साप्ताहिक संवाददाता
चलचित्र ‘छड्के’को बिन्दु तथा ‘पशुपतिप्रसाद’को भष्मे डनका रूपमा चर्चा बटुलेका अभिनेता विपिन कार्कीले चलचित्र ‘जात्रा’ तथा ‘लुट टु’बाट पनि दर्शकको मन जिते । चलचित्रमा विपिनको माग बढ्दो छ ।
दिनानुदिन चलचित्रमा व्यस्त भैरहेका विपिन भने आफूलाई भूमिका मन परेको खण्डमा मात्र काम गर्ने अडानमा बसेका छन् भने चलचित्रमा काम पनि गरिरहेका छन् । विपिनले अभिनय गरेको चलचित्र ‘नाका’को टिजरलाई धेरैले मन पराए भने जात्राका एक निर्माता सिंगे लामाद्वारा निर्मित चलचित्र ‘हरि’को ट्रेलर पनि केही समयभित्रै सार्वजनिक हुँदैछ ।
यसबीच विपिनले निश्चल बस्नेतको निर्देशनमा बन्ने चलचित्र ‘फनफनी’मा १७ लाख रुपैयाँ पारिश्रमिक लिन लागेको चर्चा समेत चलिरहेको छ । रंगमञ्चबाट आएका विपिनले रंगमञ्चको मोह किन छाड्थे र ? त्यसैले उनी रंगकर्मी तथा निर्देशक सुनिल पोखरेलको निर्देशनमा नाटक ‘हरियो ढुंगा’मा समेत अभिनय गर्दैछन् । आज शुक्रबारदेखि मञ्चन हुने उक्त नाटकमा विपिननै मुख्य भूमिकामा छन् ।