साप्ताहिक संवाददाता
लाइभ टिभी हेर्न को चाहँदैन ? तर सबैका लागि टिभी उपलब्ध नहुन सक्छ । हाल बजारमा स्मार्ट टिभी आइसकेका छन् । यस्ता टिभीमा विभिन्न कार्यक्रम तथा समाचार हेर्न मात्र होइन, इन्टरनेट चलाउन समेत सकिन्छ । यद्यपि सबैको पहुँचमा यस्ता स्मार्ट टिभी नहुन सक्छ ।
अब स्मार्टफोनमै आफूलाई मन परेको समाचार वा कार्यक्रम लाइभ हेर्न सकिने भएको छ । टिभीको पहुँचभन्दा बाहिर भएको समयमा समेत छरितो रूपमा यस्ता कार्यक्रम हेर्न सकिन्छ । नेपालमा पनि यस्ता विभिन्न प्रकारका एप्स उपलब्ध छन्, जसले स्मार्टफोनलाई टिभीको विकल्प बनाएका छन् । हाल नेट टिभी नेपाल तथा वाउ टाइम एप्स यसका लागि लोकप्रिय छन् ।
नेट टिभी नेपाल नामक एप्स डाउनलोड गरेर आफूलाई मन परेको टिभी च्यानल हेर्न सकिन्छ । नेट टिभीमार्फत नेपाली, हिन्दी वा अन्य जुनसुकै भाषाका जुनसुकै कार्यक्रम पनि हेर्न सकिन्छ । खेलकुद च्यानलको मज्जा लिन सकिन्छ । खासगरी प्रत्येक पलमा हुने विविध गतिविधि थाहा पाउन विभिन्न प्रकारका न्युज पोर्टल उपलब्ध भए पनि टिभी कार्यक्रम नै प्रत्यक्ष हेर्न भने छुट्टै एप्स उपलब्ध थिएन । यो अवस्थामा नेट टिभी नेपाल एउटा गतिलो विकल्प बनेको छ ।
नेपाली प्रयोगकर्तामाझ लोकप्रिय उक्त एप आईओएस तथा एन्ड्रोइडमा ५ लाखभन्दा बढी पटक डाउनलोड भैसकेको छ । नेट टिभी फेसबुक आईडी र पासवर्ड प्रयोग गरी सजिलै हेर्न सकिन्छ । नेपाली प्रविधिको क्षेत्रमा यो टिभी प्लेटफर्मले नयाँ आयाम थपेको यसका सञ्चालकहरूको दाबी छ । एनआईटिभी स्ट्रिम्जले नेपालका लागि नि:शुल्क मोबाइल एप नेट टिभी नेपाल सार्वजनिक गरेको हो ।
एनआईटिभी स्ट्रिम्ज जापानमा रहेको न्यु आईटी भेन्चर कम्पनीको शाखा हो । त्यसैको एउटा उत्पादनका रूपमा नेट टिभी नेपाल बजारमा उपलब्ध गराइएको हो । नेपालमा सन् २०१४ मा एनआईटिभी स्ट्रिम्जको स्थापना भएको थियो । जापानमा सफल प्रविधिका रूपमा परिचित आईपीटिभी सेवा नेपालमा समेत सुरु गर्नका लागि कम्पनीले नेपाल सरकारबाट स्वीकृतिसमेत पाइसकेको छ ।
मोबाइलमै टिभी हेर्न अर्को लोकप्रिय एप्स वाउटाइम प्रयोग गर्न सकिन्छ । आईओएस र प्ले स्टोरमा उपलब्ध भएको करिब तीन महिनाको छोटो समयमै यो एप्स पनि लोकप्रिय भैसकेको छ ।
वाउटाइम नेपाल टेलिकम तथा विन नेपालको सहकार्यमा सञ्चालनमा ल्याइएको एप्स हो । सो मोबाइल एप्समार्फत लाइभ टिभी, मुभी एवं विभिन्न विधाका भिडियो तथा एफएम हेर्न वा सुन्न सकिन्छ ।
लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १ सय ३० च्यानल हेर्न सकिन्छ । भविष्यमा च्यानलको संख्या आवश्यकताअनुसार थप्दै जाने योजना छ । त्यसैगरी विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा टिभी शोहरू पनि हेर्न सकिन्छ । नेपालमा उपलब्ध एफएम रेडियो समेत यही एप्समार्फत सुन्न सकिन्छ ।
यो सेवा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । शुरुमा नि:शुल्क उपलब्ध गराइएको सेवाका लागि अब भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रूपमा सेवा प्राप्त गर्न सक्छन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई वा मोबाइल डाटा प्रयोग गरेर उपयोग गर्न सकिन्छ ।
वाउ टाइम मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । यो एप्स हालसम्म १ लाख भन्दा बढी पटक डाउनलोड भैसकेको छ । आफ्नो नाम तथा मोबाइल नम्बर हाल्नासाथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यो एप्स प्रयोग गर्न सकिन्छ ।