साप्ताहिक संवाददाता
यस पटकको निर्वाचनमा प्रतिनिधिसभातर्फ ६ जना महिला प्रत्यक्षमा निर्वाचित भएका छन् । रमाइलो कुरा के छ भने निर्वाचित महिला प्रतिनिधिहरूमध्ये ललितपुर–३ बाट विजयी पम्फा भुसालबाहेक अन्य पाँच जना भारी मतान्तरले विजयी भएका छन् ।
झापा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी पवित्रा निरौला खरेलले ४५ हजार ८ सय १७ मत ल्याई नेपाली कांग्रेसका उद्धव थापालाई पराजित गरेकी छिन् ।
ललितपुर क्षेत्र नम्बर ३ बाट नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले नेपाली कांग्रेसका मदन अमात्यलाई पराजित गरिन् । अमात्यले २२ हजार ३ सय ३८ मत ल्याउँदा भुसालले २४ हजार ३६ मत गरेकी थिइन् ।
कञ्चनपुर १ बाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी बिना मगरले नेपाली कांग्रेसका दिवानसिंह बस्नेतलाई दोब्बर मतान्तरले पराजित गरेकी छिन् । उनले ३८ हजार ४ सय ६७ मत ल्याउँदा बस्नेतले १९ हजार २ सय १९ मा चित्त बुझाउनुपरेको थियो ।
नयाँ जिल्ला रुकुमपूर्वबाट माओवादी केन्द्रकी कमला रोक्काले बुलेटबाट ब्यालेटको राजनीतिमा प्रत्यक्ष तर्फबाट सफल राजनैतिक फड्को मारेकी छिन् । प्रतिस्पर्धीलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै उनी दोस्रो पटक संसद भवन छिर्ने भएकी छिन् । १० हजार ४ सय ३४ मत ल्याएर विजयी भएकी रोक्का यसअघि समानुपातिक कोटाबाट सभासद भएकी थिइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्ती मगरले ४ हजार ४ सय ६ मत प्राप्त गरे ।
बहालवाला उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ३ हजारभन्दा बढी मतले पराजित गर्दै स्याङ्जा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी नेतृ पद्मा अर्याल विजयी भएकी छिन् । उनले ३५ हजार १ सय ४२ मत पाउँदा श्रेष्ठले ३१ हजार ४ सय ३६ मतमा चित्त बुझाउनुपर्यो ।
दुर्गा पौडेल प्रत्यक्षतर्फ एक मात्र सिट जितेर जनमोर्चा नेपाललाई संसद भवनमा उपस्थित गराउन सफल भएकी छिन् । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखबाट राजीनामा दिएर चुनावमा होमिएका डा. गोविन्दराज पोखरेललाई पराजित गरेकी हुन् । प्युठानबाट वाम गठबन्धनको साझा उम्मेदवार रहेकी पौडेलले ४७ हजार ५ सय १४ मत ल्याएकी छिन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. पोखरेलले ३१ हजार २ सय ८१ मत मात्र पाए ।