साप्ताहिक संवाददाता
तपाईंले निर्माण गरेको चलचित्र कान्छी माघ २६ गते प्रदर्शन हुने प्रचार भैसकेको अवस्थामा किन फेरि एकसाता पछाडि फागुन ४ गते मात्र गर्ने निर्णय गर्नुभयो ?
माघ २६ गतेका दिन, मैले स्वर्गीय दादा (श्रीकृष्ण श्रेष्ठ) प्रति समर्पण गर्दै आफ्नो मेहनत, पसिना, श्रम र सीपको प्रतिफल ‘कान्छी’ दर्शकहरूमा अर्पण गर्ने सोच बनाएकी थिएँ, तर सोही दिन आदरणीय भुवन केसी तथा सुवास गिरी निर्मित चलचित्र ‘कृ’ पनि रिलिज हुने घोषणा गरियो । हुन त एकैदिन पाँचवटा चलचित्र रिलिज नभएका होइनन् । विगत दुई वर्षदेखि ‘कान्छी’ र ‘कृ’ हेर्न व्यग्र दर्शकहरूका लागि एउटै मितिमा यी दुई चलचित्र रिलिज गर्नु भनेको हामीले दर्शकहरूको भावनालाई लत्याउनु र कलाकारिताको धर्मबाट विमुख हुनु सिवाय केही होइन । यही यथार्थतालाई मनन गर्दै यी दुवै चलचित्र जुधाउन नहुने निष्कर्षका साथ ‘कान्छी’लाई आगामी फागुन ४ गते प्रदर्शन गर्ने निर्णय लिएकी हुँ ।
तपाईंको भावना त त्यो भयो, तर कतै कृ र अनमोल केसीको लोकप्रियताले कान्छीलाई ओझेलमा पार्ने डर पनि थियो कि ?
म जतिवटा सिनेमासँग पनि भिड्न तयार थिएँ, किनभने म हाम्रो चलचित्र ‘कान्छी’ दर्शकहरूले मन पराउनुहुनेछ भन्ने कुरामा ढुक्क छु । पहिले जुध्ने कुरा आउनेबित्तिकै म जुध्नका लागि समेत तयार थिएँ । यद्यपि अहिलेको निर्णय हाम्रो आपसी समझदारीमा लिइएको निर्णय हो । मैले यसलाई सकारात्मक रूपमा लिएकी छु । हो, म ज्ञानी भएकी हुँ र मबाट केही पाठ सिकून् यो क्षेत्रका व्यक्तिहरूले ।
दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भुवन केसीको पनि राम्रो सम्बन्ध थियो । एउटा दिवंगत कलाकारकी श्रीमतीले उनीप्रति समर्पण गर्दै निर्माण गरेको चलचित्रकै मितिमा आफ्नो चलचित्र जुधाउन ‘कृ’ पछि आएको जगजाहेर छ । यस्तोमा उहाँहरू पो पछाडि सर्नुपर्ने थियो, होइन र ?
त्यो त मैले भन्ने कुरा होइन । यसको जवाफ उहाँहरूसँगै होला । मैले भने स्वर्गीय दादाको मिल्ने मित्रका साथै उहाँको देहवसानपश्चात् मलाई हौसला, आँट र साहस प्रदान गरेर मलाई उत्प्रेरित गरिरहने आदरणीय भुवन केसीज्यूका लागि आफ्नो चलचित्रलाई केही दिन पछाडि सार्ने निर्णय गरे । ममा यो निर्णयप्रति कुनै किसिमको लाज र संकोच छैन । मैले यो निर्णय लिदाँ ‘कान्छी’ र ‘कृ’ नजुधाइदिन शुभचिन्तक तथा दर्शकहरूबाट फेसबुक, ट्विटर र मोबाइलमार्फत प्राप्त असंख्य अनुरोध तथा सन्देशहरूको सम्मानसमेत गरेकी छु ।
उहाँहरूको के कुराले तपाईं रिलिज डेट एक सातापछाडि सार्न तयार हुनुभयो ?
उहाँहरूले आफ्ना बाध्यता बताउनुभयो । त्यो मितिमा रिलिज गर्ने घोषणा गर्नुपूर्व नै अनअफिसियली हलहरू बुक गरिसकेको पनि भन्नुभयो । मैले माघ २६ भनेर पहिले नै घोषणा गरिसकेको सन्दर्भमा उहाँहरू आउनै नहुने थियो, आउनुभयो । त्यसमा मेरो चित्तदुखाइ त छैन र म डराएकी पनि थिइनँ । मलाई यही क्षेत्रमा अनवरत काम गरिरहनुछ । एउटै क्षेत्रमा रहेर एक–अर्कासँग मन नमिल्नु राम्रो पनि त हुँदैन ।
कान्छीका लागि अबका योजना के–के छन् ?
चलचित्रको अन्तिम प्राविधिक कार्य भैरहेको छ । केही दिनमा एउटा रोमान्टिक गीत रिलिज गर्दैछु, त्यसपछि ट्रेलर आउँछ । कलाकारहरूका साथ मोफसलका विभिन्न स्थानमा गएर दर्शकहरूसँग प्रत्यक्ष भेट्ने पनि हाम्रो योजना छ ।