साप्ताहिक संवाददाता
अभिनेता सविन श्रेष्ठले निर्माण गरेको चलचित्र ‘हिरो रिटर्न्स’ आगामी बैशाख २८ गते रिलिज हुने भएको छ । निर्माण लामो समय पनि रिलिज डेट घोषणा गर्न नसकेको यो चलचित्रमा सविनसँग अभिनेत्री रेखा थापाले जोडी बाधेकी छिन् । यो जोडीसँगै चलचित्रमा दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
अभिनेता तथा निर्माता सविनले यसअघि नै चलचित्रको सम्पुर्ण काम सकिएको कुरालाई सत्य भन्दै त्यसमा पनि केहि कुराहरु चित्तबुझ्दो ननिस्केको र ’रि सुट’को आवश्यकता देखिएपछि रिलिजमा केहि अन्तर देखिएको बताए । उनका अनुसार चलचित्रमा समवेश केहि दृश्यहरु पुन: छायांकन गरिएको छ ।
कमेडी एक्सन जनरा भनिएको चलचित्रमा शिवम अधिकारीको कथा छ भने मदनकाश्यप घिमिरेले क्यामेरा चलाएका छन् । दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहेको छ ।