अन्तत: भारतीय क्रिकेटर विराट कोहली तथा बलिउड अभिनेत्री अनुष्का शर्मा विवाहको बन्धनमा बाँधिएका छन् । उनीहरूले गत सोमबार इटलीको मिलान सहरमा विवाह गरेका हुन् । वैवाहिक समारोहमा दुवै परिवारका सदस्यहरू उपस्थिति थिए । वैवाहिक समारोहमा अनुष्काका बुवा अजय शर्मा, आमा आशिमा तथा भाइ करनेश सहभागी भएको बताइन्छ ।
कोहलीलाई पनि उनका परिवारका सदस्यहरूका साथै केही नजिकका साथीले साथ दिएका थिए । विराट र अनुष्काको विवाहको चर्चा लामो समयदेखि चलिरहेको थियो । विराटले क्रिकेटबाट केही समयका लागि छुट्टी पाउनेबित्तिकै उनीहरूको विवाहकै चर्चा हुन्थ्यो । यसपटक भने विराटले विवाहकै लागि श्रीलंकाविरुद्ध हुने वन डे तथा टी–२० बाट छुट्टी लिएका थिए ।
वैवाहिक समारोहमा अनुष्काले बलिउड अभिनेता शाहरूख खान तथा आमिर खानलाई पनि निम्तो दिएको बताइन्छ । विराटले भने सचिन तेन्दुलकर, युवराज सिंह, कोच राजकुमार शर्मासहित आफ्ना बाल्यकालदेखिका साथीहरूलाई निम्तो दिएका थिए । वैवाहिक समारोह सम्पन्न भएपछि अनुष्का र विराटले मुम्बई तथा नयाँ दिल्लीमा छुट्टा–छुट्टै विवाह भोज गर्ने भएका छन् ।
त्यसका साथै दिल्लीमा बसोबास गर्ने विराट अब अनुष्काकै सहर मुम्बईमा बसाइँ सर्ने कुरालाई पनि सञ्चारमाध्यमहरूले समाचार बनाइरहेका छन् ।