साप्ताहिक संवाददाता
सांगीतिक जीवनमा मलाई पहिलो एवार्ड दिन सफल गीत हो– फेरि त्यो दिन सम्झन चाहन्नँ । मेरो आफ्नै शब्द, संगीत तथा स्वरको उक्त गीतबाट मैले २०५९ सालमा पहिलो पटक हिट्स एफएम म्युजिक एवार्डमा बेस्ट न्यू आर्टिस्ट अर्थात सर्वोत्कृष्ट नयाँ कलाकारको एवार्ड जितेको थिएँ । त्यति बेला हिट्स एफएम एवार्ड जित्नु भनेको एउटा संगीतकर्मीको जीवनको ऐतिहासिक दिन हुन्थ्यो । मेरा लागि पनि उक्त दिन ऐतिहासिक रह्यो ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा वितरण गरिएको उक्त एवार्ड मेरो हातमा परेपछि मैले त्यसलाई आफ्नी श्रीमतीप्रति समर्पित गरेको थिएँ । रेकर्डिङकै क्रममा यो गीत लोकप्रिय हुन्छ भन्ने कुरामा ढुक्क थिएँ, यद्यपि एवार्डको आशा गरेको थिइनँ । एवार्ड वितरण हुने दिन भने ममा एक प्रकारको हिम्मत जुटेको थियो ।
उद्घोषकले विजेताका रूपमा मेरो नाम घोषणा गर्नुअघि नै म आफ्नो कुर्सीबाट उठिसकेको थिएँ । गीतको शीर्षक फेरि त्यो दिन सम्झन चाहन्नँ भए पनि पहिलो एवार्ड पाएको उक्त दिन म कहिल्यै बिर्सन चाहन्नँ ।