साप्ताहिक संवाददाता
बेलायतको राजघराना विश्वकै आकर्षणको केन्द्रमा रहने गरेको छ— वर्तमान महारानी एलिजावेथ द्वितीयको कार्यकाल होस् वा उनकी बुहारी डायनाकै सौन्दर्यकै कारणले किन नहोस् ? राजकुमारी डायनाको सडक दुर्घटनामा मृत्यु भएपछि अहिले बेलायती राजपरिवारको चर्चा उनका दुई सन्तान हुँदै घरमा आएकी बुहारी र भित्रिने तयारीमा रहेकी अर्की बुहारीका कारण हुन थालेको छ ।
वर्तमान् राजकुमार चाल्र्सका जेठा छोरा विलियम तथा राजकुमारी केट मिडल्टन तेस्रो पटक आमा बन्न लागेको समाचार सार्वजनिक भैरहेका बेला ह्यारीको समेत चर्चा सुरु भएको छ । विलियमका एक मात्र ब्याचलर भाइ ह्यारीको ब्याचलर लाइफ भने कुनै राजघरानाको सन्तानको जस्तो थिएन । उनी मस्ती गर्न न्युयोर्कका विभिन्न गल्ली चहार्थे भने देशका लागि लड्न बेलायती सेना रहेका स्थानसम्म पुग्थे अनि विभिन्न सामाजिक एवं मानवीय काम गर्न अफ्रिकादेखि एसियाका गरिब राष्ट्रहरूको भ्रमणसमेत गर्थे ।
अहिले बेलायती राजघरानाका तिनै कान्छा राजकुमार ह्यारीको विवाहको चर्चाले सबैको ध्यान तानिरहेको छ । मूलत: राजघरानाहरू आफ्नो परिवारका सदस्यहरूको विवाह सम्पन्न घराना, त्यसमा पनि आफ्नै देशका नागरिक हुनुपर्ने जस्ता मान्यता राख्छन् । बेलायती राजपरिवारका उत्तराधिकारी विलियमले भने आफ्नै देशकी कन्यासँग गरे । अर्का राजकुमार ह्यारीको पनि यस्तै विवाह होस् भन्ने चाहना बकिङहम प्यालेसको थियो, तर भैदियो उल्टो । युरोपमा भन्दा बढी न्युयोर्कमा रमाउने
ह्यारीको भेट एक ब्लाइन्ड डेटमा हलिउडकी अभिनेत्री मेगान मार्केलसँग भयो । ह्यारीको भेट अनेकन युवतीसँग हुँदै आए पनि मेगनसँगको भेट दुवैका एक म्युचुअल फ्रेण्डले गराएका थिए । ब्लाइन्ड डेटमा केटा र केटीलाई आफ्ना मनका कुरा, एक–अर्काको सौन्दर्यदेखि सँगै जीवन बिताउनेसम्मका कुरा गर्न लामो समय र एकान्त दिइन्छ । यसरी ब्लाइन्ड डेटमा
ह्यारी र मेगानबीच लामै कुराकानी भयो, जुन दुवैको जीवनको टर्निङ प्वाइन्ट बन्यो । अमेरिकी मूलकी मार्केललाई ह्यारीसँग जीवन विताउन खासै अप्ठ्यारो नहुने भए पनि ह्यारीमा भने ठूलै द्विविधा थियो । अभिनेत्री मार्केल पारपाचुके गरेर बसेकी महिला थिइन् भने उनी अमेरिकी नस्लको भएका कारण बेलायती राजघरानाले स्विकार गर्छ कि गर्दैन भन्ने द्विविधासमेत थियो ।
ह्यारीले सन् २०१६ को जुलाईमा भएको उक्त ब्लाइन्ड डेटबाट उब्जिएको भावना हजुरआमा अर्थात् महारानी एलिजावेथलाई सुनाए । महारानी एलिजावेथले आफू सधैं नातिहरूको खुसी देख्न चाहने हुनाले ह्यारीले आफ्नो जीवनका लागि गर्न लागेको निर्णयमा आफ्नो साथ रहने कुरा बताएपछि मार्केलका लागि बकिंगहम प्यालेसको ढोका खुला भएको थियो । ह्यारीले मार्केललाई हजुरआमा एलिजावेथसँग पनि भेट गराएको कुरा मार्केलले बीबीसी टेलिभिजनसँगको अन्तवार्तामा बताएकी छिन् । मार्केलले भनेकी छिन्— महारानी एलिजाबेथको विश्वमा जून किसिमको छवि छ त्योभन्दा धेरै भिन्न पाएँ । उहाँ आफ्ना सन्तानका लागि मायालु आमा नै हुनुहुँदो रहेछ, जो आफ्ना सन्तानको खुशिमा रमाउन चाहन्छिन् ।
बेलायती राजघरानाले ह्यारीकी प्रेमिकालाई राजकुमारीका रूपमा स्वीकार गर्ने कुरा बताएपछि अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले मार्केलको नस्लका बारेमा टीकाटिप्पणी गर्न थाले— बेलायती राजपरिवारमा अमेरिकी नस्लकी केटी भित्रिने त्यसमा पनि पारपाचुके गरेकी केटी भनेर । यो विषयमा धेरै समाचार आउन थालेपछि बेलायती राजदरबारले त्यसको प्रतिवाद गर्दै मार्केललाई आफूहरूले स्वीकार गरेको कुरा बतायो । यो विवाद अझै पनि साम्य भएको छैन भने विभिन्न सञ्चारमाध्यमले मार्केलले आफ्नो अभिनय करिअरका क्रममा निर्वाह गरेका विभिन्न कामोत्तेजक दृश्य सार्वजनिक गर्ने कामसमेत भैरहेको छ ।
बेलायतकी महारानीसँगको पहिलो भेट सन् २०१६ को अन्ततिर भएका कारण नयाँ वर्ष साथै मनाउन गरिएको प्रस्तावअनुसार मार्केल र ह्यारीले वर्ष २०१७ लाई लन्डनमै स्वागत गरे । नयाँ वर्ष मनाएर ह्यारी र मार्केल नर्वे भ्रमणमा निस्किए । नर्वेमा उनीहरू ह्यारीका साथीको आलिसान भवनमा बसे जहाँ उनीहरूले परिवारको स्वीकृतिपछि केही समय साथै बिताएका थिए । उक्त यात्रालाई उनीहरूले रोमान्टिक ट्रिपको संज्ञा दिएका थिए ।
ह्यारी र मार्केलको ब्लाइन्ड डेटको प्रसंग पनि रोचक छ, जसलाई मार्केलले बीबीसीसंगको अन्तवार्तामा उल्लेख गरेकी छिन् । मार्केल भन्छिन्— ब्लाइन्ड डेट फिक्स गर्ने साथीले मलाई ह्यारीका बारेमा केही पनि बताइनन् । किनभने उनको नाम लोकप्रिय थियो । यदी ह्यारीको नाम मैले पहिले नै थाहा पाएकी भए मलाई थप तनाव हुन्छ भनेर भनिएन ।
यस्तै ह्यारीलाई पनि मार्केल नाम गरेकी केटी छ मात्र भनियो, तर ह्यारीले पहिले त मैले यो केटीलाई भेटेको छैन मात्र भने । उत्सुकता र कौतूहलताबीच भएको उक्त भेट धेरै राम्रो भएपछि एक–अर्काको थप भावना थाहा पाउन ह्यारीले मार्केललाई अफ्रिकाको बोट्सवानाको भ्रमणमा निम्त्याए । बोट्सवानाको क्याम्पमा राति तारा हेरेर गफ गरेको क्षण साह्रै रमाइलो लागेको कुरा ह्यारीले बिबिसीसँगको अन्तर्वार्तामा बताएका छन् ।
मार्केल र ह्यारीले चार महिना डेटिङ गरेपछि मात्र सञ्चारमाध्यमहरूले त्यसको जानकारी पाएका थिए । सन्डे एक्सप्रेसमा ह्यारीले अमेरिकी अभिनेत्रीसँग डेटिङ गरेको समाचार प्रकाशित भएको केही दिनमै मार्केलले आफ्नो इन्स्टाग्राममार्फत् दुईवटा केराको कोसामा एक–अर्कालाई अँगालो मारेको तस्बिर सार्वजनिक गरेकी थिइन् । यसैगरी मार्केलले अंग्रेजी अक्षरमा एम र एच लेखिएको नेकलेस लगाएर खिचाएको तस्बिर पनि चर्चाको विषय बनेको थियो ।
राजकुमार ह्यारी र मेगान मार्केलले नोभेम्बर २७ तारिखमा लन्डनमा स्वयंवर गरेका छन् । मार्केलले लगाएको हिराको औंठीको डिजाइन स्वयं ह्यारीले आमा डायनाले दिएको हिरा जडान गरेर गरेका थिए । अव उनीहरूले आगामी बर्षको मे महिनामा विवाह गर्नेछन् ।
सद्भावना दूत मार्केल
लस एन्जलसमा जन्मिएकी राचेल मेगान मार्केलले प्रेमी ह्यारीसँगै अगस्ट ४ तारिखमा आफ्नो ३६ औं जन्मोत्सव मनाइन् । नर्थवेष्ट युनिभर्सिटीबाट थिएटरमा डिग्री गरेकी मार्केलले आफ्नो करिअर पनि अभिनय क्षेत्रमै लगाइन् ।
अमेरिकी टेलिभिजनहरूवाट प्रसारण हुने टेलिश्रृंखलाहरूमा सानोतिनो भूमिका निर्वाह गर्दै करिअर प्रारम्भ गरेकी मार्केलले दुई दर्जनभन्दा बढी टेलिश्रृंखलामा अभिनय गरिन्, जसमा उनलाई स्विट्स टेलिश्रृंखलाको राचेल जेनीको भूमिकाले प्रसिद्धि दिलायो । त्यसबाहेक उनले आधा दर्जनजति चलचित्रमा समेत अभिनय गरिन् । अभिनयकै क्रममा उनको भेट सन् २००४ मा अभिनेता एवं निर्माता ट्रेभोर इन्गेल्सनसँग भयो । सन् २०११ मा उनीहरूले जमैकामा विवाह गरे तर त्यो विवाह सन् २०१३ मै पारपाचुकेकोमा परिणत भयो । मार्केल अन्तर्राष्ट्रिय संस्था वान यङ वल्र्डको सल्लाहकार पनि हुन्, जसले लैंगिक समानताको पक्ष एवं मानवीय दासताका विरुद्ध काम गर्छ ।
मेगान मार्केलकी आमा डोरिया लोसी र्यागल्यान्ड सामाजिक कार्यकर्ता हुनुका साथै योग प्रशिक्षक पनि हुन् । आमा डोरियाबाट मार्केलले योगका धेरै आसन सिकेकी छिन् । मार्केलका पिता थोमस वाह्ने मार्केल हलिउडको चलचित्रका लाइट डाइरेक्टर थिए । उनले लाइटिङमा एमी एवार्डसमेत प्राप्त गरेका छन् । मार्केल आफ्ना पितासँग बेलाबेलामा चलचित्रको सुटिङ हेर्न जान्थिन्, सम्भवत: त्यसैले पनि उनमा अभिनयको नसा लागेको हुन सक्छ, तर भयो के भने मार्केल ६ वर्षको हुँदा सन् १९८८ मा उनका आमा–बुबाले पारपाचुके गरे ।
मार्केलका पिता ककेसियन तथा आमा अफ्रिकन अमेरिकन मूलकी हुन्, जसका कारण मार्केल आधा गोरो जाति तथा आधा काला जातिकी हुन् । उनकी आमा खेतीपातीका लागि दास बनाएर ल्याइएको परिवारकी छोरी थिइन् भने पिताको पुर्खा आइरिस थिए ।
गोर्खालीसँग सुरक्षित
बेलायती राजगद्दीको उत्तराधिकारीको तेस्रो वरियताक्रममा रहेका ह्यारी ३३ वर्षका भए । राजुकमार चाल्र्स तथा स्वर्गीय राजकुमारी डायनाका कान्छा पुत्र ह्यारीले रोयल मिलिटेरी एकेडेमीवाट प्रशिक्षण लिएका छन् भने उनी सेनामा सेकेन्ड लेफ्टिनेन्टसम्म भएका थिए । बेलायती सेनामा रहँदा उनले गोर्खाहरूसँग मिलेर अफगानिस्तानको हेल्मन्डमा तालिवानविरुद्ध कारबाही चलाएका थिए । सन् २०१५ देखि भने उनले सैनिक सेवा परित्याग गरेका छन् । ह्यारी विभिन्न च्याटिरी संस्थामा रहेर बालबालिकाको क्षेत्रमा समेत कार्यरत छन् । उनले त्यही क्रममा नेपालको भ्रमण गरी पुनर्निर्माणमा सहयोग गरेका थिए ।