साप्ताहिक संवाददाता
एकताका सुष्मा कार्कीको चर्चा निकै हुन्थ्यो । लुटको सुपरहिट गीत ‘उध्रेको चोली’मा आइटम डान्स गरेपछि त उनको माग निकै भयो । कार्कीले डेढ दर्जनजति चलचित्रमा काम पनि गरिन् भने ‘उध्रेको चोली’मा नाच्दै देशविदेशको भ्रमण पनि प्रशस्तै गरिन् । हट फोटोसुट र वक्षस्थलमा बनाइएको सूर्यको ट्याटुले पनि उनलाई चर्चा दिइरह्यो । निर्देशक सुदर्शन थापादेखि रक गायक निरन शाहीसम्मको अफेयरका कारण पनि उनका गसिपहरू आइरहे । अहिले उनी के गर्दैछिन् वा कता छिन् भन्ने चासो कम हुन थालेको छ ।
हालै लन्डनमा बलिउड सुपरस्टार सलमान खानसँग हात समातेको उनको तस्बिरले मिडियामा राम्रै स्थान पायो भने मंसिरको चिसोमा रातो विकनीमा खिचिएका उनका तस्बिरले समेत चर्चा पाए । केही म्युजिक भिडियोमा काम गरिरहेकी सुष्मा कार्कीको पछिल्लो चलचित्र ‘चलेछ बतास सुस्तरी’ त्यति चलेन । यद्यपि विदेशमा हुने कार्यक्रमहरूमा उनको माग राम्रै छ । सम्भवत: त्यसैले हातमा कुनै चलचित्र नभए पनि सुष्माको चर्चा भने सेलाएको छैन ।