साप्ताहिक संवाददाता
नयाँ संविधान निर्माणपछिको पहिलो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गत १० र २१ मंसिरमा सम्पन्न भयो । प्रत्यक्षतर्फको उक्त निर्वाचनको परिणाम पनि आइसकेको छ । प्रत्यक्षतर्फका मत परिणाममा केही यस्ता ऐतिहासिक परिणाम पनि आएका छन्, जुन अन्य निर्वाचनहरूमा विरलै आउँछन् ।
बढी मतान्तरमा जित्ने
प्रतिनिधिसभामा विजयी हुने उम्मेदवारले ३० हजारभन्दा बढीको मतान्तरदेखि ४७ मतको मतान्तरसम्ममा प्रतिस्पर्धा गरेका छन् । यस पटकको निर्वाचनमा सबैभन्दा बढी मतान्तरमा विजयी हुनेमा दोलखाबाट निर्वाचित नेकपा एमालेका पार्वत गुरुङ छन् । गुरुङले ५५ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २४ हजार ८ सय १३ मत प्राप्त गरे । यो विजयी गुरुङको भन्दा ३० हजार ६ सय ४५ मत कम हो ।
कम मतान्तरमा जित्ने उम्मेदवार
प्रतिनिधिसभातर्फ नै सबैभन्दा कम मतको फरकमा विजयी हुने भाग्यमानीमा पर्छन्— हुम्लाका छक्कबहादुर लामा । माओवादी केन्द्रका नेता लामालाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । लामा ८ हजार ४ सय ९१ मत ल्याएर विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार लामाले नेपाली कांग्रेसका मंगलबहादुर शाहीलाइ ४७ मतले हराएका हुन् ।
त्यहाँ माओवादी पार्टीका आधिकारिक उम्मेदवार छिमी दोर्ची लामा तेस्रो स्थानमा रहे । प्रदेशसभाका लागि तनहुँ क्षेत्र नम्बर २ ‘क’ मा नेपाली कंग्रेसका युवा नेता प्रदीप पौडेलले ५ मतको अन्तरमा पराजय भोग्नुपर्यो । १६ हजार ६ सय ४१ मत ल्याएका पौडेललाई नेकपा माओवादीकी नेतृ आशा कोइरालाले १६ हजार ६ सय ४६ मत ल्याएर पछि पारिन् ।
बढी मत पाएर जित्ने
सबैभन्दा धेरै मत ल्याएर विजयी हुनेमा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) ओली छन् । उनले झापा क्षेत्र नम्बर ५ बाट ५७ हजार १ सय ३९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए ।
कम मत पाएर जित्ने
सबैभन्दा कम मत ल्याएर विजयी हुनेमा मनाङबाट पहिलो पटक निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार पोल्देन छेपाङ गुरुङ छन् । उनले २ हजार ३ सय मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१ मत ल्याएका थिए ।
विवादित निर्वाचित
२०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा कर्तव्य ज्यान मुद्दा लागेका बबन सिंहले रौतहटबाट निर्वाचित भएर राष्ट्रिय रूपमा चर्चा कमाएका थिए भने यस पटक कैलालीबाट टिकापुर काण्डका प्रमुख आरोपी रेशम चौधरी ३४ हजार ३ सय ४१ मत ल्याई विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी नेकपा एमालेकी मदनकुमारी शाहलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै संसद् भवनको बाटो तय गरेका हुन्।
त्यसैगरी गुन्डा नाइके भनेर प्रचारित राजीव गुरुङ (दीपक मनाङ्गे) मनाङबाट प्रदेश सभाका लागि निर्वाचित भएका छन् । करिब २ हजार ५ सय मतदाता भएको मनाङमा उनले बाम गठबन्धन समर्थित स्वतन्त्र उम्मेदवारका रूपमा प्रदेशसभा ‘ख’ बाट १ हजार ४ सय १० मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याएका थिए ।
जेठो र कान्छो
प्रत्यक्षतर्फको निर्वाचनमा विजय हुने सबैभन्दा जेठो सांसद वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । २००३ साल जेठ ३१ गते जन्मिएका देउवा डडेलधुराबाट छैटौं पटक निर्वाचित भएका हुन् ।
पहिलो पटक सांसद भएका सोलुखुम्बुका हेमकुमार राई माओवादी केन्द्रका तर्फबाट प्रत्यक्ष निर्वाचित हुँदै सबैभन्दा कान्छो सांसदका रूपमा संसद् भवन छिर्दैछन् । उनी २०४० साल पुस १५ गते सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा जन्मिएका हुन् ।