबालिका तथा उनीहरूका अभिभावकलाई जम्मा गराई ३–३ हजार नगद छात्रवृत्ति प्रदान गरिएको थियो । प्रत्येक तीन महिनामा मासिक रु. १ हजारका दरले वितरण गरिने यो छात्रवृत्ति दुई वर्षसम्मका लागि मात्र हुनेछ ।